Comments Add Comment

बूढानीलकण्ठ दुर्घटनाका अभियुक्तको नौटंकीमा अस्पतालकै साथ !

काउन्सिल गुहारेर अनुसन्धान गर्ने तयारी

१४ फागुन, काठमाडौं । बूढानीलकण्ठमा भएको कार दुर्घटनाका संलग्न चालक पृथ्वी मल्लमाथि मेडिकल काउन्सिलबाट पनि अनुसन्धान गराउने तयारी गरिएको छ ।

जिल्ला अदालत, काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिए पनि बिरामी भएको नाटक गरेर ४५ दिनदेखि अस्पतालमै बसेपछि मल्ल पुनः छानबिनको दायरामा परेका हुन् । मल्लसँगै उनको उपचारमा संलग्न चिकित्सकमाथि पनि छानबिन हुने स्रोतले बतायो ।

कारागार व्यवस्थापन विभागका महानिर्देशक गजेन्द्रबहादुर श्रेष्ठका अनुसार, डिल्लीबजार कारागारले मल्लको अस्पताल बसाइ अस्वभाविक देखिएको भन्दै लिखित रूपमा पत्राचार नै गरेको छ । जसको आधारमा छानबिन प्रक्रिया अघि बढाइएको उनले अनलाइनखबरलाई बताए ।

स्रोतका अनुसार, यस विषयमा गृह मन्त्रालय पनि जानकार छ । पत्रको बोधार्थ मन्त्रालयमा पनि पठाइएको स्रोत बताउँछ । मन्त्रालयका प्रवक्ता सहसचिव केदारनाथ शर्माले पनि यस विषयमा विभागले नै छानबिन गरिरहेको बताए ।

मन्त्रालयका अर्का एक अधिकृतले थुना छलेर अस्पतालमा बस्ने प्रवृत्तिलाई निरुत्साहित गर्न आफूहरू लागि परेको बताए । स्रोतका अनुसार, प्रारम्भमा कारागारमा रहेको अस्पतालका चिकित्सकमार्फत छानबिन थालिएको छ ।
यो पनि पढ्नुहोस बुढानीलकण्ठ दुर्घटना : बिरामीको नाटक गरेर मल्ल डेढ महिनादेखि अस्पतालमा

कारागारका चिकित्सकले दिने रिपोर्टको आधारमा मेडिकल काउन्सिललाई थप अनुसन्धान र कारबाहीका लागि माग गरिने स्रोतले बतायो । अहिलेसम्म मल्लको रक्तचाप अस्थिर रहेको भन्दै चिरायु अस्पतालले उनलाई डिस्चार्ज गर्न मानेको छैन ।

प्रारम्भमा उनलाई वीर अस्पताल भर्ना गरिए पनि पछि चिरायुमा रेफर गरिएको थियो । यसअघि प्रहरीको न्यायिक हिरासतमा बस्नुपर्ने बेला पनि उनी सोही अस्पतालमा भर्ना गरिएका थिए ।

जेलर अरुण पोखरेलका अनुसार, मल्ललाई डिस्चार्ज गरिदिन भन्दै कारागारले दुईपटक अस्पताल प्रशासनलाई पत्राचार गरिसकेको छ । तर, जवाफ आएको छैन ।

‘हामीले दुईपटक पत्र लेख्दा पनि उहाँहरूले इन्भेस्टिगेसन भइरहेको छ भनेर अल्मल्याइरहनु भएको छ,’ कारागार प्रशासनका प्रमुख जेलर अरुण पोखरेलले अनलाइनखबरसँग भने, ‘अहिले त अस्पतालले हाम्रो फोनै उठाउन छाडिसक्यो ।’

कारागार पुग्नेबित्तिकै बेहोस

बूढानीलकण्ठ–५ मा २८ मंसिरमा बा १४ च ६१२३ नम्बरको कारले ठक्कर दिँदा पैदलयात्रु गोरखा घर भई विष्णुमती बस्ने ४२ वर्षीया लीला देवकोटाको मृत्यु भएको थियो । अत्यधिक मादक पदार्थ सेवन गरेका चालक मल्लले अनियन्त्रित ढंगले कार चलाउँदा देवकाटाको मृत्यु भएको अनुसन्धानबाट खुलेको थियो ।

कारमा मल्लसहित नायिका परमिता राणा, करिश मास्के र एलिना थापा थिए । प्रारम्भममा राणाले आफू कारमा नरहेको बताए पनि पछि फेसबुकमा लामो स्टाटस लेख्दै चार जनाले गरेको मूर्खतापूर्ण निर्णयले एक जना निर्दोषको ज्यान गएको बताएकी थिइन् । उनले भनेकी थिइन्, ‘म चाहन्छु कि यो सत्य नभई एक डरलाग्दो सपना होस् । तर, म पनि कारभित्रको एक यात्रु थिएँ ।’

जिल्ला अदालत, काठमाडौंले यो प्रकरणमा मल्ललाई सवारी ज्यानसम्बन्धी कसूरमा २३ पुसमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । जसअनुसार उनलाई डिल्लीबजार कारागार चलान गरिएको थियो । तर, कारागार पुग्नेबित्तिकै उनी बेहोस भएको नाटक गर्दै अस्पतालमा भर्ना भएका थिए ।

यसअघि पहुँच भएका व्यक्ति प्रहरीको हिरासत छलेर अस्पतालमा बस्ने गरेको थुप्रै घटना सार्वजनिक भए पनि पुर्पक्ष नै छलेर अभियुक्त अस्पताल बसेको यो नयाँ अभ्यास हो । यस्तो कदमले गलत थिति स्थापित हुने भन्दै सुरक्षा अधिकृतहरूले पनि चिन्ता व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment