Comments Add Comment

बिबाहले मेरो करिअरलाई असर गर्ने छैन : रुविना थापा

चलचित्र ‘लभ डायरिज’बाट चलचित्र क्षेत्रमा डेब्यु गरेकी नायिका हुन्, रुविना थापा । मोडलिङ क्षेत्रबाट चलचित्र क्षेत्रमा प्रवेश गरेकी रुविनालाई पहिलो चलचित्रले व्यापारिक सफलता भने दिएन । तर, आफ्नो काम र आफ्नो कामले पाएको प्रशंसाबाट भने रुविना खुसी छिन् ।

चलचित्र हेर्ने दर्शकले चलचित्र र आफ्नो कामलाई राम्रो प्रतिकृया दिएको रुविना बताउँछिन् । उनले भनिन्, ‘चलचित्र आफैँमा राम्रो बनेको थियो । जतिले हेर्नुभएको छ, उहाँहरुले हाम्रो अगाडि आएर राम्रो नै भन्नुभएको छ । मेरो कामको पनि प्रशंसा नै भइरहेको छ । खुसी लाग्छ ।’

चलचित्रमा आफूले गर्न पाएको भूमिकाबाट पनि रुविना सन्तुष्ट छिन् । दुई अभिनेताको बीचमा रहेर काम गर्दा पनि आफ्नो भूमिका नै सशक्त भएको रुविनाले बताइन् । उनले भनिन्, ‘मैले दुई हिरोको बीचमा परेर हराउनु परेन । मेरो क्यारेक्टर निकै बलियो थियो । त्यसैले पनि मलाई दर्शकले नोटिस गर्नुभएको जस्तो लाग्छ ।’

रुविना करिअर निर्माण पूर्ण रुपमा एउटै चलचित्रले नगर्ने बताउँछिन् । उनले भनिन्, ‘कुनै पनि चलचित्रले कलाकारलाई स्थापित गराउँछ जस्तो मलाई लाग्दैन । म चिनिने भनेको मेरो अभिनय र मैले निर्वाह गरेको भूमिकाले नै हो ।’ तर, चलचित्र राम्रो भएको खण्डमा प्लस पोइन्ट जरुर हुने उनको भनाई छ ।

लभ डायरिज रिलिज पूर्व नै रुविनालाई धेरै चलचित्रबाट अफर आएका थिए । तर, डेब्यु चलचित्र लभ डायरिज नै होस् भन्ने सोचेर उनले अफर आएका चलचित्र नकारिन । त्यसमा अनमोल केसी स्टारर चलचित्र ‘क्याप्टेन’ पनि परेको थियो । ती चलचित्रहरु नगरेकोमा रुविनालाई कुनै गुनासो भने छैन ।

अहिले पनि रुविना आफूलाई केही चलचित्रबाट अफर आइरहेको बताउँछिन् । ‘लभ डायरिज रिलिज पछि मलाई विभिन्न चलचित्रबाट अफर आइरहेको छ । तर म बिरामी भएर भेट्न पाएको छैन’, रुविनाले भनिन्, ‘अब भने राम्रो टिम पाएको खण्डमा चलचित्रमा काम गर्नेछु ।’

रुविनालाई यस्तै भूमिका पाए गर्छु भन्ने छैन । राम्रो टिम पाए चलचित्र क्षेत्रलाई थप बुझ्नको लागि काम गर्न तयार छिन् ।

बिबाहले करिअर असर गर्ला ?

रुविना थापा बिबाहित हुन् । उनले लभ डायरिज रिलिज पूर्व नै बिबाह गरेकी हुन् । सुरु सुरुमा आफ्नो बिबाह लुकाउन खोजेपनि पछि उनले आफू बिबाहित भएको खुलेर बोलिन ।

बिबाह पछि नायिकाहरुको करिअर पूर्णविराम लागेको उदाहरणहरु धेरै देखिएका छन् । रुविनाले त करिअर सुरु हुनसाथ बिबाह गरेकी छिन् । तर, बिबाहले आफ्नो करिअरमा कुनै असर नगर्ने उनले बताइन् ।

उनी भन्छिन्, ‘बिबाह संगम हो, बन्धन होइन । यदि परिवार सहयोगी छ भने करिअरलाई कुनै असर गर्दैन । मैले सहयोगी परिवार पाएको छु । त्यसैले असर गर्छ जस्तो लाग्दैन ।’

रुविना निरन्तर रुपमा चलचित्र क्षेत्रमा नै रहेर काम गर्ने सोचमा छिन् । डेब्यु चलचित्रले पाएको मायालाई उर्जाको रुपमा लिएकी छिन् । आगमी चलचित्रबाट थप दर्शकको मन जित्ने दौडमा छिन्, रुविना ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment