Comments Add Comment

उत्तरी गोरखामा हेलिकप्टर उडानमा कडाइ

प्रहरीलाई जाँच नगराई उड्न नपाउने

७ फागुन, गोरखा । उत्तरी गोरखामा उड्ने हेलिकप्टरमाथि प्रहरीले निगरानी बढाएको छ । सम्भावित तस्करीलाई मध्यनजर गर्दै निगरानी बढाउन थालिएको गोरखाका प्रहरी प्रमुख एसपी ओमप्रसाद अधिकारीले बताए ।

‘चीनसँगको खुल्ला सिमाना छ,’ उनले भने, ‘हेलिकप्टरमार्फत अवैध रुपमा विभिन्न वस्तुहरु ओसारपसार हुन सक्ने भएकाले निगरानी बढाएका हौ ।’

उक्त क्षेत्र जाने प्रत्येक हेलिकप्टरमा एक जना प्रहरी अनिवार्य गरिएको उनले बताए । ‘हेलिकप्टर जुन ठाउँमा ल्याण्ड गर्ने हो त्यो ठाउँ नजिकै रहेको प्रहरीलाई हामी त्यहाँ खटाउछौ, उसले चेकजाँच गरेपछि मात्र हेलिकप्टर त्यहाँबाट फर्किन्छ,’ एसपी अधिकारीले भने । सरकारद्वारा निषेधित क्षेत्र घोषणा गरिएको मनास्लु संरक्षण क्षेत्रमा उडान गर्ने हेलिकप्टरको हकमा उक्त नियम लागू गरिएको उनको भनाइ छ ।

‘हेलिकप्टर ल्याण्ड हुने ठाउँ प्रहरीचौकी भन्दा दुइ–तीन घण्टाको दुरीमा छ भने पनि हामी प्रहरीलाई हिडेरै त्यो ठाउँमा खटाउँछौ’, उनले भने, ‘तर त्यसको लागि हेलिकप्टर उडाउनु चार÷पाँच घण्टा अघि हामीलाई खबर गर्नुपर्छ ।’

अग्रिम खबर नगर्ने र ल्याण्ड स्थल प्रहरी चौकीभन्दा धेरै टाढा भएमा चौकीबाट एक जना प्रहरी अनिवार्य लिएर जानुपर्ने उनले बताए । ‘चौकीबाट एक जना प्रहरी उहाँहरुसँगै हेलीमा लानुहुन्छ, जहाँ पुग्ने हो त्यहाँ पुगेर फर्कने बेला प्रहरीलाई चौकीमा छाडेर उहाँहरु जानुहुन्छ,’ उनले भने ।

सो क्षेत्रमा अहिले मासिक १५ वटा हेलिकप्टर उडान हुने गरेको एसपी अधिकारी बताउँछन् । पर्यटक लिएर आउने र निर्माण सामग्री ढुवानी गर्ने बढी भएको उनको भनाइ छ ।

‘सो क्षेत्रबाट अवैध रुपमा ल्याएका सुन हामीले समातेका पनि छौ, फेरि त्यहाँबाट उडेको कतिपय हेलिकप्टर सिधै काठमाडौका अस्पतालमा ल्याण्ड हुने भएकाले अवैध सामानहरु तस्करी हुन सक्ने सम्भावना पनि छ, त्यसैले हामीले निगरानी बढाएका हौ,’ उनले भने ।

प्रहरीलाई विना जानकारी हेलिकप्टर उडान गरेको थाहा भएमा आवश्यक कारवाहीको लागि नागरिक उड्डयन प्राधिकरणलाई आग्रह गर्ने उनले बताए

सडक पहुँच नभएका कारण उत्तरी गोरखाका कतिपय स्थानीयहरुको सामान ढुवानी सँगै आवतजावतको माध्यम हेलिकप्टर बन्ने गरेको छ । सँगै मनास्लु क्षेत्रमा जाने पर्यटकको उद्दारका लागि हेलीकप्टर उडान हुने गरेको एसपी अधिकारी बताउँछन् ।

बिशेष गरी गोरखामा अल्टिच्युड, फिसटेल, सिम्रिक, एभरेष्ट लगायतका एयरलाइन्सले सेवा दिदै आएका छन् । स्वास्थ्य सेवाको पहुँच नहुदा पनि उपचारका लागि हेलिकप्टर चार्टर गर्ने प्रचलन पनि छ । मनास्लु संरक्षण क्षेत्रमा पाँच वटा (सिर्दिवास, जगत, छेकम्पार, लार्के र सामागाउँ) प्रहरी चौकी छन् ।

२०७५ साल भदौ ३० गते जिल्ला प्रशासन कार्यालयले सो क्षेत्रमा उड्ने हेलिकप्टरमा कडाई गर्दै सदरमुकाममा ल्याण्ड भएर एक जना कर्मचारी अनिवार्य लिएर जानुपर्ने नियम लागू गरेको थियो । तर एयरलायन्स कम्पनी र अन्य केही पहुँचवाला व्यक्तिहरुको विरोधपछि नियम कार्यान्वयन गर्न प्रशासन असफल भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment