Comments Add Comment

वन क्षेत्रको डम्पिङ साइडमा फोहर फाल्न स्थानीयको अवरोध

धार्मिक वन क्षेत्रको ‘डम्पिङ साइड’ हटाउन माग

११ फागुन, गोरखा । गोरखा नगरपालिका–९ हात्तिगौडास्थित गोरक्षनाथ धार्मिक वन क्षेत्रको ‘डम्पिङ साइड’ हटाउन स्थानीयले माग गरेका छन् । स्थानीय टोल विकास संस्था तथा महिला समूहले केही दिनदेखि सो क्षेत्रमा फोहर फाल्न दिएका छैनन् ।

फोहरमैला व्यवस्थापन गर्न बारम्बार आग्रह गर्दा नगरपालिकाले बेवास्ता गरेको उनीहरुको गुनासो छ । ‘एक हप्ताभित्र वैकल्पिक उपाय खोज्न भनेर हामीले गत माघ २५ गते लिखित रुपमा नगरपालिका र वडा कार्यालयलाई निवेदन बुझाएका थियौं,’ पदेलडाँडा टोल विकास संस्थाका अध्यक्ष नारायण कमरले भने, ‘केही प्रतिक्रया नआएपछि फागुन ४ गते बिहान हामी सबै बसेर यो क्षेत्रमा फोहर फाल्न नदिने निर्णय गरेका हौं ।’ फोहर फाल्न आउने गाडीलाइ स्थानीयले फर्काइदिने गरेका छन् । स्थानीयका अनुसार दैनिक सेफ्टि ट्याङकीको चार र फोहरको पाँच गाडीले त्यहा फोहर डम्पिङ गर्थे ।

डम्पिङ साइड व्यवस्थित नहुँदा समस्या भएको गुनासो स्थानीयको छ । ‘घाँस दाउरा गर्ने र वस्तुभाउ चराउने ठाउँ हो यो,’ स्थानीय गणेश थापाले भने, ‘घरपालुवा जनावरलाई समेत फोहरले नकारात्मक असर पारेको छ, तर नगरपालिकालाई केही मतलब छैन ।’ डम्पिङ साइडका कारण दुर्गन्ध समेत बढेको उनले बताए । ‘यहाँको दुर्गन्ध घरसम्मै आइपुग्छ, जाडोमा त ठिकै हो तर गर्मीमा घरमै बसिसक्नु हुदैन,’ उनले भने ।

खेतियोग्य जमिनमा समेत असर परेको स्थानीयको गुनासो छ । ‘१५ लाख खर्च गरेर तारजाली पनि लगाएका थिए, तर दाउरा र मुढा हालेजस्तो गरेर पैसा मात्र सके, अहिले आधा जति फोहर लुदी खोलामा मिसिन पुगेको छ,’ उनले भने । वरपर रहेका सालका रुखहरु समेत मर्न थालेको उनले बताए ।

२०५४ सालदेखि नगरपालिकाले १४ वटै वडाका फोहार उक्त वन क्षेत्रमा फाल्दै आएको छ । यस अघि नगरपालिकाले जुगेपानी खोल्सामा डम्पिङ साइड बनाएको थियो । दुर्गन्ध फैलिएको भन्दै स्थानीयले विरोध गरेपछि २०७० सालबाट हात्तिगौडामा डम्पिङ साइड बनाइयो ।

फोहर व्यवस्थापन गरिए वापत यस क्षेत्रको विकासका लागि भन्दै गोरखा नगरपालिकाले २०६६ सालदेखि वार्षिक तीन लाख रकम उपलब्ध गराउँदै आएपनि जनप्रतिनिधि आएपछि रकम नआएको थापाले गुनासो गरे । ‘२०६८ सालमा तीन लाख बाट पाँच लाख रकम पुर्‍याएको थियो, तर स्थानीय तहको निर्वाचन भएपछि रकम आउन छाड्यो,’ उनले भने । डम्पिङ साइडका लागि वैकल्पिक व्यवस्था गर्ने प्रतिवद्धतासहित वडाध्यक्षले माइन्युट समेत गरेको उनको भनाइ  छ । उनका अनुसार ‘ल्याण्ड फिल्ड’ साइड खोल्ने नगरपालिका प्रमुखले प्रतिवद्धता समेत जनाएका थिए । तर अहिले वडामा माइन्युट समेत नभएको उनले बताए । ‘वडाको माइन्युट वडामै हरायो, नगरपालिकाको माइन्युट नगरपालिकामै हरायो, हाम्रो माग कहिले पनि सम्वोधन भएन,’ उनले भने ।

स्थानीयले फोहर फाल्न रोकेपछि अहिले गोरखा बजार क्षेत्रको फोहर उठ्न सकेको छैन । सो क्षेत्रमा फोहर फाल्न नदिने स्थानीयले अडान लिएका छन् ।

गोरखा नगरपालिकाले डम्पिङ साइडका लागी अन्यत्र ठाउँ हेरिरहेको बताएको छ । ‘वडा नम्वर ८ को आपस्वाँरा गरागैरी भन्ने ठाउँ प्रस्ताव गरेका छौ,’ वातावारण अधिकृत ध्रुव घिमिरेले भने, ‘त्यहाँको समुदाय, वन समूह लगायत सरोकारवालासँग छलफल गरेर सहमित जुटाउँछौ ।’ भोलीसम्म टुङ्गो लाग्ने उनले आश्वासन दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment