Comments Add Comment

जल पर्यटनको गन्तव्य बन्दै रुपन्देही

बुटवलको कपरकट्टी तालमा पनि डुंगा सञ्चालन

१५ फागुन, बुटवल । तालमा डुंगा शयरको चर्चा चल्ने वित्तिकै धेरैले पोखराको फेवा ताललाई सम्झने गर्छन् । तर यो वर्षदेखि रुपन्देहीका तालहरुमा पनि धमाधम व्यवसायिक डुंगा सञ्चालन र जल पर्यटनको विकासले गति लिएको छ ।

रुपन्देहीमा कञ्चन गाउँपालिकाको दानापुर तालमा मात्रै डुंगा सञ्चालन हुने गरेकामा यो वर्षदेखि गैडहवा ताल र बुटवलको नरैनापुरधामस्थित कपरकट्टी तालमा पनि व्यवसायिकरुपमा डुंगा सञ्चालन हुन थालेको छ ।

गैडहवा गाउपालिकाले १० दिने ताल महोत्सव नै गरेर दुई वटा स्टिमरसहित चारवटा डुंगा सञ्चालन गरेलगत्तै बुटवलको कपरकट्टी तालमा पनि बुधबारदेखि डुंगा सञ्चालन सुरु भएको छ ।

नील दहका नामले चिनिने निकै पुरानो एक किलोमिटरभन्दा लामो र करिब दुई सय मिटर चौडाइको तालमा एउटा स्टिमर र दुईवटा म्यानुअल डुंगा सञ्चालन गरिएको हो ।

पश्चिमको पशुपतिनाथ मानिने नरैनापुरधामसंग जोडेर धार्मिक र जल पर्यटनको विकास गर्ने उद्देश्य अनुसार २१ बिघा क्षेत्रफलको जलाशयसहितको करिब ५ मिटर गहिरो तालमा अब तालमा नियमित डुंगा सञ्चालन हुने र पर्यटकको संख्या बढेसँगै डुंगाको संख्या थप्दै जाने वडाध्यक्ष एवम् उपमहानरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले बताए ।

ताललाई ‘मिनी फेवा ताल’ का रुपमा विकास गरी आकर्षक पर्यटकीय गन्तव्य बनाउन र जमिनमुनि पानीको रिचार्ज गरी पर्यावरण सन्तुलनमा राख्ने उद्देश्यले गत वर्ष ४० लाख र यो वर्ष एक करोड रुपैयाँ खर्च गरेर तालको सफाइ, वरिपरि पर्खाल, पैदल मार्ग, ग्रीन बेल्ट, र विश्रामस्थललगायतका संरचना बन्दै गरेका प्रवक्ता रेग्मीले बताए ।

तालको पर्यटकीय विकासका लागि गुरुयोजनासमेत बनिसकेको र ताल क्षेत्रमै सात बिघा क्षेत्रफलमा पिकनिक स्थल बनाउने योजना रहेको रेग्मीले बताए ।

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल,बुटवल उपमहानगरका प्रमुख शिवराज सुवेदी लगायत डुंगा चढेर उद्घाटन गरे । सो अवसरमा बोल्दै मुख्यमन्त्री पोखरेलले तालमा डुंगा सञ्चालनले बुटवलको मात्र नभई प्रदेश ५ कै पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने बताए । प्रदेशको समृद्धिको दीगो आधार पर्यटन नै भएकाले पर्यटकको बसाई लम्बाउन सकिने गरी विविध पुर्वाधार र आकर्षण थप्न मुख्यमन्त्रीले आग्रह गरे ।

एक हप्ता अघि मात्रै लुम्बिनी आउने आन्तरिक र विदेशी पर्यटकलाई आकर्षित गर्न गैडहवामा डुंगा सञ्चालन गरिएको थियो । पहिलो वर्ष कम्तीमा ५० हजार जनालाई डुंगा शयर गराई पर्यटन र कृषिमार्फत गाउँपालिकाको आर्थिक विकास गर्ने लक्ष्य रहेको गाउँपालिका अध्यक्ष बच्चुलाल केवट बताउँछन् ।

जल पर्यटनको विकासका लागि ताल क्षेत्रमा पर्यटकीय पूर्वाधार बनाउन ४० करोडको गुरुयोजना बनेको छ । रुपन्देहीकै कञ्चन गाउपालिकाको पनि मुख्य पर्यटकीय स्थल र आकर्षण दानापुर तालको डुंगा शयर नै हो ।

ताल रहेको समयमाई सामुदायिक वन उपभोक्ता समूहले ताललाई जल पर्यटनको नमूना बनाउन एक अर्ब लागतको १० वर्षे गुरुयोजनासमेत बनाएको छ ।

रुपन्देहीकै भैरहवास्थित बोधी रेडसन होटेलले पनि १५ करोड बढी लगानीमा सामुन्द्रिक छाल र कृत्रिम नदीसहितको वाटर पार्क सञ्चालनमा ल्याएको छ ।

यस्तै तिलोत्तमाको कानपारामा व्यवसायी अजय चौधरीले अक्वा रिसोर्टमा कृत्रिम ताल बनाएर पनि डुंगा सञ्चालन गरिरहेका छन् ।

तिलोत्तमाकै मंगलापुर र जानकारीनगरमा पनि वाटर पार्क सञ्चालनमा रहेका छन् । जिल्लामा रहेका सबै तालमा नियमित र व्यवसायिक रुपमा डुंगा सञ्चालन र विभिन्न स्थानमा वाटर पार्कहरु खुल्नाले रुपन्देही जल पर्यटनको गन्तव्यका रुपमा विकास हुँदै गएको पर्यटन व्यवसायी माधव नेपाल बताउँछन् । ‘रुपन्देही जल पर्यटनको पनि गन्तव्य बन्दै गएको छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment