+
+
Shares

प्रधानमन्त्री संसदबाट भाग्ने होइन, जवाफ दिनुपर्छ : पाण्डे

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन १५ गते १५:१२

१५ फागुन, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य बद्री पाण्डेले मुलुकमा भइरहेका पछिल्ला घटनाबारे सदनलाई जानकारी गराउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

बिहीबार राष्ट्रियसभामा विशेष समय लिएर बोल्दै कांग्रेस सांसद पाण्डेले सरकार एकपछि अर्को काण्डमा मुछिएको भन्दै यस विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग  जवाफ मागेका हुन् । निवर्तमान सञ्चारमन्त्री गोकुल बास्कोटाको ७० करोड कमिसनको अडियो, प्रधानमन्त्रीको जन्मोत्सवलगायतका विषय सरकार मौन बसेको भन्दै उनले भने, ‘प्रधानमन्त्री संसदबाट भागेर होइन । संसदमा आएर जवाफ दिनुपर्छ ।’

बास्कोटालाई सुपुत्र वा सो सरह व्यवहार गर्ने प्रधानमन्त्रीले पार्टीको सचिवालय बैठकमा बचाउ गरेको र ‘यो विषय पार्टीको एजेण्डा हुन सक्दैन’ भन्दै रोकेको भन्दै उनले प्रधानमन्त्रीमाथि नै शंका उब्जाएको बताए । पाण्डेले भने, ‘हामी के निष्कर्षमा पुग्छौ भने त्यो ७० करोडको काण्ड एक्लो संञ्चारमन्त्री गोकुल बास्कोटाले गर्नुभएको होइन । उहाँ दृश्यमा देखिनुभयो । मानिसहरु भन्छन्, नेपथ्यमा प्रधानमन्त्री र उहाँ जत्तिकै शक्तिशाली व्यक्तिहरु छन् ।’

उनले अघि भने, गोकुल बास्कोटालाई बलीको बोको बनाएर आफू पापबाट मुक्त हुने धार्मिक विश्वासको कुरा होइन यो । संवैधानिक र कानुनी कुरा हो । यसलाई यही रोक्न पाइँदैन ।’

कांग्रेस सांसद पाण्डेले एउटा काण्डलाई ढाकछोप गर्न सरकार स्वयंले अर्को काण्ड सिर्जना गर्ने गरेको आरोप पनि लगाए । ७० करोड कमिसन मागेको अडियो काण्डलाई प्रधानमन्त्रीको जन्मोत्सवको काण्डले छोप्न खोजेको भन्दै उनले भने, ‘यो काण्डैकाण्ड छोपिएका ढकनले भित्रभित्रै गुम्सिने, कुहिने डुंगडुंगती गन्हाउने र त्यसको प्रभाव सरकार र राष्ट्रिय राजनीतिमा देखिने, विकासको गतिमा देखिने, सम्मृद्धिको यात्रामा देखिने खतरा हामीले देख्दै आएका छौं ।’

उनले विवादित कम्पनी यती होल्डिङ्सको हेलिकप्टरबाट केक लगेर नेपालको नक्सालाई टुक्रा टुक्रा पारी जन्मदिनमा खाने कामलाई त्यहाँका जनताले के भने होलान् भन्ने प्रश्न समेत गरेका छन् । प्रधानमन्त्रीले आफ्नो जन्मोत्सवमा देखाएको क्रियाकलापले सत्ता र शक्तिको उन्मादमा मान्छे कति धेरै निर्लज्ज हुँदारहेछन् भन्ने स्पष्ट भन्दै भन्दै उनले भने, ‘प्रधानमन्त्रीले यो काम अग्रगामी ठान्नुभयो होला कि प्रतिगामी ? गणतन्त्र अनुकुल होला कि राजतन्त्र अनुकुल होला ?’

‘प्रधानमन्त्रीले आठराईमा देखाएको काम सर्वहारा प्रगतिशील केपी ओलीको होला कि राजा महाराजा वा महासामन्तको अवतार लिइसक्नुभएको सम्मानीय प्रधानमन्त्री केपी ओलीको होला ? आज आठराईका जनताले प्रश्न गरिरहेका छन्’ उनले भने, ‘यो प्रश्नको जवाफ दिने काम मेरो होइन । प्रधानमन्त्रीले जवाफ गर्नुपर्छ । संसदबाट भागेर होइन, संसदमा आएर जवाफ दिनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?