Comments Add Comment

कसरी बुझ्ने आफ्नो व्यक्तिगत मूल्य ?

मानिसलाई आफ्नो व्यक्तिगत मूल्य के हो भन्ने कुरा थाहा भयो भने उसले जीवनमा सही दिशा लिन सक्छ । यसलाई जीवनको कम्पासको रुपमा बुझ्न सकिन्छ ।

यसले तपाईंको सार्थक हुने गरी क्यारियर निर्माणमा पनि सहयोग पुर्‍याउँछ । कहिलेकाहीँ जिन्दगीको महत्वपूर्ण निर्णय लिने बेलामा मानिस द्विविधामा पर्छन् ।

उनीहरुले त्यतिबेला आफ्नो लागि कुन काम सही र कुन गलत भन्ने भेउ पाइरहेका हुँदैनन् । त्यस्तो अवस्थामा सबैभन्दा पहिला आफ्नो व्यक्तिगत मूल्य के हो भन्ने बुझ्नु जरुरी हुन्छ । यसले मानिसलाई सही निर्णय लिन सहयोग गर्छ ।

यहाँ आफ्नो व्यक्तिगत मूल्य चिन्ने गर्ने केही तरिका उल्लेख छ –

१. आफ्नो सबैभन्दा महत्वपूर्ण कुराको सूची बनाउनु

तपाईंलाई आफ्नो मूल्य के हो भन्ने बुझ्नमा समस्या भइरहेको छ भने सबैभन्दा पहिला आफ्नो लागि सबैभन्दा महत्वपूर्ण कुराको सूची बनाउनु जरुरी हुन्छ ।

आफ्नो जीवनमा सबैभन्दा महत्वपूर्ण कुरा के हो भनेर बुझ्न ५ देखि १० मिनेट सोच्नुहोस् । सूचीमा कम्तीमा ५ कुरा समावेश गर्नुहोस् । जस्तो कि परिवार, सृजनशील बन्नु, अरुलाई सहयोग गर्नु, जनावरलाई प्रेम गर्नु, नयाँ कुरा सिक्नु आदि ।

२. ८० वर्षको उमेरबारे सोच्नु

यस किसिमको सोचाइले तपाईंलाई कस्तो जीवन बाँच्न चाहन्छु भन्ने कुराको ज्ञान गराउँछ । सोच्नुस् कि तपाईं आफ्नो ८० औं जन्मदिन मनाइरहनु भएको छ र उक्त पार्टीमा धेरै मानिस जम्मा भएका छन् । त्यतिबेलाको अवस्था सम्झेर आफैंलाई यी प्रश्न गर्नुहोस् –

– यो पार्टीमा को को हुनेछन् ? – मानिसहरु मेरो के कुरालाई मन पराउँछन् ? – मैले उनीहरुको जीवनमा के प्रभाव पारेको छु ? – मैले जीवनमा के कुरा पूरा गरेँ ? आदि

यी प्रश्नको उत्तर के हुन्छ भन्ने कुराले तपाईंको वास्तविक मूल्य के हो भन्ने बताउँछ ।

३. राम्रा लाग्ने मानिसबाट सिक्नु 

सबैभन्दा राम्रो लाग्ने तीन मानिस छान्नुहोस् । जस्तो कि नेता, नायक, साथी, सेलिब्रेटी अथवा अरु कोही । यी मान्छेमा तपाईंले सबैभन्दा धेरै मन पराउने कुरा के हो त्यसमा ध्यान दिनुहोस् ।तपाईंले उनीहरुको प्रशंसा के कारणले गर्नुहुन्छ भन्ने कुराले यसको उत्तर दिन्छ । त्यसपछि त्यसलाई आफ्नो हिसाबमा हेर्नुहोस् । यिनीहरुले तपाईंको व्यक्तिगत मूल्य के हो भन्ने पहिचान गर्न सजिलो बनाउँछन् ।

४. के बन्न चाहन्छु भन्ने सूची बनाउनु 

आफू के बन्न चाहन्छु भन्ने बुझ्न सबैभन्दा पहिला आफूले आफैंलाई केही प्रश्न गर्नुहोस् र त्यसको उत्तर पनि लेख्दै जानुहोस् ।  यसमा तपाईँको सूची लामो बन्न सक्छ । तर, यो तपाईँ आफूले आफैंलाई चिन्ने माध्यम हो ।

यो सूचीमा निम्न प्रश्न समावेश गर्नुहोस् -तपाईं जीवनमा के कुरा पूरा गर्न चाहनुहुन्छ ? जीवन वा क्यारियरमा तपाईं के बन्न चाहनुहुन्छ ? तपाईंलाई के गर्न सक्छु भन्ने आशा छ ? के कुराको अनुभव गर्न चाहनुहुन्छ ? आफ्नो समय कसरी बिताउन चाहनुहुन्छ ? लक्ष्य र प्रेरणा के हुन् ?

५.सूचीबाट महत्वपूर्ण कुरा छुट्याउनु 

आफ्नो जीवनको महत्व थाहा पाइसकेपछि यसलाई तपाईंले पुनः एकपटक पुनर्विचार गर्न सक्नुहुन्छ । यिनीहरुबाट तपाईंआफ्नो लागि सबैभन्दा महत्वपूर्ण एउटा मार्ग छनोट गर्नुहोस् ।

६. पत्ता लगाएको १० व्यक्तिगत मूल्यलाई सूचीबद्ध गर्नुहोस्

आफ्नो सबैभन्दा महत्वपूर्ण कुरा छानिसकेपछि तपाईं अन्य व्यक्तिगत महत्वलाई १ देखि १० को क्रम अनुसार मिलाएर राख्नुहोस् । जसमा पहिलो नम्बरमा तपाईँको सबैभन्दा महत्वपूर्ण विषय रहनेछ । त्यसपछि क्रमशः कम प्राथमिकताका विषय रहनेछन् ।

समय अनुसार तपाईंले राखेको सूचीको वरीयता पनि परिवर्तन हुनेछ । सधैं केही न केही नयाँ कुरा सिकिरहनु भएको हुन्छ भने त्यसै अनुसार तपाईंको वृद्धि र विकास पनि भइरहेको हुन्छ । त्यसैले उक्त सूचीको वरीयता परिवर्तन हुनु सामान्य कुरा हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment