Comments Add Comment

डोटीको बुडरमा औद्योगिक ग्राम बनाउने सम्झौता

१६ फागुन, डोटी । नेपाल सरकारले घोषणा गरेको डोटी, जोरायल गाउँपालिका–२, बुडर औद्योगिक ग्रामको प्रक्रिया अगाडि बढेको छ ।

औद्योगिक ग्राम घोषणाका लागि नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र जोरायल गाउँपालिकाबीच शुक्रबार समझदारी भएको छ । सझदारी पत्रमा मन्त्रालयको तर्फबाट सह–सचिब शोभाकान्त पौडेल र जोरायल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तेजबहादुर खत्रीले हस्ताक्षर गरेका छन् ।

स्थानीय स्रोत साधन, कच्चा पदार्थ, प्रविधि र सीपको परिचालन गरि लघु, घरेलु तथा साना उद्योगमा लगानी बृद्धि गरी उद्योग स्थापना, विकास र प्रबद्र्धन गर्दै रोजगारी सिर्जनाको माध्यमबाट स्थानीय अर्थतन्त्रमा योगदान पुर्‍याउने कार्यक्रमको उद्देश्य रहेको जोरायल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खत्रीले वताए ।

नेपाल सरकारको प्रत्येक स्थानीय तहमा औद्योगिक ग्राम स्थापना गर्ने नीति अनुरुप मन्त्रिपरिषदको निर्णयबाट घोषणा भएका ३२ वटा औद्योगिक ग्रामहरुको पूर्बाधार विकास र निर्माण कार्यका लागि स्थानीय तहसँग समझदारी गर्ने प्राव्धान अनुसार उक्त समझदारी भएको हो ।

औद्योगिक ग्रामका लागि मन्त्रालयले जोरायल गाउँपालिकालाई ९२ लाख निकासा गर्नेछ । गाउँपालिकाले तीन महिनाभित्र आफ्नो श्रोतबाट बिस्तृत परियोजना प्रतिवेदन तयार गरि मन्त्रालयमा पेश गर्नु पर्नेछ ।

औद्योगिक ग्राम स्थापनाको लागि मन्त्रालयले उपलब्ध गराएको बजेटको अधिनमा रही पूर्वाधार विकास तथा बिभिन्न संरचना निर्माणको लागि खर्च गरिने समझदारी पत्रमा उल्लेख गरिएको छ । बुडरमा औद्योगिक ग्राम स्थापनाको लागि जोरायल गाउँपालिकाले लामो समयदेखि पहल गरेको थियो । जोरायल गाउँपालिकाको पहल पश्चात उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले बुडरमा औद्योगिक ग्राम स्थापना गर्न मन्त्रिपरिषदबाट स्वीकृत गराएका थिए ।

सुदूरपश्चिमका पहाडी जिल्ला प्रबेश गर्ने प्रबेशद्वारको रुपमा रहेको बुडरमा स्थापना हुने औद्योगिक ग्राम नमूनाको रुपमा विकास गरिने गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले वताए । उक्त औद्योगिक ग्राम स्थापना भएपछि डोटीको जोरायल गाउँपालिकाका साथै डडेल्धुरा जिल्लाका आलिताल गाउँपालिकाका स्थानीय बासिन्दाहरु पनि प्रत्यक्ष लाभान्वित हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment