Comments Add Comment

‘आमा’ निर्मात्री भन्छिन्–‘फिल्म क्षेत्र वुझेकी छु, म ‘मुर्गा’ बनिन’

‘आमा’की निर्मात्री बन्न पाउँदा नै खुशी

चलचित्र ‘लभ लभ लभ’ बनाउँदा निर्मात्री शर्मिला पाण्डेले यो क्षेत्रलाई खासै वुझेकी थिइनन् । उनी, सानैदेखि चलचित्र क्षेत्रप्रति झुकाव राख्थिन् । सानैमा नाच्ने, अभिनय गर्ने, ऐना हेरेर नक्कल गर्ने शर्मिला बिहेपछि भने आफ्नो रहरबाट टाढा भइन् । अनलाइनखबरसँगको एक भेटमा शर्मिलाले सुनाइन्–‘मेरो त बच्चैदेखि नै यो क्षेत्रमा आउने रहर थियो । तर, त्यो रहर पुरा गर्न मैले विविध कारणले सकिनँ । सुरुमा रहरकै कारणले यो क्षेत्रमा आएँ । तर, अब म व्यापार गर्ने हिसाबले पनि अगाडि बढेकी छु ।’

शर्मिलाले पहिलो चलचित्र ‘लभ लभ लभ’ आफ्ना छोरा सुरज पाण्डेका लागि बनाएकी थिइन्. । सुरजको चलचित्रमा काम गर्ने रहर थिएन । उनी कलाकार भन्दा पनि निर्देशक बन्न चाहन्थे । तर, आमा शर्मिलाको करकै कारणले उनले ‘लभ लभ लभ’मा काम गरे । अब, सुरजले चलचित्रमा काम नगर्ने निर्णय गरिसकेका छन् ।

यो पनि पढ्नुहोस ‘म चुकेँ भने फिल्म क्षेत्र र दर्शकमाथि ठूलो घात हुनेछ’: दीपेन्द्र के खनाल

शर्मिलाका अनुसार, उनले चलचित्र निर्माण गर्न थालेपछि ‘लभ लभ लभ’ बाहेक अरुबाट घाटा व्यहोर्नु परेको छैन । चलचित्र ‘चंगाचेट र घर’बाट नाफा कमाएको उनको दाबी छ ।

चलचित्र क्षेत्रमा आउने निर्मातालाई यहाँ ‘मुर्गा’ भन्ने गरिन्छ । यो सुन्दै नमिठो लाग्ने शब्द शर्मिलालाई पनि प्रयोग गरियो । तर, शर्मिला भन्छिन्–‘मलाई कुनै पनि दिन आफू मुर्गा बनेको लागेन । परिवार र व्यापारमा सन्तुष्ट भएपछि म यो क्षेत्रमा आएँ । जिन्दगीमा मरेर लानु नै के छ र ? मर्दाखेरी ५ जनाले होइन, संसारले चिनोस् भन्ने मेरो चाहना छ ।’

शर्मिलाले बनाएको चलचित्र ‘आमा’ भोलीदेखि रिलिज हुँदैछ । शर्मिलाका अनुसार, यो चलचित्र बनाउन पाउँदा उनी सबैभन्दा बढी खुशी छु । उनले भनिन्–‘चलचित्र राम्रो व्यापार गर्छ भन्ने लागेको छ । तर, ‘आमा’ चलचित्र बनाउन पाउँदा सबैभन्दा बढी सन्तुष्ट छु । जिन्दगीमा मैले अरु पनि थुप्रै चलचित्र बनाउनेछु । तर, ‘आमा’ले जस्तो खुशी मलाई अरुले दिन सक्छ भन्ने लाग्दैन ।’

यो चलचित्र बनेपछि शर्मिलाले आफ्नी आमाप्रति गर्ने व्यवहार पनि बदलेकी छिन् । भनिन्–‘म यो चलचित्रको छायांकनअघि आमासँग खासै गफ गर्दिनथ्य । तर, अहिले दिनमा २–३ पटक आमालाई फोन गर्छु । आमासँग कुरा गर्छु । अहिले मैले आमालाई समय दिइरहेको छु ।’

दर्शकले पनि चलचित्र हेरेपछि आफ्नो मनस्थिती बदल्ने शर्मिलाको तर्क छ । उनले, यो चलचित्र रिलिजपछि केही आमाहरु वृद्धाश्रमबाट फर्किने समेत दाबी गरिन् ।

शर्मिला अहिले आफूले पनि चलचित्र क्षेत्रलाई वुझ्न थालेको बताउँछिन् । भनिन्–‘चलचित्र बनाउँदा मैले निर्देशकमाथि मात्र विश्वास गरेकी छैन । अहिले त मैले पनि कस्तो चलचित्र बनाउनुपर्छ भन्ने वुझेकी छु ।’
चलचित्रले व्यापार गरोस् भन्ने चाहना त शर्मिलाको पनि छ । तर, एक–दुइवटा चलचित्र नचलेरै आफूलाई असर नपर्ने उनको तर्क छ । शर्मिलाले सुनाइन्–‘म निरन्तर चलचित्र बनाइरहनेछु । मेरो यात्रा छोटो समयका लागि होइन ।’

शर्मिलाले हरेक नेपाली चलचित्र हेरेकी छिन् । उनले ‘सिन्दुर’ नामक चलचित्र १६ पटक हेरेको सुनाइन् । नेपाली चलचित्रमा निर्माता धेरै छन्, तर मेकर कम छन् । ४ वटा चलचित्र बनाउँदा शर्मिलाले चलचित्र क्षेत्रको बारेमा धेरै कुरा वुझेकी छिन्, जानेकी छिन् । त्यसमाथि, निर्देशक दीपेन्द्र के खनाल समेत उनीसँग जोडिदा उनलाई काम गर्न सजिलो भएको छ ।

यी निर्मात्रीको चलचित्र क्षेत्रप्रतिको माया लोभलाग्दो छ । के शर्मिलाको यो जोश र अठोट सधै कायम रहला, यसका लागि भने समयलाई नै प्रतिक्षा गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment