+
+
Shares

शंकर पोखरेलको प्रश्न : ग्रीन आर्मीको वैधता के हो ?

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १७ गते १०:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एमाले महासचिव शंकर पोखरेलले ग्रीन आर्मी नेपाल नामक संस्थाको वैधता, पृष्ठभूमि र ५२ जिल्लामा सञ्जाल दाबीबारे सरकारसँग प्रश्न उठाएका छन्।
  • रसुवा–नुवाकोट बाढीपछि नेपाली सेनाजस्तै पोसाक लगाएर उद्धारमा खटिएको तस्बिर र भिडियो भाइरल भएपछि पोखरेलले यस्तो संगठन खोल्न दिनु कत्तिको उचित हो भन्दै आपत्ति जनाएका छन्।
  • पोखरेलले विपद्को उच्च जोखिमका बेला नदेखिएको संस्था जोखिम घटेपछि एक सातापछि मैदानमा उत्रिएको भन्दै सम्बन्धित निकायको ध्यान जानुपर्ने बताएका छन्।

१७ भदौ, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पछिल्लो समय सामाजिक सञ्जालमा चर्चामा रहेको ग्रीन आर्मी नेपाल नामक संस्थाको वैधता र पृष्ठभूमिमाथि प्रश्न उठाएका छन्।

रसुवा–नुवाकोट क्षेत्रमा गएको बाढीपछि उक्त समूह नेपाली सेनाको जस्तै देखिने पोसाक लगाएर उद्धारमा खटिएको तस्बिर र भिडियो भाइरल भएपछि पोखरेलले यस्तो संस्थालाई संगठित हुन दिनु कत्तिको उचित हो भन्दै सरकारसँग जवाफ मागेका हुन्।

बुधबार सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै महासचिव पोखरेलले प्रश्न गरेका छन्, ‘ग्रीन आर्मी नेपाल नामक संस्थाको वैधता र पृष्ठभूमि के हो ? विद्यालय-विद्यालयमा शाखा र ५२ जिल्लामा सञ्जाल दाबी गरिएको यो कस्तो संगठन हो ?’

नेपाली सेनाले विद्यालयहरूमा राष्ट्रिय सेवा दल गठन गर्ने परम्परा रहेको उल्लेख गर्दै उनले सेनाले नै ग्रीन आर्मीलाई तालिम दिएको भन्दै सार्वजनिक भएका तस्बिरप्रति आपत्ति जनाएका छन्।

‘नेपाली सेनाले विद्यालयहरूमा राष्ट्रिय सेवा दल गठन गर्ने त सबैलाई थाहा थियो, तर सेवा दलको सट्टा ग्रीन आर्मी बनाउन थालिएको हो ?’ उनले प्रश्न गरेका छन्।

यदि सेनाले यस्तो संस्था नबनाएको हो भने यस्तो प्रकृतिको संगठन खोल्न र संगठित हुन दिनु कत्तिको उचित हो भन्दै उनले सरकारले यस विषयमा स्पष्ट पार्नुपर्ने माग गरेका छन्।

‘विपद्का बेला कहाँ लुकेको थियो ?’

महासचिव पोखरेलले विपद् व्यवस्थापन र उद्धारका लागि भनिएको उक्त संस्था बाढीको उच्च जोखिमका बेला नदेखिएर एक सातापछि मात्रै ‘चटक देखाउने शैलीमा’ मैदानमा उत्रिएको भन्दै आलोचना गरेका छन्।

‘यो संगठन विपद्को उद्धारका लागि भनिए पनि मुलुक महाविपद् र उच्च जोखिममा पर्दा यो कहाँ लुकेर बसेको थियो ? जब जोखिम घटेको छ, तब एक सातापछि अचानक चटक देखाउने शैलीमा यो मैदानमा उत्रिएको छ,’ पोखरेलले लेखेका छन्, ‘यस्ता गतिविधिले समाजमा राहतभन्दा बढी सन्देह र त्रास मात्र फैलाउँछन्। यसमा सम्बन्धित निकायको ध्यान तुरुन्तै जानुपर्छ!’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?