+
+
Shares

क्यान्सर अस्पतालको गेटमा होटल विचौलियाको धर्ना !

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन १५ गते १२:४८

१५ फागुन, चितवन । चितवनको भरतपुरस्थित क्यान्सर अस्पतालको गेटमा एक हुल मान्छेहरु सधै देखिन्छन् । महिला-पुरुषका समूह झुप्प भएर बस्छन् ।

झट्ट आउने मान्छेहरुले खासै मतलव हुँदैन, उनीहरु किन त्यहाँ आएका होलान् ? कसैले सोच्छन् यी अस्पतालमा बिरामी लिएर आएका आफन्तहरु होलान् । तर, होइनन् ।

अस्पतालको मूल गेट अगाडि भेला भएका व्यक्तिहरु नजिकैका होटलका एजेन्ट (विचौलिया) हुन् । उनीहरुको काम क्यान्सर अस्पतालमा आउने बिरामी र उनीहरुका आफन्तहरुलाई आफ्नो होटलसम्म लैजानु, झोला खोस्नु, तानातान गर्नु हो ।

यो कार्यका लागि उनीहरुलाई होटलवालाले खटाएको हुन्छन् । अटो र बस आएर त्यहाँ रोकिने वित्तिकै उनीहरुको सक्रियता बढ्छ । सवारी रोकिएको ठाँउमा जाने र आफ्नो होटलमा लैजान तछाडमछाड हुन्छ ।

कति बेला अटोले र बसले मान्छे ल्याउँछ भनेर आँखा ट्ट्टाउने गरी हेर्नु र कुर्न उनीहरुको दैनिकी हो ।

यहाँबाट दैनिक २५ देखि ३० वटासम्म बसहरु देशका पूर्वी र पश्चिम भागमा चल्ने गर्दछन् । ती मध्ये १८ वटा त रात्री बस नै चल्छन् ।

अस्पतालको मूल गेट नजिकै बनाइएको प्रतिक्षालयमा कोही बिरामी कुरिरहेका हुन्छन् भने कोही बाटोभन्दा पारिपट्टी उभिएर बसिरहेका हुन्छन् ।

उनीहरुले यति मात्रै गर्दैनन्, अस्पतालभित्रै पुगेर हस्तक्षेपसमेत गर्छन् । बिरामीलाई सहयोग गरेको नाममा निजीमा बिरामी पठाउनु, डाक्टरको ढोकामा बस्ने अस्पतालका सहयोगीसँग सेटिङ मिलाउनु, रिर्पोट लिन जाने कामसमेत उनीहरुले गर्छन् ।

यहाँ मात्र नभइ भरतपुर चौविसकोठीमा बिरामी लिएर जाने, डाक्टरलाई मेरो मान्छे हो भनेर सहयोग गरे जस्तो पनि उनीहरु गर्छन् । तर, उनीहरुको उद्धेश्य जसरी पनि बिरामीका आफन्तबाट रकम असुल्नु हुन्छ । अस्पतालको अगाडि झण्डै १५० भन्दा बढी होटल छन् ।

३२/३३ जना बस्न मिल्नेदेखि चार जनासम्म बस्न मिल्ने होटल पनि छन् । आउने बिरामीका कारण यहाँका होटल भरिभाउ हुन्छन् । क्यान्सर उपचार गर्दा लामो समय बस्नुपर्ने भएकोले होटलहरूलाई ग्राहकको अभाव हुँदैन ।

क्यान्सर अस्पताल अगाडि नै होटल चलाएका होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ चितवनका अध्यक्षसमेत रहेका दीपक ढकालका अनुसार दशैं तिहार जस्ता मूख्य चाडपर्व बाहेक यहाँका होटलको अकुपेन्सी दर ८० प्रतिशतभन्दा बढी छ ।

संघका अध्यक्ष ढकालले केही होटलहरुले एजेन्ट पठाउने गरेको बताए । ‘पहिलाभन्दा त धेरै कम भएको छ, हामीले पनि नियन्त्रण गरेका छौं,’ अध्यक्ष ढकालले भने, ‘अझै पनि केही कमी कमजोरी छन् भन्ने लाग्छ, बिरामी लिन गेट अगाडि धर्ना बस्नु राम्रो हैन ।’

उनले क्यान्सर अस्पताल र जिल्लाकै बारेमा नराम्रो सन्देश जाने गरी होटल व्यवसायीले कुनै पनि गतिविधि गर्न नहुने बताए ।

क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा.विजय आचार्य क्यान्सर अस्पतालभन्दा बाहिर यस्ता गतिविधि भएकोले सबै मिलेर रोक्नुपर्ने बताउँछन् । ‘अस्पताल बाहिर गेटमा यस्ता केही गतिविधि भएका हुन सक्छन् तर हामीले भित्र रोक्ने प्रयास गरिरहेका छौ,’ कार्यकारी निर्देशक आचार्यले भने, ‘प्रहरी नै लगाएर बिचौलिया भित्र आउन नदिने काम त भैरहेको छ, तर अझै पनि पूर्ण रुपमा रोक्न सकिएको छैन, यसमा समुदायका सबै क्षेत्रको साथ र सहयोग चाहिन्छ ।’

उनले क्यान्सर अस्पताल र यहाँ बस्ने मान्छेहरूका बारेमा टाढाटाढाबाट आउने बिरामी र उनीहरूका आफन्तलाई नराम्रो सन्देश जाने गरी कुनै काम गर्न नहुने बताए । अस्पतालमा दैनिक उपचारका लागि नयाँ र पुराना गरेर करिब ६ सय बिरामी आउने गर्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?