Comments Add Comment

भारतमै जन्मिएका अजाज पटेल भारत विरुद्ध खेल्दै

अजाज पटेल भारतमा जन्मिए । हाल उनी न्यूजिल्याण्डका लागि क्रिकेट खेल्दैछन् । मुम्बईमा जन्मिएका लेफ्ट आर्म स्पीनर पटेलले भारत विरुद्ध नै खेल्ने बारे भने सोचेका थिएनन् ।

भारत विरुद्धको दुई टेष्ट सिरिज खेल्ने न्यूजिल्याण्डको टिममा रहेका पटेल अहिले यसलाई लिएर उत्साहित छन् । ३१ वर्षीय पटेलले यसलाई आफ्नो करियरको अनौठो क्षण मानेका छन् । ‘भारत विरुद्ध खेल्नु मेरो लागि यो एकदमै ठूलो अवसर हो । मैले कहिल्यै भारत विरुद्ध यति चाँडै खेल्ने सोचेको थिइनँ,’ उनले भने ।

पटेल सन् १९९६ मा ८ वर्षको हुँदा भारतबाट न्यूजिल्याण्ड बसाईं सरेका थिए । उनले ७ टेष्ट खेलेका छन् । डोमेस्टिक क्रिकेटमा उनले उत्कृष्ट प्रदर्शन गरेका छन् । ६५ फस्ट क्लास क्रिकेटमा उनले २३५ विकेट लिएका छन् । ‘जब म न्यूजिल्याण्ड आएँ, म ड्यानिएल भिटोरीबाट धेरै प्रभावित भएँ । उनी मेरो लागि हिरो हुन् ।’

उनले अहिले भने भारतकै रवीन्द्र जडेजा मन पर्ने बताए । ‘आधुनिक क्रिकेटमा जडेजा मेरो प्रिय हुन् किनकी मैले उनीबारे धेरै अध्ययन गरेको छु । म रंगना हेराथको पनि ठूलो प्रसंशक हुँ । मैले दुवै जनाको नक्कल गर्ने प्रयास गरेको छु,’ पटेलले भने ।

पटेलले सन् २०१८ मा पाकिस्तान विरुद्ध खेल्दै टेष्टमा डेब्यु गरेका थिए । उनले डेब्युमै दोस्रो इनिङ्समा ५ विकेट लिएका थिए ।

न्यूजिल्याण्ड र भारतबीचको दुई खेलको टेष्ट सिरिज शुक्रबारदेखि सुरु हुँदैछ । यसअघि भएको टी-२० सिरिज भारतले क्लिन स्वीप गरेको थियो भने ओडीआई सिरिज न्यूजिल्याण्डले क्लिन स्वीप गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment