Comments Add Comment

मनाङले जित्यो बुढासुब्बा गोल्डकपको उपाधि

१७ फागन, धरान । २२औं बुढासुब्बा गोल्डकपको उपाधि मनाङ मर्स्याङ्दी क्लबले जितेको छ । शनिबारभएको फाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई ३-१ गोलले पराजित गर्दै मनांगले उपाधि जितेको हो ।

बुढासुब्बामा मनाङको यो चौथो उपाधि हो ।

जितसँगै मनांगले १० लाख रुपैयाँ हात पारेको छ भने पुलिसले ५ लाखमा चित्त बुझाएको छ ।

खेलमा मनाङले ११औं मिनेटमा दयानन्द सिंहको गोलबाट अग्रता लिएको थियो । पेनाल्टी बक्सभित्र पुलिसका गोलरक्षक र संजीत श्रेष्ठबीच तालमेल नमिल्दा सिंहले गोल गरेका थिए ।

दोस्रो हाफको सुरुमा नै निशान लिम्बुले मनाङको अग्रता दोब्बर बनाए तर ६६ औं मिनेटमा पाएको पेनाल्टीमा पुलिसका भेला सिलवालले गोल फर्काए । इन्जुरी टाइममा विमल रानाले गोल गरेपछि मनाङले ३-१ को जितका साथ उपाधि उचाल्यो ।

मनाङका अञ्जन विष्ट म्यान अफ दि म्याच बन्दा विमल राना उत्कृष्ट गोलकर्ता घोषित भए ।

यस्तै प्रतियोगिताको उत्कृष्ट गोलकिपरमा मनाङका अशोक बराल, उत्कृष्ट डिफेन्डरमा पुलिस क्लबका सुमन सुवेदी, उत्कृष्ट मिडफिल्डरमा मनाङका पुजन उपरकोटी, उत्कृष्ट फरवर्डमा पुलिस क्लबका कप्तान जुमानु राई र उत्कृष्ठ प्रशिक्षकमा मनाङका फुजा टोपे घोषित भएका छन् । सबैले समान २५/२५ हजार हात पारे । यस्तै चार गोलसहित सर्वाधिक गोलकर्ता बनेका मनाङका दयानन्द सिंहले ३५ हजार रुपैयाँ प्राप्त गर्दा धरान फुटबल क्लबका दिवस मास्के उदयीमान खेलाडी बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment