Comments Add Comment

राप्रपा सांसदको प्रस्ताव : प्रदेश खारेज गरौं, जनप्रतिनिधि घटाऔं

फाइल तस्वीर

१९ फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्र लिङ्देनले प्रदेशको संरचना खारेज गरेर बलियो र अधिकार सम्पन्न स्थानीय तह बनाउन प्रस्ताव गरेका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सत्तारुढ दल नेकपा संविधान संशोधनका लागि तयार भएको भए तीन तहको संरचना खारेज गरेर स्थानीय तहलाई बलियो बनाउन प्रस्ताव गरेका हुन् ।

‘तपाईंहरुलाई संघीयता शब्द प्यारो छ भने हामीलाई आपत्ति छैन । तर, यो तीन तहको संरचना खारेज गरेर बलियो, अधिकार सम्पन्न र व्यवस्थित स्थानीय तह भएको दुई तहको संरचना निर्माण गरौं’ लिङ्देनले भने ‘जनप्रतिनिधिको संख्या घटाऔं । संवैधानिक अंगहरूमा हुने नियुक्ति स्वतन्त्र, निष्पक्ष र पारदर्शी बनाऔं ।’

झण्डै ४० हजार जनप्रतिनिधि र तीन तहको सरकार देशलाई बोझ र अव्यावहारिक भएको उनको भनाइ छ ।

सांसद लिङ्देनले निर्वाचन प्रणालीमा सुधार गरेर प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र पूर्ण समानुपातिक प्रणालीबाट संसदको गठन हुने व्यवस्था गर्न पनि प्रस्ताव गरेका छन् ।

उनले संविधान संशोधन व्यक्ति, परिवार र स्वार्थ समूहका लागि नभई जनता र देशका लागि हुनुपर्ने बताए ।

‘सत्ता पक्षलाई मेरो आग्रह छ, जनताबाट प्राप्त वर्तमान सत्ता र शक्तिलाई व्यक्तिका लागि, परिवारका लागि र स्वार्थ समूहका लागि प्रयोग गरेर आफैं अस्थिरताको कारण नबन्नुहोस्’ उनले भनेका छन् ।

विगतमा दबाव, प्रभाव र हतारमा संविधान निर्माण गर्दा थुप्रै कमजोरी भएको भन्दै लिङ्देनले अहिलेको प्रणालीमै त्रुटि रहेको टिप्पणी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment