+
+
WC Series
पोखरा एभेन्जर्स 2025
152/10 (20)
VS
Kathmandu Gorkhas won by 13 runs
Won काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

गाली बेइज्जती मुद्दा लिएर अदालत पुगे पूर्वमन्त्री बास्कोटा

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन १६ गते २०:०६

१६ फागुन, काठमाडौं । निवर्तमान सञ्चार तथा सूचना प्रविधीमन्त्री गोकुल बास्कोटाले अनुमति विना अडियो रेकर्ड गरेको र झुटो आरोप लगाएर सञ्चार माध्यममार्फत गाली बेइज्जती गरेको भन्दै स्वीस कम्पनीका एजेन्ट विजय मिश्रविरुद्ध अदालतमा उजुरी दिएका छन् ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका विषयमा कमिसन मोलमोलाइ गरेको अडियो सार्वजनिक भएपछि राजीनामा दिएका बास्कोटाले शुक्रबार जिल्ला अदालत काठमाडौंमा आफ्ना वारेस राजेन्द्र बोगटीमार्फत उजुरी दिएका हुन् ।

बास्कोटाले मिश्रले मुलुकी अपराध संहिता ऐनको दफा २९३, ३०५, ३०६ र ३०७ विपरीतको काम गरेको जिकिर गरेका छन् र ऐनको दफा २९३ (२), दफा ३०५ (३) र ३०७ (१) अनुसार हदैसम्म सजाय माग गरेका छन् ।

बास्कोटाले अनुमति नलिई कुराकानी रेकर्ड गरेका कसूरमा कारबाही माग गरे पनि उक्त अडियो फरक परिस्थिति र विभिन्न सन्दर्भमा बोलेका कुरालाई आधुनिक प्रविधिको दुरुपयोग गरी आफूलाई बदनाम गराउने उद्देश्यले सञ्चार माध्यममा पुर्‍याएको दावी गरेका छन् ।

‘… प्रतिवादीले झुठा प्रमाण सिर्जना गरी मसँग भएको भनिएको कथित अडियो टेप मिति २०७६/११/०७ मा विद्युतीय तथा सार्वजनिक सञ्चार माध्यममा प्रशारण गरी गराई मलाई बेइज्जती गर्ने कार्य गरेका छन्’ उनले आफ्नो उजुरीपत्रमा भनेका छन् ।

बास्कोटाले आफूले मिश्रसँग कुराकानी नै गरेको भए पनि आफ्नो अनुमति नलिई रेकर्ड गर्न नमिल्ने जिकिर पनि गरेका छन् । ‘मैले सार्वजनिक भाषण तथा वक्तव्यमा उल्लेख गरेको अवस्थामा बाहेक कथं कदाचित प्रतिवादीसँग कुनै कुराकानी भएको छलफल भएको रहेछ भने पनि त्यसलाई मेरो मञ्जुरी विना यान्त्रिक उपकरणको प्रयोग गरी ध्वनी अंकन गर्नु र त्यसलाई प्रशारण गर्नु गराउनु समेत मुलुकी अपराध संहिताको दफा २९३ विरुद्धको कार्य हुनेमा पुरै झुटा प्रमाण सिर्जना गरेबाट नै प्रतिवादीको बदनियत स्पष्ट हुन्छ ।’

बास्कोटाले मिश्रविरुद्ध अनुमति नलिई अडियो रेकर्ड गरेको, गाली गरेको, सञ्चार माध्यममार्फत बेइज्जत गरेको आरोपमा कारबाही माग गरेका छन् । जसअनुसार उनले अनुमति नलिई अडियो रेकर्ड गरेकामा २ वर्ष कैद र २० हजार जरिवाना, गाली गरेकामा १ वर्ष कैद र १० हजार जरिवाना र सञ्चार माध्यममार्फत बेइज्जती गरेकामा २ वर्ष कैद र २० हजार जरिवाना माग दावी गरेका छन् ।

बास्कोटाले उक्त अडियो सञ्चार माध्यममार्फत सार्वजनिक हुँदा भएको क्षतिको मनासिब क्षतिपूर्ति र मुद्दा लड्दा लागेको खर्च पनि मिश्रसँग भराउन माग गरेका छन् ।

हेर्नुस् बास्कोटाको फिरादपत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?