Comments Add Comment

प्रश्नपत्र बाहिरिएपछि पोखरामा डाक्टरको परीक्षा रद्द

११ फागुन, पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले पहिलो पटक सञ्चालन गर्न लागेको स्नातकोत्तर मास्टर इन डक्टरेट (एमडी) र मास्टर इन सर्जरी (एमएस) तहको परीक्षा नै रद्द भएको छ । शनिबार एमडी र एमएसको परीक्षा तोकिएको थियो ।

प्रश्नपत्र बाहिरएको भन्दै केही विद्यार्थीले बहिष्कार गरेपछि परीक्षा स्थगित भएको हो । लोकसेवातर्फ ९ र खुल्लातर्फ ८ गरी १७ सिटका लागि डाक्टरहरुले आवेदन दिएका थिए । ४१ सय रुपैयाँ तिरेर १ हजार ३७ जनाले परीक्षाका लागि फारम भरेका थिए ।

परीक्षा दिन १ हजार १२ जना उपस्थित रहेको प्रतिष्ठानका निर्देशक अर्जुन आचार्यले जानकारी दिए । तर, त्यसमध्ये केहीले प्रश्नपत्र नै बाहिरिएको, धाँधली भएको भन्दै परीक्षा बहिष्कार गरेपछि विवाद उत्पन्न भएको थियो ।

अमरसिंह नमूना मावि केन्द्रमा २ बजे परीक्षा हुने भएपछि परीक्षार्थीहरु समयमै पुगेका थिए । परीक्षा नै १ घन्टा ढिला गरी ३ बजेमात्रै सुरु भएको थियो ।

‘१ घन्टापछि मात्र परीक्षा सुरु भयो । परीक्षा सकेर निस्कँदै गर्दा खल्ती छाम्दै पठाउँदै गरियो,’ परीक्षामा सहभागी विशाल सापकोटाले भने, ‘बाहिर जाँदा पो बल्ल थाहा भयो, प्रश्नपत्र बाहिरिएको र केहीले बहिष्कार गरेको भनेर ।’

प्रश्नपत्र बाहिरिएको र मिलेमतोसमेत भएको भन्दै बहिष्कार र विवाद भएपछि परीक्षार्थीले पुनः परीक्षा गर्न माग गरेका थिए । शनिबार अबेरसम्मै परीक्षा समितिको बैठक बसेको थियो । राति ११ बजे परीक्षा रद्ध गर्ने निर्णय गर्दै समितिले आइतबार सूचना जारी गरेको छ ।

प्राविधिक कारणले परीक्षा स्थगित गर्नुपरेको र अर्को सूचना प्रकाशित गरी परीक्षाको मिति तय हुने प्रतिष्ठानले जनाएको छ । ३ बज्नै लाग्दा पनि परीक्षा सुरु नभएपछि परीक्षा दिन पुगेका केहीले सोधखोज गर्न थालेका थिए । उनीहरुले प्रश्नपत्र नै बाहिएको खबर सुनेपछि होहल्ला सुरु भएको थियो ।

प्रतिष्ठानले गएको पुस ०७ गते भर्नाका लागि एक महिने सूचना निकालेको थियो । प्रतिष्ठानका उपकुलपति वुद्धिबहादुर थापाले परीक्षा सुरु भइसकेपछि मात्र प्रश्नपत्र बाहिरिएको बताउँछन् । ‘कतै परीक्षा सुरु भइसकेको थियो । कतै ढिला गरी सुरु हुँदै रहेछ,’ थापाले भने, ‘विवाद आएपछि परीक्षा रद्ध गरिएको छ । कारणबारे छलफल र अनुसन्धान भइरहेको छ ।’

पहिलो गासमै ढुंगा

नेपाल मेडिकल काउन्सिलको मापदण्ड पूरा गरेपछि यसै वर्षदेखि एमडी र एमएसको पढाई हुन लागेको हो । प्राज्ञिक परिषदबाट पेश भएको कार्यक्रम दोस्रो सभाबाट पारित गरेर चिकित्सा शिक्षालाई प्रतिष्ठानले अगाडि बढाएको छ ।

गत वर्ष नेपाल मेडिकल कलेजले प्रतिष्ठानको निरीक्षणपछि स्नातकोत्तर अध्यापनका लागि स्वीकृत प्रदान गरेको थियो । यही जेठमा फेरि काउन्सिलकै विज्ञ टोलीले निरीक्षण गरी प्रतिवेदन बुझायो । त्यही प्रतिवेदनअनुसार प्रतिष्ठानको सिट संख्या र विधा चिकित्सा शिक्षा आयोगमा सिफारिस गरिएको थियो ।

प्रधानमन्त्रीको संयोजकत्वमा १ असोजमा बसेकोे आयोगको बैठकले ६ विद्यामा पढाउने गरी १७ सिट संख्या तोकेको थियो । जनरल सर्जरीमा र प्रसुति तथा स्त्रीरोगमा ४ र ४ वटा सीट संख्या छ । हाडजोर्नीमा ३, जनरल मेडिसिन २, बालरोग २ र ऐनेस्थेसियोलोजीमा २ गरी १७ सीट संख्या स्वीकृत भएर अध्यापन थाल्न लागेको हो ।

स्वास्थ्य विज्ञानको क्षेत्रमा उच्चस्तरीय अध्ययन र अनुसन्धानको व्यवस्था गरी मुलुकलाई आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य प्रतिष्ठानको छ । लोकसेवा पास गरेका र दुर्गममा काम गरेका विद्यार्थीलाई छात्रवृत्तिमा एमडी र एमएसको पढाइ गर्ने तयारी प्रतिष्ठानको छ ।

विद्यार्थी भर्ना मापदण्ड तोकेर एमडी र एमएसको ३ वर्षे कोर्ष सुरु गर्न लागेको प्रतिष्ठानलाई प्रश्नपत्रको विवादले पहिलो गासमै ढुंगा लागेको छ ।

स्नातकोत्तर तहबाट सुरु गरी एमबिबिएस, नर्सिङ, जनस्वास्थ्य, एलाइड हेल्थ सास्न्सेज, डीएम र एमसीएच जस्ता विशेषज्ञ कार्यक्रम सञ्चालन गर्न पूर्वाधार तयार पार्ने काम पनि सुरु भइसकेको उपकुलपति बुद्धिबहादुर थापाले जानकारी दिए ।

प्राज्ञिक कार्यक्रम चलाउन एमडी र एमएस गरेका सबै विभागका चिकित्सकलाई शिक्षकको जिम्मेवारी दिइएको छ । एमडी र एमएसको अध्यापन सञ्चालन गर्न खोजिएको ६ वटा विभागका चिकित्सकलाई जिम्मेवारी तोकिसकेको छ ।

२०७२ सालमा प्रतिष्ठान ऐन आएपछि त्यसको अर्को वर्ष प्रतिष्ठानमा उपकुलपति नियुक्त भएका थिए । २०७४ को जेठमा डीन र निर्देशकको नियुक्ति भई प्रतिष्ठानले काम अगाडि बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment