Comments Add Comment

नक्कली इन्स्पेक्टरको कर्तुत खोज्दै प्रहरी

७ फागुन, झापा । नेपाल प्रहरीको प्रहरी निरीक्षक (इन्स्पेक्टर) भएको बताएर ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा उदयपुरको त्रियुगा नगरपालिका–३, झुल्केका २२ वर्षीय विजय वाग्ले रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय, झापाका प्रमुख एसपी कृष्ण कोइरालाका अनुसार वाग्लेलाई इलाका प्रहरी कार्यालय, काँकरभिट्टाको टोलीले पक्राउ गरेको हो । उनका अनुसार वाग्लेले कामको सिलसिलामा सिलगुढी गएका वेला भेट भएका दुई जनालाई प्रहरीमा जागिर खान मन भए, सम्पर्क गर्नू भनेका थिए ।

त्यसबेला उनले आफूलाई विराटनगर तालिम केन्द्रमा कार्यरत रहेको भनेर परिचय पत्र पनि देखाएका थिए । ‘डीआईजी साब मेरो ठूलो बुबा हो, मैले भनेपछि काम भइहाल्छ भनेर आश्वसन दिएको देखिन्छ’, कोइरालाले सुनाए, ‘केही दिनपछि फोन गरेर असईमा जागिर खुलेको भन्दै फारम भर्न लगाएको देखिएको छ । त्यसपछि पैसा लिएर उनी सम्पर्कविहीन भएका थिए ।’

प्रहरीका अनुसार वाग्लेले असईमा नाम निकाल्न एक जना बराबर ३ लाख रुपैयाँ दिनुपर्ने बताएका थिए । तर, प्रारम्भमा एक/एक लाख रुपैयाँ मागेका थिए । थप रकम काम भइसकेपछि भनेका थिए ।

उनले एक जनासँग ५० हजार र अर्कासँग एक लाख रुपैयाँ लिएर समपर्कविहीन भएका थिए । त्यसपछि पीडितले इलाका प्रहरी कार्यालय, काँकरभिट्टामा सम्पर्क गरेका थिए । त्यसपछि नक्कली इन्स्पेक्टरको रहस्य खुलेको हो ।

वाग्लेको अन्य कर्तुत खोज्दै प्रहरी

उनीहरुलाई जस्तै वाग्लेले अन्य व्यक्तिलाई पनि ठगी गरेको हुनसक्ने आशंका गरिएको छ । यद्यपि, हालसम्म उनी अन्य कुनै अपराधमा संलग्न भएको रेकर्ड फेला परेको छैन ।

एसपी कोइराला भन्छन्, ‘अरुलाई ठगेको हुनसक्छ, हामीले अन्य जिल्लाका प्रहरी कार्यालयमा पनि पत्राचार गरिसकेका छौं ।’ कोही व्यक्ति वाग्लेबाट पीडित भएको भए, नजिकैको प्रहरी कार्यालयमा सम्पर्क गर्न पनि आग्रह गरिएको छ ।

प्रहरीसँग प्रारम्भिक बयानमा वाग्लेले बिराटनगरमा रहेको एक कम्युनिकेशन सेन्टरबाट नक्कली कार्ड बनाएको बताएका छन् ।

उनीविरुद्ध जिल्ला अदालत, झापाबाट मुलुकी अपराध संहिताको ठगी तथा सरकारी कागजात कीर्ते सम्बन्धी कसूरमा म्याद थप गरेर विस्तृत अनुसन्धान सुरु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment