Comments Add Comment

घुर ताप्दा जलेर घाइते भएकी सायराको मृत्यु

१५ फागुन, वीरगञ्ज । घुर ताप्ने क्रममा आगोले जलेर घाइते भएकी पर्साको छिपहरमाई गाउँपालिका-५ भिश्वाकी ५० वर्षीया सायरा खातुनको मृत्यु भएको छ ।

जलेर गम्भीर घाइते भएकी सायराको उपचारको क्रममा कीर्तिपुरस्थित वर्न अस्पतालमा बुधबार राति साढे १० बजेतिर मृत्यु भएको हो ।

पैसा नभएकै कारण फागुन ४ गते बिहान आगोले जलेर घाइते भएकी सायराको उपचारमा समस्या भएको थियो । स्थानीय सामाजिक कार्यकर्ताले गाउँपालिकामार्फत एम्बुलेन्सको व्यवस्था गरेपछि नारायणीमा उपचारका लागि ल्याइएको थियो ।

नारायणीमा अभ्यासका लागि गएका हिमाल इन्स्टिच्युट अफ हेल्थ साइन्समा एचए अध्ययनरत विद्यार्थीहरुले खाजा खर्चबाट पैसा जोगाएर उपचारमा सहयोग गरेका थिए ।

पछि वीरगञ्जमा सामाजिक अभियन्ताहरुले उनको उपचारका लागि सहयोग संकलन अभियान सञ्चालन गरेका थिए । सामाजिक सञ्जाल फेसबुकमार्फत सञ्चालित अभियानबाट रकम संकलन हुन थालेपछि उनलाई थप उपचारका लागि फागुन ६ गते कीर्तिपुरस्थित वर्न अस्पतालमा लगिएको थियो ।

अभियानमार्फत ७१ हजार ५ सय संकलन भएको सामाजिक अभियन्ता प्रकाश थारुले जानकारी दिए ।

‘सायराको अवस्था क्रिटिकल थियो, थाइराइड, ब्लड प्रेसरर सुगरको बिरामी हुनुहुन्थ्यो । चिकित्सकले पटकपटक शल्यक्रिया गर्न खोज्दा अनुकुल मिलिरहेको थिएन,’ उनले भने, ‘उपचारमा आर्थिक अभाव नहोस भनेर हामीले सकेको प्रयास गरेका हौं, तर बचाउन सकेनौं ।’

अस्पतालको अन्तिम खर्च विवरण आउन बाँकी रहेको उनले जानकारी दिए ।

काठमाडौंमा सायराको उपचारमा सहयोग गर्दै आएकी नर्स मिरा केसीले पोष्टमार्टमपछि सायराको शव परिवारको जिम्मा लगाउने तयारी भइरहेको जानकारी दिइन् । ‘फार्मेसीमा १६ हजार तीन सय रकम भएको रहेछ, त्यो तिरिसकिएको छ,’ उनले भनिन्, ‘अस्पतालको खर्च विवरण आउन बाँकी छ, अब कानुनी प्रक्रिया पूरा गरेर शव परिवारलाई जिम्मा लगाइन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment