Comments Add Comment

बास्कोटाको बहिर्गमन : प्रधानमन्त्रीको ‘तुलो’ मा असन्तुलन

ओलीले गुमाए सरकारको प्रतिरक्षामा बोल्ने बलियो स्वर

Photo Credit : मन्त्री पदबाट राजीनामा दिएपछि बालकोटमा जम्मा भएका शुभचिन्तकसँग कुरा गर्दै बास्कोटा । तस्वीरः सूर्य थापा

८ फागुन, काठमाडौं । सञ्चारमन्त्री भएको केही समयमै बोल्ने शैलीका कारण आलोच्य बन्न थालेपछि गोकुल बास्कोटाले केही पत्रकारसँग भनेका थिए- मलाई मिटू लाग्दैन, भ्रष्टाचारकाण्ड लाग्दैन । छुच्चो बोल्ने मेरो शैली बुझेकाहरुलाई नौलो होइन, गल्ती नगरेपछि डराइँदैन । म चेपारे बोल्न जान्दिनँ ।

दुईवर्ष केपी ओली सरकारको प्रवक्ताका रुपमा रहँदा अधिकांश समय अभिव्यक्ति शैलीकै कारण विवाद र चर्चामा आइरहने बास्कोटाको बहिर्गमन भने बिर्सनलायक बन्यो ।

बास्कोटाले जुन काण्ड आफूलाई लाग्दैन भनेका थिए, त्यही विषयमा प्रश्न उठेपछि बिहीबार उनले नैतिकताका आधारमा राजीनामा दिएका छन् ।

यो उनको राजनीतिक जीवनमा ठूलै धक्का हो ।

यो घटना गोकुल बास्कोटाका लागि मात्र होइन, स्वयं प्रधानमन्त्रीका लागि पनि एउटा धक्का हो ।

केपी ओली र गोकुलको संयोग

पार्टीभित्र गोकुल बास्कोटा केपी ओलीका ‘कोर गु्रप’का सदस्य हुन् । ओली कुनै समय पार्टीभित्र निकै कमजोर र एक्लो भएका बेला पनि गोकुलले साथ नछाडेका कारण पनि उनीप्रति प्रधानमन्त्रीको अतिरिक्त प्रेम व्यक्त भयो ।

काभ्रेबाट पहिलोपटक सांसद जितेका बास्कोटालाई ओलीले सञ्चार राज्यमन्त्री हुँदै फूलमन्त्रीमात्र बनाएनन् पार्टीको केन्द्रीय सदस्य पनि बनाए ।

संयोग नै मान्नुपर्छ, २०७४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा देशभरिबाट सबैभन्दा बढी लोकपि्रय मत पाएर जित्ने पहिलो नम्बरमा केपी ओली हुँदा गोकुल दोस्रो नम्बरमा थिए । ओलीले झापा ५ बाट ५७ हजार १३९ मत पाएर जितेका थिए भने बास्कोटाले काभ्रे २ मा ५५ हजार ५२६ मत पाएर विपक्षीभन्दा करीव २० हजारको मतान्तरमा बिजयी भएका थिए ।

मात्रिका पौडेल

ओली गुटभित्रै आँखाको तारो

पार्टीभित्र अरु गुटको कुरा नगरौं, ओली गुटभित्रै पनि गोकुलको प्रगति र उनीप्रति प्रधानमन्त्रीको अतिरिक्त भरोसामाथि आरिस भइरहेको थियो । अझ प्रधानमन्त्रीले बालकोटको आफ्नै घरलाई मन्त्री बास्कोटाको क्वार्टर बनाइदिएपछि शक्तिकेन्द्रहरु पनि प्रधानमन्त्रीसम्म पुग्न वा प्रधानमन्त्रीको नजरमा पर्न गोकुलसँग नजिकको सम्बन्ध राख्न चाहान्थे ।

मन्त्री बनेपछि गोकुलको प्रभाव बढिरहेको थियो । छुच्चो बोल्ने र विपक्षीप्रति प्रधानमन्त्री भन्दा कठोररुपमा प्रस्तुत हुने शैलीबाहेक गोकुलको आचरणप्रति खासै प्रश्न उठेको थिएन । मन्त्रीका रुपमा उनले मन्त्रालयका आन्तरिक कामहरु निकै अघि बढाएका थिए । कार्य सम्पादनमा उनको नम्बर अब्बल नै थियो ।

मिडिया सम्बन्धी ऐनहरुमा परेको विवादबाहेक मन्त्रिपरिषद बैठकमा गोकुल बास्कोटाका कुनै प्रस्ताव फिर्ता हुने वा अस्वीकृत हुने अवस्था आउँदैनथियो । यसको कारण एउटा त प्रधानमन्त्रीको विश्वास र अर्कोचाहिँ मन्त्रालयमा प्रस्ताव तयार गर्नुअघि प्रधानमन्त्रीलाई जानकारी गराउने तथा अनुमति लिएर मात्र अघि बढाउने उनको कार्यशैली थियो ।

त्यो मन्त्रिपरिषद बैठक

गोकुल बास्कोटाले बोलेपछि मन्त्रिपरिषदका कतिपय निर्णयहरु ‘सच्याइएका’ नजिर पनि छन् । एकमन्त्रीका अनुसार केही समयअघि लुम्बिनीको विश्व शान्ति पूजा मूल समारोह समितिको संरक्षकमा राष्ट्रपति, प्रधानमन्त्री, प्रधान न्यायाधीशलगायत विशिष्ठ व्यक्तिलाई राख्ने प्रस्ताव मन्त्रिपरिषदमा पेश भयो र प्रधानमन्त्रीले पारित भएको सुनाए ।

तर, बास्कोटाले ‘यसमा मेरो कुरा छ’ भन्दै बोल्न खोजे । प्रधानमन्त्रीले निर्णय भइसक्यो, अब पर्दैन भन्दाभन्दै पनि बास्कोटा जंगिन छाडेनन् । त्यसपछि सामान्य प्रशासन मन्त्रीले रमाइलो पारामा ‘गुण्डा मन्त्री’लाई बोल्न दिउँ प्रधानमन्त्रीज्यू, केही कुरा होला भन्दै बास्कोटाको पक्ष लिए । त्रिपाठीले गोकुलको बोल्ने शैलीलाई सो विम्ब दिएका हुन् ।

त्रिपाठीको आग्रहपछि प्रधानमन्त्रीबाट बोल्ने समय पाएका बास्कोटाले सरकारले गर्ने विश्व शान्ति पूजा मूल समारोह समितिको संरक्षक न्यायपालिकाको प्रमुखलाई राख्नु गलत हुने तर्क पेश गरे । भोलि अदालतमा यसबारेमा मुद्दा परेको खण्डमा फैसला दिनुपर्ने प्रधानन्यायाधीश नै संरक्षक राख्नु ठीक नहुने तर्क अन्ततः सबैले स्वीकार गरे र सो निर्णय सच्याइयो ।

यो एउटा उदाहरण मात्र हो ।

प्रायः मन्त्रीहरुले मन्त्रिपरिषद बैठक बाहेक प्रधानमन्त्रीसँग भेट्न पाउँदैनन् । थममाया थापाले आफ्नो कार्यकालभरि बैठकमा बाहेक प्रधानमन्त्रीसँग भेटेर योजना सुनाउन नपाएको बताएकी थिइन् । तर, गोकुल बास्कोटा मात्रै यस्ता पात्र थिए, जसले जुनसुकै बेला पनि बालुवाटार पुगेर प्रधानमन्त्रीसँग छलफल गर्ने हैसियत राखे । उनका सिनियरदेखि समकक्षीसम्मलाई त्यति सहज भएन ।

पछिल्लो समय बास्कोटा केपी ओली र माधव नेपालबीचको सम्बन्ध सुधारको सूत्रधार बन्दै थिए । राजपासँग राष्ट्रियसभा निर्वाचनको गठबन्धनका सूत्रधार पनि बास्कोटा नै थिए ।

पार्टीभित्र समेत उनको प्रभाव बढिरहेका बेला भएको अडियो प्रकरण बास्कोटाका लागि ठूलो सेटब्याक बन्न पुग्यो ।

हो, गोकुल बास्कोटा केपी ओली सरकारका मुख्य खम्बा थिए । गोकुलको बाध्यकारी बहिर्गमनले प्रधानमन्त्रीलाई अवश्य चोट पुगेको छ । सबै मन्त्री आ-आफ्नै मन्त्रालयमा हराइरहेका बेला ओलीले सरकारको प्रतिरक्षामा बोल्ने एउटा बलियो स्वर गुमाएका छन् ।

प्रधानमन्त्रीले हालै धुलिखेल पुगेर सरकारका बिरोधीको मुख बन्द गराउन गोकुल तराजुको सिंगो एक भाग भनेका थिए ।

सबैतिर फायर खोल्दा…

गोकुलप्रति प्रधानमन्त्रीको अधिक भरोसा र प्रशंसा ओली पक्षकै कतिपयलाई पचेको थिएन भन्न सकिन्छ । बालुवाटारभित्रै र पार्टीभित्र पनि ओली खेमाबाटै पनि घेराबन्दीमा थिए बास्कोटा । उनले धेरैतिर फायर खोलेका कारण प्रधानमन्त्री ओलीमाथि बास्कोटा हटाउन पहिलेदेखि नै आन्तरिक दवाब थियो ।

कार्यकारी अध्यक्ष प्रचण्डले यसअघिको मन्त्रिपरिषद पुनर्गठनकै बेला बास्कोटालाई हटाउन दबाव दिएको चर्चा थियो ।

विनोद चौधरीसँगको पछिल्लो लफडामा अध्यक्ष प्रचण्डले समेत चासो राखेका थिए । सुरक्षण मुद्रणदेखि दूरसञ्चारका लाइसेन्ससम्मका बिभिन्न ठेक्कापट्टामा विदेशी कम्पनीका एजेण्टहरु बालुवाटारदेखि खुमलटारसम्म धाइरहेकै थिए ।

बास्कोटाले प्रधानमन्त्रीकै सामुन्ने प्रचण्डलाई तपाईको आदेश मान्दिनँ भनेर बालुवाटारबाट निस्किएको चर्चा पनि चलेको थियो ।

प्रमुख विपक्षी नेपाली कांग्रेसको मुख्य आलोचनाको तारो गोकुल नै थिए । खरो अभिव्यक्ति शैलीका कारण मिडियामा विचार निर्माण गर्ने बौद्धिक जमातदेखि सामाजिक सञ्जालमा समेत बास्कोटा आलोचित भइरहे । पार्टीभित्र गोकुललाई मन नपराउने ठूलो समूह संगठित भइरहेकै थियो । उनले कतिपय आफ्ना पुराना मित्रहरुसमेत गुमाउँदै गएका थिए ।

जुन पेशामा -पत्रकारिता) बास्कोटाले जीवनका करीव दुई दशक बिताए, उनको दुई वर्षे कार्यकाल त्यही पेशाको आलोचना र कुनैबेलाका आफ्नै सहकर्मीप्रति अशन्तुष्टि व्यक्त गर्दैमा बित्यो । अहिलेका अधिकांश मूलधारका मिडियाका सम्पादक बास्कोटाका समकालीनहरु नै थिए, तर पनि सञ्चारमन्त्री बनेपछि उनको सम्बन्ध सुमधुर हुन सकेन ।

पार्टी कार्यकर्ताको एउटा पंक्तिलाई चाहिँ गोकुल बास्कोटाले यो २ वर्षे अवधिमा आफ्नो पक्षमा पारे । विरोधीले सरकार र पार्टी नेतृत्वमाथि आक्रमण गर्दा कठोर शब्दमा प्रतिवाद गर्ने कोही त छ भन्ने छाप उनले छाडे । तर, पार्टीभित्रै उनका आलोचक पनि यसबीचमा थपे उनले ।

मन्त्रीमा औसतभन्दा माथि, प्रवक्तामा तारो

सञ्चार मन्त्रीका रुपमा बास्कोटाले पत्रकारको न्यूनतम पारिश्रमिक लागु गराउन एक्सनमै उत्रिए । त्यसक्रममा कतिपय मिडिया हाउससँग उनको अघोषित युद्ध नै चल्यो । क्लिन फिड लागु गरेर उनले प्रशंसा पाए । पछिल्लो समय मिडिया काउन्सिल विधेयकमा पनि सरोकारवालाका कुरा सुन्न तयार भए ।

डिजिटल नेपालको अभियानका क्रममा गाउँ-गाउँमा सूचना प्रविधि र इन्टरनेट सेवा विस्तारको प्रक्रिया अघि बढ्यो । जेष्ठ पत्रकारलाई पेन्सनको निर्णय गराएका बास्कोटाले पत्रकारको क्षमता अभिवृद्धिका लागि आमसञ्चार प्रशिक्षण प्रतिष्ठान गठनको प्रक्रियासमेत अघि बढाइरहेका थिए ।

पछिल्लो पटक शहरी विकासमन्त्रीको समेत जिम्मेवारी पाएपछि उनले जेष्ठ नागरिकका लागि बाजे बज्यै पार्कको पहिलो निर्णय गरेर चर्चामा आए । मन्त्रीनिवास र मुख्यमन्त्री तथा प्रदेश प्रमुखहरुको निवास ४० बाट घटाएर २८ मा झार्ने र त्यसबाट बच्ने रकमले राजधानीमा पार्क निर्माण गर्ने निर्णयसमेत गरेका थिए ।

एउटा मन्त्रीका रुपमा गोकुल बास्कोटाको कार्यसम्पादनमा प्रश्न उठेको थिएन । उनले मन्त्रालय र मातहतका विभागमा वर्षौंदेखि अघि बढ्न नसकेका परियोजना अघि बढाए । प्रधानमन्त्रीको साथ भएकाले बास्कोटा सुरक्षण मुद्रण, स्याटेलाइट, फोरजी जस्ता ठूला परियोजना अघि बढाउन सुरिए । यी परियोजना अघि बढ्दा अन्तर्राष्ट्रिय तहका कमिसन एजेन्टहरुको चलखेल हुन्छ भन्ने उनले बुझेका थिए ।

ठेकेदार र एजेन्टहरुसँग बास्कोटाले मन्त्रालयमै भेट्ने गर्थे । कसले कतिसम्म कमिसनका अफर गरे भनेर आफूले डायरीमै टिपेर राखेको एउटा कार्यक्रममा बताएका थिए । ‘कि त कामै गर्नुभएन, होइन भने रिस्क मोलेर अघि बढ्ने हो । अलि ठूला परियोजना अघि बढाउन थालेपछि शक्तिकेन्द्रहरुबाटै बिचौलियाहरु पावर लगाएर आउँछन्’ बास्कोटाले भनेका थिए, ‘एउटा यति करोड दिन्छु भनेर आयो, मैले त्यतिमात्रै ? अर्कोले अर्ब नै दिन्छु भन्यो भन्दिएँ । यस्तो भन्नुपर्छ अनि पो वास्तविक लागत थाहा हुन्छ ।’

विभागीय मन्त्रीका रुपमा औषतभन्दा माथि काम गरेका बास्कोटा जति पनि आलोचित भए त्योचाहिँ सरकारको प्रवक्ताका रुपमा हो । सरकारको बचाउ गर्दा उनी विपक्षी दल, मिडिया र स्वतन्त्र आलोचकहरुप्रति अशहिष्णु बनेको आरोप लाग्यो । जसले गर्दा उनका समर्थकभन्दा बिरोधीहरु धेरै संगठित भए । तर, उनी भन्थे, कोही न कोहीले त विपक्षीका प्रहारको सामना गर्नुपर्‍यो नि ।

गोकुल बास्कोटाको अस्वाभाविक बहिर्गमन भएको छ सरकारबाट । अब उनी पार्टीको मोर्चामा पुनः सक्रिय हुनेछन् । काभ्रे जिल्ला इञ्चार्ज रहेका बास्कोटा आधारभूत तहबाटै पार्टीको नेतृत्वमा पुगेका हुन् । उनले विगत २५ वर्षयता ओली गुटको कठोर सदस्यका रुपमा आफूलाई चिनाए ।

विवादै विवादका बीच मन्त्रीबाट बिदा भएका बास्कोटाले अब आफूलाई पार्टीपंक्ति, जनता र समाजमा आफूलाई कसरी उपस्थित गराउँछन् ? अवश्य पनि उनी निगरानीमा छन् । किनकि, मन्त्रीबाट राजिनामा दिए पनि पार्टीमा समेत उनीमाथि प्रश्न उठाउनेहरुको पंक्ति ठूलै छ ।

नैतिकताको संस्कार, तर अशोभनीय शब्द

एउटा नेतामाथि नैतिक प्रश्न उठेपछि पदबाट राजीनामा दिनु राम्रो संस्कार हो । बास्कोटाले त्यो संस्कार देखाए । त्यो अडियोको वास्तविकता खुल्दै जाला ।

तर, मन्त्रीले भनेजस्तै कतिसम्म कमिसनको चलखेल हुँदो रहेछ भनेर उनले कमिसन एजेन्टलाई उक्साएको भए पनि कतिपय अश्लील खालका जुन शब्द प्रयोग गरेका छन्, त्यो शोभनीय छैन । मन्त्रीजस्तो ओहोदामा पुगेको व्यक्तिले जस्तोसुकै जमघटमा पनि होसियारीपूर्वक बोल्नुपर्छ ।

मिश्रले रेकर्ड गरेको अडियो कुन सन्दर्भको थियो भन्ने खुल्दै जाला । तर, कूटनीतिक तरिका अनि जोगिएर बोल्ने स्वाभाव नभएका बास्कोटा त्यही शैलीकै कारण कमिसन एजेण्टको एम्बुसमा परेको भने सत्य हो ।

मन्त्रीको कुर्सीमा बसेर कस्ता व्यक्तिसँग कसरी कुरा गर्ने भन्ने कुरा उनले बुझेनन् वा पर्वाह गरेनन्, त्यो उनैले जानुन् । तर, यो प्रकरणले बास्कोटामाथि प्रश्न खडा गरेको छ ।

यो घटनाले सरकारको प्रतिरक्षामा उभिने एउटा महत्वपूर्ण पिल्लर ढलेको छ र प्रधानमन्त्री ओलीले बलियो सारथी गुमाएका छन् । सरकारको ‘तुलो’ असन्तुलित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment