+
+

ओली-यती प्रेम : अढाइ लाखको उडान, ३२ हजारको केक !

अख्तियारका पूर्वप्रमुख भन्छन्- केकले शंका बढायो

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन १२ गते २०:२१

१२ फागुन, काठमाडौं । ‘यो यती होल्डिङ्स, मानिलिउँ हाम्रो कुनै एकदम घनिष्ट साइनो हो कि मितेरी साइनो हो कि, केही हो कि भनेजसरी व्याख्या हुने गरेको छ,’ १५ माघमा पार्टी केन्द्रीय कमिटी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले भनेका थिए, ‘म एकदम खुलस्त भन्न चाहन्छु, व्यापारिक घरानाबीचको अस्वस्थ प्रतिस्पर्धामा हामी पर्दैनौं । अहिलेको सरकार भ्रष्टाचारका पछाडि, पैसाका पछाडि कुद्दैन ।’

आफ्नो पार्टीका नेताहरुलाई यति होल्डिङ्स र सरकारबीचको सम्बन्धबारे यसरी प्रष्ट्याएको करिब एक महिनामा तेह्रथुमको जन्मघर पुगेका प्रधानमन्त्री ओलीले त्यही यतीको केक काटेर आफ्नो जन्मोत्सवलाई भव्य बनाए ।

यतीले बालुवाटरको चिनियाँ दूतावास अगाडिको बिग केकमा अर्डर गरेको उक्त केक ११ फागुनमा हेलिकोप्टरबाट प्रधानमन्त्री ओलीछेउ पुर्‍याइएको थियो ।

बिग केकले त्यो डिजाइनको केक प्रतिपाउन्ड ८०० रुपैयाँमा बेच्छ । प्रधानमन्त्रीका लागि बनाइएको केक ४० पाउन्डको थियो । त्यो हिसाबले प्रधानमन्त्रीले आइतबार यतीको सौजन्यमा ३२ हजार रुपैयाँको केक काटे ।

काठमाडौंबाट केक तेह्रथुम पुर्‍याउन चार्टर गरिएको हेलिकप्टरको भाडा कम्तिमा साढे दुई लाख हुन्छ । यती होल्डिङ्सका मालिक सोनाम शेर्पा आफैं केक लिएर तेह्रथुम पुगेका थिए ।
ओली सरकारले यतीप्रति देखाएको प्रेम छताछुल्ल भइसकेको छ ।

पछिल्लोपटक लिज अवधि सकिन ६ वर्ष बाँकी छँदै यतीलाई अरु २५ वर्षको म्याद थप गरेर गोकर्ण रिसोट दिएको थियो, त्यो पनि ऐन संशोधन गरेर । यतीले अन्य विभिन्न स्थानका सार्वजनिक जग्गा, राष्ट्रिय वन तथा निकुञ्जका क्षेत्रहरु पनि प्रयोग गर्न पाएको छ ।

यती होल्डिङ्स प्रकरणमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी -नेकपा) कै नेताहरूले श्वेतपत्र जारी गर्न माग गरिरहेका छन् । श्वेतपत्र जारी गर्ने जिम्मा उप-प्रधानमन्त्री ईश्वर पोखरेलले पाएका छन् । यतीलाई जग्गाको लिज अवधि थप्ने निर्णय पोखरेल अध्यक्ष रहेको नेपाल ट्रस्टले गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्याय प्रधानमन्त्रीले विवादित ब्यापारिक समूहको केकले आफ्नो जन्मोत्सव मनाउनुले जनतामा शंका बढाएको बताउँछन् । ‘अब त प्रधानमन्त्रीले नै जनतालाई कुरा यसो हो है भनेर जवाफ दिनुपर्छ,’ उपाध्याय भन्छन्, ‘उठेको शंका निवारण गर्ने काम उहाँकै हो ।’

कुवाका भ्यागुताले विरोध गरे- थापा

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा भने तेह्रथुमबासी, प्रधानमन्त्रीका परिवार र शुभचिन्तकहरुले प्रेमपूर्वक केक प्रस्तुत गर्दा कुवाका भ्याकुताहरुले विरोध गरेको बताउँछन् ।
‘देशको प्रधानमन्त्रीको जन्मदिन मनाउने कार्यक्रममा जो पनि पुग्न सक्छ, त्यहाँ यती समूह जान नहुने भन्ने छैन,’ थापा भन्छन्, ‘संसार नदेखेका कुवाका भ्यागुताहरुले यसको विरोध गरेका हुन् ।’

प्रधानमन्त्रीले उद्घाटन गरेको खानेपानी आयोजना लगायतलाई छायाँमा पार्न केकको विरोध भएको थापाले बताए । ‘यत्रो जन्मोत्सवमा राज्यको ढुकुटीबाट एक रुपैयाँ खर्च भएको छैन,’ थापा भने, ‘जनस्तरबाट भएको कार्यक्रमको विरोध गर्न केही मिडिया हात धोएर लागेका छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?