Comments Add Comment

पुस्तक अंश : बाबुरामसँग ‘लिम्बुवान’ छाडेर ‘खम्बुवान’ तिर लाग्दा

खासै चर्चामा नरहेको चमेरे गुफा धनकुटा नपा– ३, मालबाँसेमा पर्छ । यो गुफा धनकुटा बजारबाट ५ किमि उत्तर–पूर्व साँगुरो कच्ची बाटो छिचोलेपछि पुगिन्छ । गुफाको प्रवेशद्वार निक्कै अप्ठेरो र साँघुरो रहेछ । तर, भित्र छिरेपछि निक्कै फराकिलो झन्डै २०० जना अटाउँदो रहेछ । न्यूनतम व्यवस्थापन पनि नभएर होला, पर्यटकको खासै ध्यानाकर्षण भएको देखिएन । वडाध्यक्ष विकास घिमिरेले वडाको विशेष योजनामा यस गुफालाई आन्तरिक पर्यटन क्षेत्रको रूपमा विकास गर्ने लक्ष्य रहेको कुरा जानकारी गराउनुभयो ।

यस गुफालाई पर्यटन गन्तव्य बनाउन सक्दा आठ हजार संख्यामा रहेको लोपोन्मुख जाति आठपहरिया राई, जो यस क्षेत्रमा बसोबास गर्दै आइरहेका छन् उनीहरूको जीवनस्तरमा सुधार ल्याउनसक्ने अवसर पनि प्राप्त हुने कुरा विकासजीले राख्नुभयो । केही अगुवा आठपहरिया राईहरूसँग हामीले छोटो भेटघाट गर्‍यौं । डा. भट्टराईले निक्कै चासो दिएर सोधखोज गर्नुभयो । उनीहरूको आफ्नै भाषा, संस्कृति रहेछ । आफूहरूको बारेमा सरकारले खासै चासो नदेखाएकोमा उनीहरूको सरकारप्रति गुनासो थियो ।

फोहरमाथि बगैंचा

चमेरे गुफाबाट धनकुटा नगरपालिका–६, सल्लेरी वनमा रहेको स्यानिटरी ल्यान्डफिल्ड साइटमा पुग्यौं । फोहर व्यवस्थापन विल्कूल नयाँ ढंगले गरेको देखियो । त्यहाँका प्रमुख उपेन्द्र खनालले १० रोपनी जमिनमा रहेको विभिन्न संरचनाहरूको भिजिट गराएपछि संक्षिप्तमा यहाँ गरिएको नयाँ प्रयोगबारे व्याख्या गर्नुभयो । २०६६ सालबाट सुरु गरिएको यस साइटमा अहिले फोहरको थुप्रोमाथि तयार पारिएको दुईवटा आकर्षक बगैंचाले सबैको ध्यान तान्छ । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले त आफ्नो एउटा बैठक यही बगैंचामा राखेको कुरा पनि थाहा पाइयो ।

यस साइटमा खासगरी नष्ट नहुने फोहर मात्र ल्याइन्छ । मल बनाउन मिल्ने फोहरलाई मल बनाउन सिकाएर कौसीमा तरकारी खेती गर्न सिकाएको र बजारका अधिकांश घरमा कौसी खेती गरिरहेको जानकारी पनि उपेन्द्रजीले गराउनुभयो । नष्ट नहुने फोहर निश्चित ठाउँमा जम्मा गर्दै गएपछि माथिबाट माटोले पुरिन्छ र त्यसमाथि बगैंचा बनाइन्छ । जसले गर्दा वातावरणमा प्रदुषण पनि हुन्न, खेर गइरहेको जमीन सदुपयोग पनि हुन्छ । देशभरिमा धनकुटा नगरपालिकाबाहेक अरूले यस्तो प्रविधिको प्रयोग नगरेको जिकिर पनि उहाँले गर्नुभयो । यो प्रविधिलाई अरू ठाउँमा पनि बिस्तार गर्न, गराउन सकेको सहयोग गर्ने प्रतिबद्धतासहित हामी त्यहाँबाट बिदा भयौं ।

संग्राहलय अवलोकन र सम्मेलन

२०३९ सालमा स्थापना भएको यस क्षेत्रीय संग्राहलय त्यति व्यवस्थित रहेनछ । पूर्वका १६ जिल्लामा बसोबास गर्ने १६ जातिका धर्म, संस्कृति, भेषभुषा र उनीहरूले प्रयोग गर्ने सरसामानहरू संग्रहित यस संग्राहलयको व्यवस्थापनमा सरकारको तुरुन्तै ध्यान पुगोस् भन्ने अनुरोध गर्दछु ।

धनकुटा बजारमा नेपाल पत्रकार महासंघ धनकुटा शाखाले आयोजना गरेको पुरस्कार वितरण र पत्रकार सम्मेलन सम्पन्न गरेपछि डा. भट्टराई, मदन राईलगायत एउटा सानो टिम पारिपात्लेस्थित राष्ट्रिय सुन्तला जात अनुसन्धान कार्यक्रम हेर्न गयौं । समय अभावको कारण खासै हेर्न त पाइएन, तर त्यस भेगका जनताहरूसँग छोटो संवाद गर्ने मौकाभने मिल्यो । डा. भट्टराईले संक्षिप्त सम्बोधन गर्नुभयो ।

विकास घिमिरेको ग्रीन कागते

धनकुटा नपा– ३, कागतेमा वडा कार्यालयद्वारा आयोजित सभामा वडाध्यक्ष विकास घिमिरेले ३ नम्बर वडालाई नमूना वडा बनाउने योजना पेश गर्नुभयो । प्रदेश र संघीय सरकारसँग विशेष बजेटको लागि अनुरोध पनि गर्नुभयो । सभामा सहभागीहरूले वडाध्यक्षको काम गर्ने शैली, योजना र सहासको प्रशंसा गरिरहेका थिए । ३ नम्बर वडालाई समृद्ध ग्रीन कागते बनाई छाड्ने वडाध्यक्षको प्रतिबद्धतालाई सबैले ताली पिटेर अनुमोदन गरे । तीन महिनाभित्रमा यस चोकमा कागतीको आकर्षक स्तम्भ राखिसक्ने योजना पनि सुनाए । प्रमुख वक्ता डा. भट्टराईले वडाध्यक्ष विकासजीको योजनामा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मदन दाइले आजदेखिको कमान्डर म हुँ। कसैले चिन्ता गर्नुपर्दैन भन्नुभयो । दुईजना सीनियर नेताहरूले यति भनेपछि मचाहिँ ढुक्क भएँ

धनकुटा र भोजपुरको सीमा बजार लेगुवाघाट पुग्दा साँझ परिसकेको थियो । आजको बास यहीँ बस्ने पूर्वयोजना भए पनि भोजपुरका साथीहरूले प्याउली बजारसम्म पुग्नैपर्ने नयाँ योजना सुनाउनुभयो । त्यसोभए कार्यक्रम नगरी सरासर जानुपर्छ भन्ने सल्लाह गरियो । तर, साँझको अन्धकारमा पनि लेगुवामा स्थानीय जनता पर्खिरहेका रहेछन् । आधा घन्टाको छोटो कार्यक्रम गरेर अरूण तरेर भोजपुरतिर लाग्यौं । अर्थात् लिम्बू भूमि छाडेर खम्बू भूमि प्रवेश गर्‍यौं ।

किरात सभ्यताअन्तर्गत लिम्बू र खम्बूलाई यही अरूण नदीले छुट्याएको छ । अरूणपूर्व लिम्बू र पश्चिम खम्बूको भूमि हो । खासगरी ताप्लेजुङ, पाँचथर, इलाम, तेह्रथुम, धनकुटा लिम्बूहरूको घनिभूत बसोबास भएका जिल्लाहरू हुन् भने, भोजपुर, खोटाङ, ओखलढुंगा, उदयपुर राईहरूको बाक्लो बसोबास भएका जिल्लाहरू हुन् । संखुवासभामा तुलनात्मक रूपमा लिम्बुभन्दा राईकै घनत्व देखिन्छ, त्यस्तै झापा, मोरङमा लिम्बू र सुनसरीमा राईको वर्चस्व भेटिन्छ ।

भोजपुरको जरायोटारमा पनि स्थानीयहरू बाबुराम भट्टराईलाई हेर्न र भेट्न पर्खिरहेका रहेछन् । उहाँ निक्कै थाक्नुभएको थियो । जनताले पर्खिरहेका छन् भन्ने थाहा पाएपछि उहाँ जनतासँग भेट्न तयार हुनुभयो । जनताले आत्मीय माया दिएपछि हामी सबैको थकान चट् भयो । मायामा असीमित ऊर्जा हुन्छ भनेको त्यसै होइन रहेछ । जरायोटार पुरै सुख्खा रहेछ । सिचाइको त कुरै छाडौं खानेपानीको समेत समस्या रहेछ । यहाँका जनताको मात्रै दुईवटा माग थियो– पहिलो, पानी र दोस्रो, बाटो । मध्यपहाडी लोकमार्गले धेरैको घरबास उठाउने पिरलो यहाँका जनतामा पनि थियो ।

प्याउलीको चिसो

राति निक्कै अबेर प्याउली बजार पुग्यौं । सङ्गठनात्मक आधार कमजोर भएको जिल्ला । अझ प्याउलीकै कुरा गर्ने हो भने एकजना सम्पर्क व्यक्ति पनि नभएको बजार । विष्णु कार्कीलगायत साथीहरू जसले भोजपुरको व्यवस्थापन गर्ने जिम्मा लिनुभएको थियो, उहाँहरू भने व्यवस्थापनमा समस्या नआउने विश्वास व्यक्त गरिरहनु भएको थियो । तर मलाई विश्वास लागिरहेको थिएन । परशुराम दाइको ससुराली जिल्ला रहेछ भोजपुर । उहाँले ढुक्क हुनुहोस् व्यवस्थापनमा केही समस्या आउँदैन भन्नुभयो । मदन दाइले आजदेखि सुनकोसी नतर्दासम्म व्यवस्थापनको जिम्मा मेरो भयो, आजदेखिको कमान्डर म हुँ । कसैले चिन्ता गर्नुपर्दैन भन्नुभयो । दुईजना सीनियर नेताहरूले यति भनेपछि चाहिँ म ढुक्क भएँ ।

गाउँपालिका कार्यालयमा पालिका प्रमुख गजेन्द्र कार्की लगायत झन्नै सयभन्दा बढी जनता पर्खिरहेका रहेछन् । उत्तर हिमालबाट सिधै ठोक्किन आइपुग्ने हिमाली हावाले हामी सबैको सातो खाइरहेको थियो । गिलास भरीभरी चिया खाएपछि बल्ल अलि जिउ तातियो । प्रमुखज्यूले खाना र बासको प्रबन्ध मिलाउनुभएको रहेछ । बिहान यही प्राङ्गणमा ८ बजे कार्यक्रम गर्ने सल्लाहकासाथ खाना र बासतिर लाग्यौं ।

(फागुन १५ मा लोकार्पण हुन लागेको श्रेष्ठको पुस्तक ‘मध्यपहाड यात्रा’बाट)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment