Comments Add Comment

काठमाडौं महानगरमा सवारीको चरम दुरुपयोग

वडामा विद्युतीय सवारी किन्न सिफारिस

१२ फागुन, काठमाडौं । काठमाडौं महानगरपालिकाका सवारी साधन र इन्धनको चरम दुरुपयोग भइरहेको पाइएको छ । यतिसम्म कि महानगरसँग आफ्नो स्वामित्वमा कति सवारी छन् र कसले उपयोग गरिरहेको छ भन्ने तथ्यांक समेत छैन ।

सवारी साधन व्यवस्थापन, सुविधाका रुपमा दिइने इन्धन नियमन र थप सवारी साधनको आवश्यकताबारे अध्ययन गर्न कार्यपालिका बैठकले १७ मंसिरमा वडा १६ का अध्यक्ष मुकुन्द रिजालको संयोजकत्वमा समिति गठन गरेको थियो ।

समितिमा वडा नं. ७ का अध्यक्ष शुद्धकुमार डंगोल, ९ का अध्यक्ष रामकृष्ण जयखु श्रेष्ठ, २६ का अध्यक्ष ख्यामराज तिवारी, कार्यपालिका सदस्य लक्ष्मी श्रेष्ठ सदस्य तथा महानगरको यन्त्र तथा उपकरण महाशाखाका प्रमुख पुरुषोत्तम शाक्य समितिको सदस्य सचिव थिए । समितिले तीन महिना लगाएर गरेको अध्ययन प्रतिवेदन मेयर विद्यासुन्दर शाक्यलाई प्रतिवेदन बुझाएको छ ।

समितिकाअनुसार महानगरका सवारी र इन्धनको ब्यापक दुरुपयोग भएको पाइएको छ । साथै, यसमा महानगरका विभागीय प्रमुखदेखि तल्ला तहसम्मका कर्मचारी संलग्न भएको अध्ययन समितिको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

यतिसम्म कि महानगरको स्वामित्वमा कति सवारी छन् र ती सवारी साधन कहाँ, कसले, कसरी उपयोग गरिरहेका छन् भन्ने पूर्ण विवरण समेत छैन । ‘महानगरमा ५५ देखि ६० वटा चारपांग्रे सवारी रहेछन्, माोटरसाइकल त कति छन् भन्ने विवरण नै भेटिएन,’ समितिका एक सदस्य भन्छन्, ‘त्यसको व्यवस्थिति अभिलेख नै राखिएको रहेनछ । विगतमा विभागीय हाकिमलाई खुसी पार्न कर्मचारीले मोटरसाइकल किनिदिने गरेका रहेछन्, तर अहिले कहाँ छन् पत्तो छैन ।’

उपलब्ध सवारी साधानको विवरण प्रतिवेदनमा समेटिएको छ । फोहोर बोक्ने सवारीबारे भने समितिले खोजविन गरेन । जबकी अहिले महानगरका फोहोर बोक्ने सवारी निजी कम्पनीले कौडीको भाउमा प्रयोग गरिरहेको स्रोतको दाबी छ ।

समितिका सदस्यकाअनुसार महानगरका अधिकांश सवारीको वार्षिक रुपमा तिनुपर्ने कर पनि तिरिएको छैन ।

कतिपय विभागीय प्रमुखले दुई वटा गाडी प्रयोग गरिरहेको पाइएको छ । कतिपय गाडीमा सेतो नम्बर प्लेट नराखी रातो राखिएको पाइएको छ, जुन कर्मचारीको परिवार तथा आफन्तले प्रयोग गर्ने गरेका छन् । यसैगरी कतिपय सवारीलाई महानगरका कर्मचारीले लिएदेखि नै फिर्ता नगर्नेर पेवा बनाएको खुलेको छ ।

अरु के-के छन् सिफारिसमा ?

प्रतिवेदनमा महानगरले सवारीको आवश्यकताभन्दा बढी इन्धन सुविधा दिइएको भन्दै घटाउन सिफारिस गरिएको छ । समितिले विभागीय प्रमुखले पाउँदै आएको १०० लिटर इन्धन सुविधालाई घटाएर ८० लिटर झार्न सुझाव दिएको छ ।

चारपांग्रे सवारीका लागि दिइँदै आएको ८० लिटर इन्धन घटाएर ६० लिटर बनाउन भनेको छ भने अधिकृत स्तरका कर्मचारीले प्रयोग गर्ने दुई पांग्रे सवारीमा १० लिटर इन्धनबाट बढाएर १५ बनाउन र सहायक स्तरका कर्मचारीले प्रयोग गर्ने दुई पांग्रे सवारीका लागि ७ लिटर इन्धन दिने सुझाव दिइएको छ ।

छैटौं र सातौं तहका कर्मचारीलाई मोटरसाइकल सुबिधा दिन पनि समितिले सिफारिस गरेको छ ।

यसैगरी अब कर्मचारीको ३ वर्षभित्रको तलबबाट मासिक रुपमा काटिने गरी उसकै स्वामित्वमा रहने गरी मोटरसाइकल किनिदिन पनि सुझाव दिएको छ ।

वडा कार्यालयलाई ५ जनाभन्दा बढी अट्न सक्ने वातावरणमैत्री विद्युतीय सवारी खरिद गर्न सिफारिस गरिएको छ । विभागीय प्रमुख एउटा बिभागबाट अर्को विभागमा सरुवा हुँदा सवारी लैजान रोक लगाउन पनि भनिएको छ ।

उचित व्यवस्थापन गर्न सवारी साधनमा महानगर र विभागको नाम लेख्नुपर्ने प्रतिवेदनमा उल्लेख छ । यस्तै महानगरपालिकाका कर्मचारीलाई ड्राइभिङ तालिम दिलाएर चालकको सुविधा खोस्नुपर्ने पनि प्रतिवेदनले सुझाइएको छ ।

व्यवस्थापन हुन्छः मेयर

प्रतिवेदन बुझ्दै मेयर शाक्यले कार्यपालिका बैठकमा छलफलका लागि पेश गर्ने बताएका छन् ।

सुबिधा नलिनु पर्नेले पाएको र पाउनु पर्नेले नपाएको हुनसक्ने भन्दै उनले सवारी साधनको प्रयोगले कार्यालयलाई कति फाइदा पुग्यो भनेर हेर्न सुरु गरिने बताए । ‘सवारी चलाउने चालकको सट्टा आफैं सवारी चलाउने कुरालाई प्रोत्साहन गर्नुपर्छ,’ मेयर शाक्यले भनेका छन्, ‘कार्यालयको कामलाई सहज बनाउन मितव्ययी सवारी सञ्चालन गर्ने दिशामा सबैको ध्यान जानुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment