
१३ फागुन, विराटनगर । विवाहित महिलालाई आत्महत्या गर्न बाध्य बनाएको आरोपमा मोरङ प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सुन्दरहरैचा ६ बस्ने १९ वर्षीया संजिता निरौला र सुन्दरहरैचा ४ बस्ने ऋषिराम भट्टराई छन् । उनीहरुले मोरङको सुन्दरहरैचा नगरपालिका–५ बस्दै आएकी प्रीति तिम्सिना अधिकारीलाई आत्महत्या गर्न बाध्य पारेको आरोप छ ।
नग्न तस्वीर देखाएर ब्ल्याकमेलिङ
८ फागुनमा प्रीतीले आत्महत्या गरेको खबर पाएपछि पुगेको प्रहरीले सुसाइट नोट फेला पारेको थियो । सुसाइट नोटमा दुई वटा फेसबुक एकाउन्टबाट नग्न तस्वीर देखाएर आफूलाई ब्लाकमेलिङ गरेको उल्लेख थियो ।
अनुसन्धानका क्रममा ड्याजलिङ क्वीन र दीपा नाम गरेको फेसबुक आइडीबाट नग्न तस्वीर प्रीतिको म्यासेन्जरमा पठाएर पैसा नदिए भाइरल बनाइदिने डर देखाइएको पाइएको थियो । फेसबुक आइडी चलाउने व्यक्तिको खोजी गर्ने क्रममा प्रहरी ऋषिरामसम्म पुग्यो ।
प्रहरीले अनुसन्धानका क्रममा भट्टराईले एक वर्षयता नग्न तस्वीर देखाएर पैसा असुल्दै आएको स्वीकार गरे । पैसा लिन भने उनले सञ्जितालाई प्रयोग गर्दै आएका थिए ।
प्रीतिले आत्महत्या गर्नुअघि पनि भट्टराईले पैसा नदिए फोटो भाइरल गरिदिने धम्की दिएका थिए । तर उनीसँग पैसा थिएन । मागेजत्ति पैसा दिन नसक्ने भएपछि उनले आत्महत्याको बाटो रोजेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीले सुसाइट नोटका आधारमा पक्राउ परेका दुई जनाविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दामा अनुसन्धान सुरु गरिएको बताए ।
प्रीतिका श्रीमान केही वर्षअघि वैदेशिक रोजगारीमा थिए । अनुसन्धानको क्रममा मृतक र पक्राउ परेकाहरु बीच चिनजान भएको देखिएको प्रहरी बताउँछ ।
प्रतिक्रिया 4