Comments Add Comment

सम्पदा पुनर्निर्माणमा ठेक्का भन्दा उपभोक्ता समिति प्रभावकारी

१२ फागुन, काठमाडौं । काठमाडौं उपत्यकामा उपभोक्ता समितिमार्फत गरिएको सम्पदा पुनर्निर्माणमा प्रगति राम्रो देखिएको छ ।

०७२ को भूकम्पले क्षति पुगेका काठमाडौं उपत्यकाका ४ सय ३२ सम्पदामध्ये एक दर्जन भन्दा बढी सम्पदा उपभोक्ता समितिमार्फत पुनर्निर्माण सकिएको छ भने अन्य दर्जनौं निर्माणको चरणमा छ ।

निर्माण व्यवसायीलाई ठेक्का दिइएको भन्दा उपभोक्ता समितिमार्फत भएको पुनर्निर्माण सन्तोषजनक देखिएको पुरातत्व विभागले जनाएको छ ।

स्थानीय उपभोक्ता समितिलाई सम्पदा पुनर्निर्माणको जिम्मा दिँदा मौलिकता कायम हुने र तोकिएको समयभित्र काम पनि सकिने देखिएको विभागको भनाइ छ ।

उपभोक्ताले अघि बढाए रानीपोखरी पुनर्निर्माण

पुनर्निर्माणका क्रममा विवाद भएर ४ वर्षसम्म रोकिएको रानीपोखरी पुननिर्निर्माणको प्रगति उपभोक्ता समितिले जिम्मा लिएपछि राम्रो देखिएको छ ।

रानीपोखरी सहजीकरण समितिलाई गत बर्ष चैतमा पोखरी निर्माणको लागि जिम्मा दिइएको थियो । हाल पोखरी निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

काठमाडौं महानगरपालिकाले निर्माण व्यवसायीमार्फत अघि बढाएको रानीपोखरी पुननिर्माणमा विवाद भएपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पोखरी निर्माणको काम उपभोक्ता समितिलाई जिम्मा दिएको थियो ।

काष्ठमण्डपमा ६० प्रतिशत प्रगति

भूकम्पको झण्डै ३ बर्षसम्म सुरु हुन नसकेको काष्ठमण्डपको पुनर्निर्माण ०७५ वैशाखमा उपभोक्ता समितिले जिम्मा लिएपछि अघि बढेको थियो । अहिले यसको पुननिर्माण ६० प्रतिशत भइसकेको छ ।

त्यस्तै असनको टेवहाल मन्दिर पनि उपभोक्ता समितिले नै पुनर्निर्माण सकेको छ । स्वयम्भुको महाचैत्य, गुठी घर, किलागढ, हनुमानढोका, बसन्तपुर दरबारलगायतका सम्पदा पनि उपभोक्ता समितिमार्फत नै निर्माण भएको हो ।

यस्तै ललितपुर महानगरपालिकामा पाटनको देँगु तलेजु र रातो मछिन्द्रनाथको मन्दिर पनि उपभोक्ता समितिबाट सुरु गरिएको छ ।

भक्तपुरको अधिकांश सम्पदाको पुनर्निर्माण उपभोक्ता समितिबाटै भइरहेका छन् ।

ठेक्का प्रक्रियाबाट पुनर्निर्माण भइरहेको धरहरा, त्रिपुरेश्वर महादेव मन्दिरलगायतका सम्पदाको पुनर्निर्माण सक्न अझै केही समय लाग्ने भएको छ ।

काठमाडौंमा धेरैजसो उपभोक्ता समितिबाटै

काठमाडौं महानगरपालिकाले मात्रै ८० प्रतिशत पुनर्निर्माणको काममा उपभोक्ता समितिमार्फत गराएको महागरपालिकाको सम्पदा विभागका प्रमुख राम थापाले बताए ।

‘महानगरभित्रका सम्पदाहरुको पुनर्निर्माणदेखि मर्मत सम्भारसम्मको काम उपभोक्ता समितिबाट गराउँछौं’ उनले भने ।

उपभोक्ता भेटिनै गाह्रो

पुरातत्व विभागका प्रवक्ता रामबहादुर कुँवरले विश्व सम्पदा सूचीमा सुचिकृत सम्पदा पुनर्निर्माण गर्न उपभोक्ता भेट्नै गाह्रो पर्ने बताए ।

‘ठूला सम्पदा पुनर्निर्माणको लागि उपभोक्ता समिति बनाउन मुश्किल हुन्छ । त्यसकारण पनि ठूला सम्पदाको पुनर्निर्माणका लागि ठेक्का लगाउनुपर्ने बाध्यता हुन्छ’ उनले भने ।

उनका अनुसार ठेक्का प्रक्रिया झझटिलो हुने भएकाले पुनर्निर्माण पनि सुस्त हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment