Comments Add Comment

गौतमबुद्ध क्रिकेट रंगशालामा टी-२० क्रिकेट प्रतियोगिता सुरु

१५ फागुन, चितवन । चितवनको भरतपुर महानगरपालिका वडा नं. १५ रामपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा खुल्ला तथा वडास्तरीय प्रथम गौतमबुद्ध कप टी-२० क्रिकेट प्रतियोगिता बिहीबारबाट सुरु भएको छ ।

चितवन आदर्श युवा क्लबको आयोजनामा रंगशाला निर्माण सहयोगार्थ सुरु भएको प्रतियोगिताको उद्घाटन राष्ट्रिय क्रिकेट टोलीका पुर्व कप्तानद्वय राजु खड्का र बिनोद दासले संयुक्त रुपमा गरेका छन् । दासले बलिङ र खड्काले ब्याटिङ गरेर प्रतियोगिताको उद्घाटन गरेका हुन् ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान राजु खड्काले यस किसिमको प्रतियोगिताले चितवनको क्रिकेट विकासमा ठूलो भूमिका खेल्ने बताए । राष्ट्रिय क्रिकेट टोलीका अर्का पूर्व कप्तान तथा अण्डर १९ टोलीका प्रशिक्षक विनोद दासले पर्यटकीय क्षेत्रको रुपमा चिनिने चितवनलाई अब क्रिकेटको हबको रुपमा विश्वले चिन्ने बताए ।

राजु खड्का सम्मानित 

चितवन आदर्श युवा क्लबले नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान तथा चितवन क्रिकेट एकेडेमीका प्रमुख प्रशिक्षक राजु खड्कालाई सम्मान गरेको छ ।

लामो समयदेखी नेपाली क्रिकेटको विकासमा पुर्‍याएको योगदानको कदर गर्दै उनलाई नगद १० हजारसहित ताम्रपत्र र दोसल्लाले सम्मान गरिएको हो ।

उद्घाटन खेलमा आयोजक विजयी

प्रतियोगिता अन्तर्गत बिहीबार भएको उद्घाटन खेलमा आयोजक चितवन आदर्श युवा क्लब ‘बी’ विजयी भएको छ । टी-२० प्रतियोगितामा भरतपुर ५ लाई ५४ रनले पराजित गर्दै आयोजक‘बी’ ले विजयी सुरुवात गरेको हो ।

आयोजक‘बी’ ले दिएको १४६ रनको लक्ष्य पछ्याएको भरतपुर ५ ले १८ ओभरमा ९१ रन मात्र बनाउन सक्यो ।

त्यसअघि पहिले ब्याटिङ गरेको आयोजक ‘बी’ ले १९ ओभरमा १४५ रन बनाएको थियो । भरतपुर ५ का सुदिप अधिकारीले ह्याट्रिकसहित ४ विकेट लिए । खेलको म्यान दि म्याच आयोजक ‘बी’ का रुपेश पौडेल घोषित भए ।

शुक्रबार भरतपुर वडा नं. २० र २५ बीच खेल हुने प्रतियोगिता संयोजक पुष्पराज आचार्यले जानकारी दिए ।

प्रतियोगिताको बिजेताले १ लाखसहित ट्रफी तथा उपबिजेताले ५० हजारसहित ट्रफी प्राप्त गर्ने आयोजकले जनाएको छ । यस्तै प्रतियोगिता भरको उत्कृष्ट खेलाडी र विधागत रुपमा उत्कृष्ट हुने खेलाडीलाई पनि पुरस्कार प्रदान गरिने छ । प्रतियोगिताबाट केही रकम संकलन गरी रगंशाला निर्माणमा सहयोग गरिने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment