Comments Add Comment

नारायणीको ‘मिनी क्रुजसिप’मा गृहमन्त्री

१३ फागुन, चितवन । गृहमन्त्री रामबहादुर थापा (बादल)ले चितवनको नारायणी नदी किनारमा निर्माण भैरहेको मिनी क्रुजसिपमा चढेर अवलोकन गरेका छन् । विहान करिब ८ बजे कु्रजसिप निर्माण भैरहेको भरतपुर महानगरपालिका १६ को काप्रेघाट पुगेका गृहमन्त्री थापाले ३० मिनेट नारायणी नदीमा क्रुजमा शयर गरे ।

क्रुज निर्माण गरिरहेको राइनो वाटर इन्टरटेन्मेन्ट प्रा.लिका सञ्चालक थानेश्वर कँडेलका अनुसार गृहमन्त्री बादल भगेरथानदेखि ज्ञानेश्वरसम्म क्रुजसिप चढेर यात्रा गरेका थिए । गृहमन्त्री बादलसहित चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई, गृहमन्त्रीका राजनीतिक सल्लाहाकार सूर्य सुवेदी ‘पथिक’ पनि उपस्थित थिए ।

गृहमन्त्री थापाले क्रुज निर्माण चितवनको पर्यटनको क्षेत्रमा महत्वपूर्ण कोशेढुंगा रहेको बताए । उनले भने ‘यसबारेमा मैले पहिल्यै सुनेको थिएँ, तर आउने भन्दाभन्दै समय मिलेको थिएन, यसपटक आउँदा निकै खुसी लाग्यो ।’ क्रुज निर्माणका लागि सरकारले आवश्यक सहयोग गर्ने आश्वासन गृहमन्त्री थापाले दिए ।

यो पनि पढ्नुहोस नारायणीमा ‘मिनी पानीजहाज’को सफल परीक्षण (भिडियोसहित)

सरकारले राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिलाई राष्ट्रिय वन क्षेत्रको १ हेक्टर जमिन हालै मात्रै उपलब्ध गराएको छ । क्रुज निर्माण अन्तिम चरणमा पुगेको छ । सञ्चालक थानेश्वर कँडेलका अनुसार १५ दिनभित्र सबै काम सकिने छ । झण्डै १५ करोडको लागतमा तयार गरिएको क्रुजसिपभित्र साँस्कृतिक कार्यक्रम गर्दा आवश्यक ड्रेस चेन्जिङ रुम बनाउने, ट्वाइलेट, रिसेप्सन, किचन, पानी ट्यांकी राख्ने लगायतका काम सकिएका छन् । क्रुजको पहिलो तलामा ९०, दोस्रो तलामा १०० जना अटाउन सक्ने क्षमता छ । पहिलो तलाको अगाडिपट्टि सेल्फी खिच्ने, चलचित्र तथा म्यूजिक भिडियो सुटिङ गर्ने खुला ठाउँ राखिएको छ ।

क्रुज १०० फिट लम्बाइ र २५ फिट चौडाइको छ । गत वर्ष चैतबाट यसको निर्माण थालिएको थियो । क्रुजसिपको सञ्चालनको लागि आवश्यक १५ जना चालक दलका सदस्य र प्राविधिक हाल विदेशी हुने छन् । पछि नेपाली प्राविधिकहरुले नै यसलाई चलाउने योजना छ । क्रुज राख्न पानीको च्यानल काटेर १५ फिट गहिरो पार्किङ स्टेशन बनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment