Comments Add Comment

मुख्यमन्त्री पोखरेलको आरोप : आफ्नै नेताले सरकारविरुद्ध भ्रम छरे

१५ फागुन, बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले आफ्नै पार्टीका नेताहरुले सरकारविरुद्ध भ्रम छरेको आरोप लगाएका छन् । उनले कतिपय नेता सरकारलाई सफल बनाउनुको सट्टा कृत्रिम आलोचनामा उत्रिएको भन्दै प्रतिशोधको राजनीति नगर्न आग्रह गरे ।

‘जनतामा कृत्रिम असन्तुष्टिको नकारात्मक भ्रम छर्ने काम भइरहेको छ, र पछिल्लो समय पार्टीका कतिपय नेताले त्यसमा मलजल गरिरहेका छन्’ पोखरेलले भने, ‘अर्थतन्त्रका सूचक सकारात्मक दिशामा गइरहेका छन्, आयात घट्दै र निर्यात बढ्दै गइरहेको छ तर कतिपय नेतामा सरकारप्रति बडो असन्तुष्टि देखिन्छ, त्यो अल्पज्ञान वा राजनीतिक दिवालियापन बाहेक केही होइन ।’

सञ्चारमाध्यमले तथ्यमा टेकेर विश्लेषण नगरी भ्रमपूर्ण समाचार पस्कने गरेको समेत उनको आरोप थियो ।

पर्यटनको माध्यमबाट आर्थिक समृद्धि हासिल गर्ने प्रदेश सरकारको लक्ष्य रहेको भन्दै मुख्यमन्त्री शंकर पोखरेलले त्यसका लागि निजी क्षेत्रको साथ र सहकार्य आवश्यक रहेको बताए ।

लुम्बिनी गुरुयोजना अनुरुप लुम्बिनीको विकास गर्न राज्यको एकल प्रयास मात्रै भएको र निजी क्षेत्र नजोडिएको भन्दै उनले निजी क्षेत्र पनि जोडिनु आवश्यक रहेको औंल्याए ।

प्रदेश सरकार औद्योगिक विकासमा नयाँ सोचका साथ अगाडि बढेको र प्रदेशमा ३ वटा औद्योगिक क्षेत्र र स्थानीय तहस्तरमा औद्योगिक ग्राम बनाउन लागेको मुख्यमन्त्रीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment