Comments Add Comment
वीरगञ्जमा देउवाइतरको भेला :

देउवालाई पौडेलको प्रश्न– प्रधानमन्त्रीको राजीनामा माग्न किन नसकेको ?

कार्यकर्ताको सुझाव– कम्तीमा गुटमा त एकजुट हुनुस्

१८ फागुन, वीरगञ्ज । पार्टीको १४ औं महाधिवेशन नजिकिँदै गर्दा नेपाली काँग्रेसको देउवा इतरको समूहले वीरगञ्जमा प्रदेश स्तरीय भेला आयोजना गरेको छ । भेलामा सहभागी कार्यकर्ताहरुले नेताहरुबीच आफ्नै गुटमा समेत एकता नदेखिएको भन्दै एकजुट भएर अघि बढ्न सुझाव दिएका छन् ।

‘वर्तमान राजनैतिक परिवेशमा नेपाली काँग्रेसका चुनौति र समाधान’ नाम दिएर काँग्रेस पर्सा क्षेत्रनम्बर ३ को क्षेत्रीय समितिले शनिबार छलफल तथा भेला आयोजना गरेको थियो । छलफलमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्यहरु डा. रामशरण महत, सुजाता कोइराला, अर्जुन नरसिंह केसी, डा. मिनेन्द्र रिजाल र प्रदेश नं. २ का ८ वटै जिल्लाबाट पौडेल समूहका नेता–कार्यकर्ताहरु सहभागी थिए । तर जिल्ला सभापतिहरु र सांसदहरु भने कार्यक्रममा देखिएनन् ।

कार्यक्रममा सहभागी कार्यकर्ताहरुले पार्टीमा पारदर्शिता र अनुशासन नभएको, विधान र महासमितिको म्यान्डेडअनुसार पार्टी नचलेको, नेताको चाकडी गर्नेलाई मात्रै चिन्ने प्रवृत्ति देखिएको गुनासो नेताहरुसामु राखे । उनीहरुले घात गर्नेलाई कारबाही नगरेको, पैसामा टिकट बेचेको, प्रमुख प्रतिपक्षीको भूमिका निर्वाह गर्न नसकेको, क्रियाशिल सदस्यता वितरणमा देउवा पक्षले मनोमानी गरेको पनि सुनाए ।

कार्यक्रममा उपस्थित नेताहरुमध्ये धेरै जनाले सभापतिमा उठ्ने मनोकांक्षा राखेका छन् । त्यसतर्फ संकेत गर्दै छलफलमा सहभागी नेता कार्यकर्ताले सहमतिमा एक जनालाई सभापतिको उम्मेदवारको रुपमा अघि सार्न आग्रह गरे ।

कांग्रेस नेता डा. चन्द्रमोहन यादवले पार्टी नेतृत्वलाई मिलेर जानुस् भनेर सुझाव दिनु पर्ने अवस्था आउनु विडम्बना भएको बताए । ‘शीर्ष नेतृत्वले कार्यकर्तालाई जुट्न आग्रह गर्नुपर्ने हो । हामीकहाँ विडम्बना छ, शीर्ष नेतृत्वलाई कार्यकर्ताले मिलेर जानुस् भन्नुपरेको छ ।’

कांग्रेस रौतहटका कोषाध्यक्ष श्रीराम श्रेष्ठ साहले विपी, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईबाट पाठ सिक्न आग्रह गरे । ‘विधानले सभापति एक जना मात्रै सभापति हुने नियम बनाएको छ, तर धेरै आकांक्षी देखिन्छन् । थोरै त स्वार्थ छोड्नुुुस्,’ उनले भने, ‘तर जो जहाँ जान्छ लडाइ झगडा गरेर सभापतिको उम्मेदवार मै हुँ भनेर कसरी हुन्छ ?’
नेपाल किसान संघ पर्साका अध्यक्ष असर्फी साहले पार्टीमा मतभेदभन्दा पनि मनभेद ठूलो समस्याको रुपमा रहेको बताए ।

पर्साका कांग्रेस नेता ओमकृष्ण लामिछाने विगतको तुलनामा पार्टीको अवस्था विग्रिएको भन्दै बोल्दा बोल्दै भक्कानिएका थिए ।

पार्टीमा अनुशासनको कुरा गर्ने नेता कार्यकर्ताहरु भने हलभित्रै होहल्ला गर्ने, मञ्चमा नेताले बोलिरहँदा बाहिर गएर बसिदिने, आसन ग्रहण र भाषणका लागि हानथाप गरेका देखिन्थे । बोल्नका लागि तीन मिनेट समय दिए पनि कमैले मात्रै त्यसको पालना गरेका थिए । आसन ग्रहणका लागि धेरैको नाम लिइएपछि हलबाटै विरोध भएको थियो ।

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एउटा व्यक्तिलाई प्रधानमन्त्री, राष्ट्रपति बनाउन संविधान संशोधनको षडयन्त्र भइरहेको अवस्थामा समेत प्रमुख प्रतिपक्षी दल कांग्रेसले जुन किसिमले लड्नुपर्ने थियो त्यो नसकेको बताए ।

उनले पार्टीभित्र देखिएको वेथितिविरुद्ध जुट्न नै भेला आयोजना गरिएको बताए । ‘भ्रष्टाचारमा डुबेका प्रधानमन्त्रीको राजीनामा माग्न कांग्रेस संसदीय दलले किन नसकेको ? पार्टी किन कमजोर भइरहेको छ ? गुटगत स्वार्थका लागि पार्टीलाई बलिदान दिने अनि हामी टुलुटुलु हेरेर बस्ने ? त्यसैले भेला बोलाइएको हो,’ उनले भने ।

कांग्रेस केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले पार्टी कब्जा गर्ने र देश कब्जा गर्ने दुवैसँग लड्नुपर्ने अवस्था आएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment