Comments Add Comment

बलेवा विमानस्थलको रनवे कालोपत्रे शुरु

१० फागुन, बागलुङ । बागलुङ जिल्लाको बलेवा विमानस्थलको धानवमार्ग (रनवे) कालोपत्रे गर्न काम अगाडि बढेको छ । २०७७ फागुन महिनाभित्र विमानस्थलको ७०० मिटर लम्बाइ तथा ३० मिटर चौडाइ धावनमार्ग कालोपत्रे गरी सक्ने गरी नेपाल नागरिक उड्डयन प्राधिकरणले काष्ठमण्डम उमा एण्ड कम्पनी जेभी, बल्खुसँग सात करोड रुपैयाँमा ठेक्का सम्झौता गरेको छ ।

निर्माणको जिम्मा पाएको सो कम्पनीका प्रतिनिधि दिनेश रिजालले ठेक्का सम्झौता हुँदासाथ आवश्यक कामको थालनी गरिएको जानकारी दिए । उनले भने, ‘धावनमार्ग कटिङका लागि आवश्यक औजार, उपकरण विमानस्थलमा ल्याइसकेका छौँ, कटिङको काम शुरु भएको छ ।’ शुरुमा कटिङ गर्ने, वरपर नाली निर्माण गर्ने र तारबार लगाउने निर्माण कम्पनीका फिल्ड इञ्चार्ज वासु थापाले जानकारी दिए ।

२६ वर्षदेखि बन्द अवस्थामा रहेको सो विमानस्थल बागलुङ नगरपालिकाको संयोजनमा २०७४ चैत ९ गतेबाट पुनः सञ्चालन आएको थियो । नेपाल एयरलाइन्स तथा तारा एयरलाइन्सका जहाजले केही महिना उडान समेत भरेका थिए । तर आवश्यक पूर्वाधारको अभावले अहिले विमानस्थल बन्द छ ।
बागलुङ नगरपालिका–१४ नारायणस्थानमा सो विमानस्थल छ ।

हवाई सेवा नियमित भएमा बागलुङ जिल्लाका साथै, पर्वत र म्याग्दीका जनतालाई समेत सुविधा पुग्ने बताइएको छ ।

कालीगण्डकी करिडोरसँग जोडिएको विमानस्थल पुग्न बागलुङ बजारदेखि जम्मा १२ किलोमिटर सडक कच्ची छ । मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर कालोपत्रे हुनसकेमा विमानस्थल सञ्चालनका लागि यात्रुको अभाव नहुने सरोकारवाला बताउँछन् ।

एक वर्ष अगाडि यात्रु कम हुँदाको रकम नगरपालिकाले सुनिश्चित गरी हप्तामा दुईदिन नेपाल एयरलाइन्स र तारा एयरलाइन्स विमानले उडानसमेत भरेका थिए । बर्खाको समय धावनमार्गमा हिलो र हिउँदमा धुलो उड्ने समस्या भएपछि विमानस्थल बन्द भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment