Comments Add Comment

ललिता निवास प्रकरण : मृतकलाई अदालतमा उपस्थित हुन १५ दिने म्याद !

९ फागुन, काठमाडौं । बालुवाटारस्थित ललिता निवासको जग्गा हिनामिना प्रकरणमा विशेष अदालतले प्रतिवादीहरुलाई अदालतमा उपस्थित हुन म्याद जारी गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अदुअआ) ले गत २२ माघमा दर्ता गरेको आरोपपत्रमा प्रतिवादी बनाएका १७५ विरुद्ध अदालतले १५ दिने म्याद जारी गर्न शुरु गरेको हो ।

विशेष अदालतले भूमिसुधार तथा व्यवस्था विभागका पूर्वनिर्देशकत्रय पुष्पराज उपाध्याय, रुद्रकुमार श्रेठ र मुकुन्द आचार्य, मालपोत कार्यालय डिल्लीबजारका पूर्वप्रमुखद्वय टीकाराम घिमिरे र कलाधर देउजा, शाखा अधिकृत इन्द्रप्रसाद ढुङ्गाना, सुरेन्द्रमान कपाली, धर्मप्रसाद गौतम, नायब सुब्बा टिकाबहादुर बिसी, युक्तप्रसाद श्रेष्ठ, जगतप्रसाद पुडासैनी, खरिदार जीवनाथ पोखरेल, समरजङ्ग कम्पनीका पूर्व प्रमुख अर्जुनप्रसाद भण्डारी र नासु श्रीहरी पुडासैनीका नाममा म्याद जारी गरिसकेको छ ।

आफूहरूले अदुअआले उपलब्ध गराएको नाम र ठेगानामा उपस्थित हुने म्याद जारी गरेको विशेष अदालतका एक अधिकारीले जानकारी दिए । उनका अनुसार अन्य प्रतविादीहरूको नाम र वतन रुजु भइरहेको छ ।

मृतकलाई दश वर्ष कैद सजाय माग

अदालतले उपस्थित हुन म्याद जारी गरेका मध्ये मालपोत कार्यालय डिल्लीबजारका तात्कालिन नासु युक्तप्रसाद श्रेष्ठको मृत्यु भइसकेको छ । प्रहरीकाअनुसार श्रेष्ठले गत साउनमा बालाजुस्थित हिमालयन सिटी सेन्टरको सातौं तलाबाट हामफालेर आत्महत्या गरेका थिए ।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति, पर्वतका नेता समेत रहेका श्रेष्ठमाथि अदुअआले २ करोड २९ लाख ५७ हजार ४०० विगो माग गरेको छ । उनलाई साविक भ्रष्टाचार निवारण ऐन २०१७ को दफा १३ र ६, भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८, ५ र १७ अनुसार कारवाहीको माग समेत गरिएको छ ।

भ्रष्टाचार निवारण ऐनमा एक करोड भन्दा बढी भ्रष्टाचार गर्नेलाई आठ वर्षदेखि दश वर्षसम्म कैद सजायको व्यवस्था छ ।

सोही ऐनको दफा ८ अनुसार ‘कुनै राष्ट्रसेवकले आफू वा अरु कुनै व्यक्तिलाई गैरकानूनी लाभ पुर्‍याउने वा नेपाल सरकार वा सार्वजनिक संस्थालाई गैरकानूनी हानी पुर्‍याउने बदनियतले गरेको कसूरमा थप तीनवर्षसम्म कैद र बिगो बमोजिम जरिवाना समेत गर्न सकिने व्यवस्था छ ।

राणा परिवारका मृतकसँग २० करोड बिगो माग

अदुअआले विशेष अदालतमा दायर गरेको मुद्दामा जग्गा धनी दाबी गर्दै आएका रुक्म शमशेर जबरा, हाटक शमशेर जबरा, हेमन शमशेर जबरा, सुनिती राणा, शैलजा राणा, हेमाद्री शमशेर जबरालाई पनि विपक्षी बनाइएको छ ।

रुक्म शमशेर स्वर्गीय कांग्रेस नेता सुवर्ण शमशेरका छोरा हुन् । सुनिती राणा जेठी र शैलजा राणा सुवर्णकै माहिली बुहारी हुन् । हेमाद्री सुनिती राणाका छोरा हुन् । विपक्षी बनाएका मध्ये हाटक र हेमन सुवर्णका अर्का छोरा कञ्चन शमशेरका छोराहरू हुन् ।

राणा परिवारका प्रतिवादी मध्ये हेमन शमशेर, सुनिती राणा र शैलजा राणाको मृत्यु भइसकेको छ । मृतक हेमन शमशेरलाई एक करोड ३५ लाख २२ हजार ५० रुपैयाँ, सुनिती राणालाई ८ करोड ६९ लाख ८२ हजार र शैलेजा राणालाई ९ करोड ६३ लाख ४ हजार ५० रुपैयाँ विगो तोकिएको छ ।

तीन मृतकलाई भ्रष्टाचार निवारण ऐनको दफा ३ को उपदफा (३) अनुसार आठ वर्षदेखि दशवर्ष कैद सजायको माग गरिएको छ ।

अदुअआले बालुवाटारस्थित ललिता निवास र यसले चर्चेको १३६ रोपनी सरकारी/सार्वजनिक जग्गा हिनामिना प्रकरणमा संलग्न भएको आरोपमा तीन पूर्व मन्त्री र तीन पूर्व सचिवसहित १७५ जना विरुद्ध मुद्दा दायर गरेको थियो ।

यो पनि पढ्नुहोस पूर्वप्रधानमन्त्री जोगिए, गच्छदारसहित १७५ विरुद्ध मुद्दा (सूचीसहित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment