Comments Add Comment

ललितपुर हत्या प्रकरण : पहिले लडेर घाइते, त्यसपछि कुटपिट !

९ फागुन, काठमाडौं । ललितपुरको लेले सामुदायिक वनमा हत्या गरिएकी ४० वर्षीया खगेश्वरा दमाई क्षय रोगबाट पीडित रहेको खुलेको छ । रोगकै कारण सामाजबाट पाएको अपहेलना सहन नसक्दा उनको हत्या भएको हुनसक्ने देखिएको छ ।

महानगरीय प्रहरी वृत्त, चापागाउँले गरेको अनुसन्धानका क्रममा दमाईका पति गिरबहादुरले श्रीमतीलाई भएको रोगका कारण तिरस्कृत भएर हत्या गरेको स्वीकारोक्ति दिएका छन् ।

चापागाउँका प्रहरी प्रमुख कृष्णराज ओझा भन्छन्, ‘बयानका क्रममा जागिर छाडेर २४ माघमा भागेर जाने क्रममा जंगलमा श्रीमती लडेको उनले खुलाएका छन् । त्यसपछि घाइते श्रीमतीलाई कुटपिट गरेको उनले खुलाएका छन् । उनले भने अनुसार नै श्रीमतीलाई कुटपिट गरेको देखिएको छ । ’

यसअघि ४ फागुनमा नग्न अवस्थामा दमाईको शव भेटिएको थियो । प्रारम्भमा शवको सनाखत हुन नसकेपछि गाउँमा सोधपुछ गर्ने क्रममा दमाई २१ माघमा काम खोज्दै स्थानीय एक कृषि फर्ममा पुगेको खुलेको थियो ।

तीन दिन कलंकीमा काम गरेर सुर्खेत

प्रहरी नायब उपरीक्षक (डीएसपी) ओझाका अनुसार घटनापछि गिरबहादुर पैदल हिँडेर कलंकीसम्म पुगेका थिए । घर जान खोजे पनि उनीसँग भाडा तिर्न पैसा थिएन ।

‘भोलिपल्टबाट कलंकीको इँटाभट्टामा काम गरेर तीन दिनमा भाडा बराबरको पैसा जम्मा गरेको उनले बताएका छन्’, ओझाले अनलाइनखबरसँग भने, ‘हामीले इँटाभट्टामा पुगेर पुष्टि गरिसकेका छैनौं । तर, झुठ बालेको जस्तो देखिँदैन ।’

प्रहरीका अनुसार काठमाडौंबाट सुर्खेतसम्मको गाडी भाडा कम्तिमा १२ सय रुपैयाँ छ । घर पुगेर उनले श्रीमती हराएको भन्दै परिवारसँग भनेका थिए । तर, प्रहरी उनीहरुले काम गरेको फर्ममार्फत श्रीमानसम्म पुगेको थियो ।

शवको पछाडिपट्टि निल डाम देखिन्छ भने कपडा पनि अपराधस्थलको विभिन्न क्षेत्रमा छरिएको थियो । प्रहरीले महिलाको मृत्युको कारणका लागि भने पोष्टमार्टम रिपोर्ट नै कुर्नुपर्ने जनाएको छ । पाटन अस्पतालमा शवको पोष्टमार्टम गरिएको छ भने रिपोर्ट आउन अझै केही दिन लाग्ने बताइएको छ ।

पक्राउ परेका श्रीमानविरुद्ध आइतबार कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत, ललितपुरबाट म्याद थप गरेर विस्तृत अनुसन्धान थालिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment