Comments Add Comment

नगरपालिका केन्द्र सार्ने निर्णयको विरोधमा स्थानीय आन्दोलित

१५ फागुन, चितवन । तनहुँको भानु नगरपालिकाको केन्द्र सार्न खोजिएको भन्दै तीन वडाका स्थानीय बासिन्दा आन्दोलित भएका छन् ।

गत माघ २३ गते बसेको छैठौं नगरसभाले नगरपालिकाको केन्द्र अपायक भएको भन्दै अन्यत्रै सार्ने निर्णय गरेपछि वडा नम्वर २, ५ र ६ का स्थानीय बासिन्दा आन्दोलित भएका हुन् । हाल वडा नं. २ फुस्रेटारमा नगरपालिकाको कार्यालय रहेको छ ।

नगरसभाले नगरपालिकाको केन्द्र वडा नं. १ अन्तर्गत डुम्रे- बेसीशहर सडक खण्ड नजिक सार्ने निर्णय गरेको थियो ।  निर्णय अवैधानिक भएको आरोप आन्दोलनरत स्थानीय बासिन्दाले लगाएको छ । नगरसभाले केन्द्र सार्ने निर्णय गरे पनि ठाँउ र जग्गाको यकिन भएको छैन ।

नगरसभाको निर्णयमा वडा नं. २, ५ र ६ का वडाध्यक्षले हस्ताक्षर गरेका छैनन् ।

नगरपालिकाको केन्द्र रहेको अहिलेको ठाँउ साँघुरो र अपायक भएकोले फराकिलो र सबैलाई सहज हुने ठाँउमा लैजान खोजिएको नगर प्रमुख उदयराज गौलीले बताए । नगरपालिकाको पूर्वी भेगका बासिन्दालाई अहिलेको केन्द्र असहज र अपायक भएको उनको भनाइ छ ।

केन्द्र सार्न नहुने भन्दै आन्दोलन गर्दै आइरहेका स्थानीय भक्तबहादुर कुँवरले नगरसभाको केन्द्र सार्ने निर्णय गैरकानुनी र हठात भएको बताए । नगरपालिकाको केन्द्र सार्ने निर्णय तत्काल निर्णय नसच्याइए आन्दोलन चर्काउने चेतावनी उनले दिए । उनले केन्द्र सार्ने जस्तो महत्वपूर्ण विषयमा नगरपालिका मेयरले छलफल र सहमति नगरी एकलौटी ढंगले निर्णय गरेको भन्दै तत्काल उक्त निर्णय फिर्ता गर्नुपर्ने माग गरे । उनले नगरपालिकाका लागि आवश्यक जग्गा दिन स्थानीय बासिन्दा तयार भएको समेत बताए । ५० रोपनी ऐलानी जग्गा र स्थानीयले ४ रोपनी जग्गा दिने निर्णय गत वर्ष फागुनमा नै भएको आन्दोलनको संयोजक समेत रहेका कुँवरको भनाइ छ ।

स्थानीय तह सेवा सञ्चालन अध्यादेश २०७४ मा कुनै पनि गाउँपालिका वा नगरपालिकाको नाम वा केन्द्र हेरफेर गर्न परेमा पहिलो निर्वाचन भएको मितिले ६ महिनाभित्र सम्बन्धित सभामा तत्काल कायम सदस्य संख्याको बहुमतबाट प्रस्ताव पारित गर्नुपर्ने उल्लेख छ । तर, भानु नगरपालिकाले कानून मिचेर कार्यालय अर्को स्थानमा सार्ने निर्णय गरेको भानु २ का वडाअध्यक्ष अर्जुन खड्काले बताए ।

गाउँपालिका वा नगरपालिकाको नाम वा केन्द्र हेरफेर गर्न सरकारको सिफारिस अनिवार्य मानिने भए पनि नगर प्रमुख उदयराज गौलीले आफूखुसी कार्यालय स्थान्तरणको निर्णय गरेको स्थानीयको आरोप छ । ‘मेयरको मनोमानी स्वीकार्य छैन । हामी यस्तो गैरकानुनी निर्णयविरुद्ध आन्दोलन जारी राख्छौ’ भानु नगरपालिका वडा नं. २ का अध्यक्ष अर्जुन खड्काले भने ।

गाउँपालिका वा नगरपालिकाको केन्द्र तोक्न सिफारिस गर्नुपर्दा आवश्यक पर्ने जग्गाको क्षेत्रफल, भौतिक पूर्वाधार र अन्य विषयको न्यूनतम मापदण्ड संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले तोके बमोजिम हुने प्रावधान रहेको छ ।

वार्ताबाट सहमति खोज्ने प्रयास

केन्द्र सार्ने निर्णयको विरोधमा स्थानीय उत्रिएपछि नगरपालिकाले वार्ताबाट सहमति निकाल्ने प्रयास गरेको छ । नगरपालिकाको वार्ता प्रयासमा आन्दोलनकारीहरु पनि सहमत भएको संयोजक कुँवरले बताए । फागुन ११ गते वार्तामा बसे पनि ठोस सहमति नभएको उनले बताए । बिहीबार पनि वार्तामा बस्ने कार्यक्रम छ । नगरपालिकाका तर्फबाट केन्द्र सार्ने पक्षमा उभिएका ९ जना वडाध्यक्ष वार्तामा बसेका छन् । मेयर गौली वार्तामा नबसेको भन्दै आन्दोलनरत स्थानीय रुष्ट बनेका छन् । आन्दोलन र विरोध बढ्दै गएपछि मेयर गौली नगरपालिका आउन छाडेको स्थानीयले बताए । मेयर गौलीले भने ‘छलफल भइरहेको छ अब छिटै समस्या समाधान हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment