Comments Add Comment

रुग्ण राजविराज : विमान सेवाले जगायो आशा

६ फागुन, राजविराज । फोहोर र भत्किएका सडकलाई बिर्सने हो भने मिथिला संस्कृतिको समृद्व क्षेत्र हो, सप्तरी । मिथिला संस्कृति भन्नासाथ धेरैलाई धनुषाको सम्झना हुन्छ ।

धनुषा जानकी मन्दिरको कारण मिथिला संस्कृतिको पर्यायवाची बनेको हो । तर, मिथिला सभ्यता–संस्कृतिमा धनुषाजत्तिकै सप्तरी जिल्ला पनि समृद्व रहेको साहित्यकार धीरेन्द्र प्रेमर्षि बताउँछन् ।

आधुनिक विकासको शुरुवात पनि संगसंगै भएको धनुषाको जनकपुर र सप्तरीको राजविराजमा । राजविराजमा १९९८ सालमा भारतको जयपुरसँग मिल्दोजुल्दो टाउन प्लानिङ गरियो । सप्तकोशीले पुरानो सदरमुकाम हनुमाननगरमा ठूलो क्षति गरेपछि राजविराजको विकास थालिएको प्रेमर्षि बताउँछन् । यही राजविराजलाई पछि सगरमाथा अञ्चल सदरमुकाम बनाइयो ।

दुई हजार वर्षदेखि मिथिला संस्कृतिको विकास भएको सप्तरी मन्दिर र पोखरीको जिल्ला भए पनि पर्यटकीय दृष्टिकोणबाट निकै पछि परेको प्रेमर्षि बताउँछन् । ‘छिमेकी धनुषा, मोरङ र उदयपुर पर्यटन विकासको हिसाबले निकै अगाडि बढिसके’, उनी भन्छन्, ‘उत्तिकै सम्भावना बोकेको सप्तरी र सिराहा भने जहाँको त्यहीँ रहे ।’

नेपाल भ्रमण वर्ष प्रदेश– २ का संयोजक मनिष झा पर्यटन बिकासको लागि पहिला आफैं जाग्नुपर्ने बताउँछन् । सप्तरीका स्थानीय तह, होटेल व्यवसायी र सरोकारवालासँगको आइतबार राजविराजमा आयोजित छलफलमा उनले भने, ‘शौचालय, घर–आगन, सडक सफा राख्ने, होटेलमा सेवा सुविधा बढाउने जस्ता काम त आफैं गर्न सक्नुपर्‍यो ।’

भारतको बिहारसँग जोडिएको मूख्य तराई भेग हो सप्तरी । हिउँदमा अति चिसो र गर्मी मौसममा अति तातो हुने क्षेत्रमा पर्ने जिल्लाको सदरमुकाममा एअरकण्डिसन्ड कोठा भएका होटेल जम्मा तीनवटा छन् । ती होटेलमा पनि पाहुना संख्या पुग्दैन ।

‘खर्च गर्ने पर्यटक आउँदैनन्, स्थानीय पाहुना सस्तो कोठा खोज्छन्’, होटल संघ सप्तरीका अध्यक्ष शैलेष चौधरी ‘होटेलमा गरेको लगानी उठाउनै मुश्किल छ ।’

करीव एक दर्जन सामान्य लज राजविराजमा स्थानीय परिकार खुवाउने रेष्टुरेन्टहरु मनग्गे छन् ।

‘पाहुना बढे होटेलको स्तर बढाइहाल्छौं’

पञ्चायतकालभर धुले विमानस्थलमा रमाएको राजविराज प्रजातन्त्र पुनर्स्थापनापछि राज्य सञ्चालकको प्राथमिकतामा परेन । १० असार २०७५ मा पहिलो पटक राजविराजको पक्की धावनमार्गमा श्री एयरलाइन्सको ठूलो जहाज ओर्लियो । अहिले भने बुद्ध एयरको ७२ सीटे एटीआर जहाजले मात्र काठमाडौं–राजविराज दैनिक उडान गर्छ ।

३५ मिनेट उडान दुरी रहेको यो रुटमा फूल अक्कुपेन्सीमा जहाज उडिरहेको बुद्ध एयरका राजविराज स्टेशन म्यानेजर अनिल राजवंशी बताउँछन् । होटल संघका अध्यक्ष चौधरी बुद्ध एयरको नियमित उडानले आशा जगाएको बताउँछन् । उनी भन्छन्, ‘प्लेनले खर्च गर्ने पाहुना बढायो भने सेवाको स्तर बढाइहाल्छौं ।’

छिन्नमस्ता भगवती मन्दिरका पिठाधीश महाकान्त ठाकुर राजविराजमा दैनिक दुई उडान भयो भने काठमाडौंका पाहुनालाई मधेशभर र बिहारका मन्दिर अनि मधेश र बिहारका पाहुनालाई पशुपतिनाथ दर्शनमा लैजान सकिने सम्भावना बढ्ने देख्छन् । ‘सप्तरीमा एक पटक होइन, पटक–पटक आउनैपर्ने पिठहरु छन्’, उनी भन्छन्, ‘तर, यातायात सहज नहुँदा पर्यटक बढ्न पाएको छैन ।’

छिन्नमस्ता नेपालको ठूलोमध्येमा पर्ने शक्तिपिठ हो । यहाँ बिहार र उत्तर प्रदेशबाट समेत धेरै भक्तजन आउँछन् ।

दुई दिने प्याकेजको तयारी

कंकालिनी भगवती, राजदेवी, दूर्गा भगवती, पुरानो सदरमुकाम हनुमाननगरको हनुमान मूर्ति आदि सप्तरीका हेर्नलायक सम्पदा र शक्तिपीठ हुन् । राजविराजबाट २५ किलोमिटर पूर्वमा रहेको कोशी ब्यारेज पनि पर्यटकले धेरै मन पराउने ठाउँ हो ।

राजविराजमा नियमित उडान हुन भएसँगै सप्तरीमा प्याकेजमा घुमघाम गराउने तयारी थालिएको छ । ट्राभल एजेन्सी बुद्ध होलिडेजले काठमाडौंका पाहुनालाई दुई दिनको प्याकेजमा सप्तरी घुमाउने योजना बनाएको छ । होलिडेजका अभिषेक आचार्य काठमाडौं, तराई–मधेश, भारत सबैतिरका पाहुना आकर्षित हुने गरी प्याकेज बनाउन लागेको बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment