Comments Add Comment

संसदमा विपक्षी तीन दलको सहकार्य : बोल्न दिए भोलि संसद अवरुद्ध नगर्ने

Photo Credit : अनलाइनखबर फाइल ।

१२ फागुन, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले संसदमा समाजवादी र राष्ट्रिय जनता पार्टी (राजपा नेपाल)को साथ खोजेको छ । निवर्तमान सञ्चारमन्त्री गोकुल बास्कोटाको अडियो प्रकरणमा प्रधानमन्त्रीको जवाफ माग गर्दै आएको कांग्रेसले संसदभित्र मुद्दाका आधारमा सहकार्य गर्ने प्रस्ताव राखेको छ ।

सिंहदरबारमा भएको छलफलमा समाजवादी र राजपाले कांग्रेसको प्रस्ताव स्वीकार गरेका छन् ।

अब भोलि संसदमा कांग्रेससँगै राजपा र समाजवादी पार्टीका सांसदहरुले यसबारे बोल्नेछन् । ‘भोलिको बैठकमा हामी आफ्नो कुरा राख्छौं । राजपा र समाजवादीका तर्फबाट पनि कुरा उठाउनुहुन्छ । हामीले उठाएको कुरामा अरु पार्टीको समर्थन आउँदा थप सार्थकता पाउँछ । अहिलेको सहकार्य यही हो’ सचेतक भुसालले भनिन् ।

त्यसमा सहमति जनाउँदै राजपा सांसद लक्ष्मणलाल कर्णले भन्छन्, ‘संसदको अवरोध खुलाउने क्रममा हामीलाई पनि बोल्न दिनुपर्छ भनेका छौं । यसमा कांग्रेसले साथ दिने र संसदको जारी अवरोधलाई हटाउने भन्ने भएको छ ।’

विपक्षी दलहरुलाई बोल्न नदिए सदनको अवरोध कायमै रहनसक्ने विपक्षी दलहरुले बताएका छन् ।

संसद बैठक भोलि मंगलबार १ बजे बोलाइएको छ । बैठक कार्यव्यवस्था परामर्श समितिको बैठक बस्नेछ, जसले संसद बैठकको कार्यसूचीलाई अन्मि रुप दिनेछ ।

विपक्षी तीन दलकाअनुसार कार्यव्यवस्थापछि थप रणनीति बनाएर अगाडि बढ्ने सहमति भएको छ ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा ७० करोड कमिसन मागेको अडियो सार्वजनिक भएपछि कांग्रेसले सञ्चारमन्त्री बास्कोटालाई बर्खास्त गर्नुपर्ने, प्रधानमन्त्रीले जवाफ दिनुपर्ने र छानविन गरेर कानूनी कारबाही गर्नुपर्ने माग राखेर संसद अवरुद्ध गरेको थियो । बास्कोटाले त्यही दिन राजीनामा दिइसकेका छन् भने यसबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी पनि गरेको छ ।

समाजवादी पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरियाले पनि सदनभित्र कांग्रेससँग सहकार्य गर्न आफूहरु सकारात्मक भएको बताए । उनले भने, संसदको अवरोध खुलाउने र सदनभित्र प्रतिपक्षीय भूमिकाको विषयमा कुरा भएको हो ।’

सिंहदरबारस्थित राजपा नेपालका अध्यक्षमण्डलका सदस्य महत्थ ठाकुरको कार्यकक्षमा भएको छलफलमा कांग्रेस सचेतक भुसाल र नेताद्धय ज्ञानेन्द्र बहादुर कार्की र अत्तहरकमाल मुसलमान, समाजवादीका प्रमुख सचेतक अरगरिया, राजपाका अध्यक्ष मण्डलका सदस्य ठाकुर र सांसद लक्ष्मणलाल कर्ण सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment