Comments Add Comment

कहाँ पुग्यो बास्कोटा अडियो प्रकरणको अनुसन्धान ?

२० फागुन, काठमाडौं । निवर्तमान सञ्चार तथा सूचना प्रविधि गोकुल बास्कोटामाथि अनुसन्धान गर्नुपर्ने माग राखेर नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले आइतबार राजधानीमा विरोध प्रदर्शन गर्‍यो ।

सेक्युरिटी प्रेस खरिद प्रकरणमा ७० करोड कमिसनको कुरा गरेको भनिएको अडियो सार्वजनिक भएपछि ८ फागुनमा पदबाट राजीनामा दिएका बास्कोटालाई संरक्षण गर्न सरकार लागेको नेविसंघको आरोप छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अदुअआ)ले भने बास्कोटाको अडियो प्रकरणबारे अनुसन्धान सुरु भइसकेको जनाएको छ । अदुअआका प्रवक्ता प्रदीप कोइरालाले अनलाइनखबरसँग भने ‘सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गत भएका सेक्युरिटी प्रेस खरिदका विषयमा अनियमिततासम्बन्धी विषयमा हामीकहाँ उजुरी परेको छ । त्यही उजुरी अनुसार हामीले अनुसन्धान सुरु गरिसकेका छौं ।’

विभिन्न सञ्चार माध्यममा प्रकाशित/प्रसारित समाचारलाई आधार बनाएर विजयबाबु शिवाकोटी र प्रितम सुवेदीले ११ फागुनमा दिएको उजुरीका आधारमा अदुअआले अनुसन्धान प्रक्रिया अगाडि बढाएको हो । प्रवक्ता कोइरालाले अनुसन्धानको थप विवरण भने खुलाउन नमिल्ने बताए ।

‘अनुसन्धान गर्ने बलियो निकाय भएको भए त्यत्रो समाचार आएपछि कार्यालय, निवास शील गर्ने थियो’ विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्की,भन्छन् ।

अदुअआ उच्च स्रोत भने अहिलेसम्म अनुसन्धानले ठोस गति लिइनसकेको बताउँछ । उक्त स्रोतका अनुसार उजुरीकर्तासँग जानकारी लिने काम समेत भएको छैन । ‘हाइप्रोफाइल अनुसन्धानअघि पर्याप्त पूर्वतयारी आवश्यक हुन्छ, हामी त्यही चरणमा छौं’, स्रोत भन्छ ।

‘अनुसन्धान प्रभावित पार्ने अभिव्यक्ति’

कांग्रेस सभापति शेरबहादुर देउवाले आइतबार प्रतिनिधिसभामा प्रश्न गरे, ‘अडियो नक्कली भन्नुले छानबिन प्रभावित हुन्छ कि हुँदैन ?’

पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बागमती प्रदेशस्तरीय प्रशिक्षणमा व्यक्त अभिव्यक्तिप्रति लक्षित गर्दै यस्तो धारणा राखेका हुन । काठमाडौंमा आयोजित कार्यक्रममा ओलीले अडियो कसको भन्ने प्रमाणित नहुँदै सरकारलाई बदनाम गर्ने काम भएको बताएका थिए ।

‘कुनै अनाडी मान्छेले अनाधिकृत ढंगले एउटा टेप ल्याउँछ । प्रमाणित भएको छैन, केही छैन, तर पनि मेरो बारेमा प्रश्न उठेको हुनाले राजीनामा गर्छु भनेर गोकुल बास्कोटाले राजीनामा गर्नुभयो’ प्रधानमन्त्री ओलीले प्रशिक्षण कार्यक्रममा भने, ‘आफ्नो नाममा बात लागेको हुनाले राजीनामा गरेकोसम्म हो । अनि भ्रष्टाचार गरेको प्रमाणित झै गरेर… त्यसमा कस्सिनुपर्ने केही पनि छैन ।’

आफ्नो नाममा समेत उजुरी परेको सुनेको भन्दै प्रधानमन्त्री ओलीले त्यसता उजुरी काम नलाग्ने पत्रु उजुरी हो भन्ने स्वतःसिद्ध हुने दाबी गरे । ११ फागुनमा प्रेमबहादुर शाही (नेपालगञ्ज) र आनन्दराम पौडेल (हेटांैडा) द्वारा अदुअआमा दर्ता निवेदनतर्फ लक्षित गर्दै प्रधानमन्त्रीले यस्तो धारणा राखेका थिए ।

दर्ता नम्बर ‘सी’–०२६९८७ रहेको उजुरीमा प्रधानमन्त्री ओली, निवर्तमान मन्त्री बास्कोटा, तत्कालीन सञ्चार सचिव महेन्द्रमान गुरुङ र नेपाल सेक्युरिटी प्रेस काउन्सिलका प्रमुख विकल पौडेललाई विपक्षी बनाइएको छ ।

विशेष अदालत, काठमाडौंमा पूर्वअध्यक्ष गौरीबहादुर कार्की प्रश्न उठिसकेपछि त्यसलाई ‘दूधको दूध, पानीको पानी’ छुट्टिन दिनुपर्ने बताउँछन् । प्रधानमन्त्रीको यस्तो भनाइले अनुसन्धान प्रभावित हुनसक्ने उनको भनाइ छ ।

‘को भ्रष्ट हो र को होइन भन्ने छुट्याउने काम प्रधानमन्त्रीको होइन’ पूर्वअध्यक्ष कार्की भन्छन्, ‘फलाना निर्दोष हो वा अडियो नक्कली हो भनेर भाषण गरेर हिँड्दा अनुसन्धान प्रभावित हुन सक्छ ।’

सञ्चार मन्त्रालयको त्यो रहस्यमयी छापा

बास्कोटाले पदबाट राजीनामा दिएकै दिन सिंहदरबारस्थित सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा अदुअआले छापा मारेको समाचार सार्वजनिक भयो । सादा पोशाकमा आएका व्यक्तिहरूले मन्त्रालयबाट कागजपत्र उठाएर लगेको कुरा अदुअआले भने अस्वीकार गरेको छ ।

‘आयोगले विधि र प्रक्रियाअनुसार छापा मार्छ’ अदुअआका प्रवक्ता कोइराला भन्छन्, ‘हामीले अनुसन्धानका लागि कागजपत्र लिँदा मुचुल्का उठाएरमात्रै लिन्छौं, किनभने अनुसन्धान सकिएपछि कागजात दुरुस्त फर्काउनुपर्ने पनि हुन सक्छ ।’

अदुअआले सञ्चार मन्त्रालयमा छापामा मारेको होइन त ? भन्ने प्रश्नमा कोइरालाले भने, ‘यो प्रश्न हामीलाई भन्दा पनि मन्त्रालयलाई अख्तियारले मुचुल्का गरिदिएको छ कि छैन भनेर सोध्नुहोला ।’

सञ्चार मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारी मन्त्रालयबाट कागजपत्र लगेको भन्ने कुरामा सत्यता नभएको बताउँछन् । उनी भन्छन्, ‘अख्तियार वा अन्य निकायले यहाँ छापा मारेर कुनै फाइल लगेको छैन ।’

‘अनुसन्धान गर्ने बलियो निकाय भएको भए त्यत्रो समाचार आएपछि कार्यालय, निवास शील गर्ने थियो’ विशेष अदालतका पूर्वअध्यक्ष कार्कीले भने, ‘भ्रष्टाचार गरेकै हो भन्नलाई भन्दा पनि यथार्थ के हो भन्ने पत्ता लगाउन यस्तो गर्नु आवश्यक थियो ।’

विचाराधीन चरित्रहत्या

स्वीटजरल्याण्डको केबीए–नोटासिस एसएको नेपाल प्रतिनिधि बताउने विजयप्रकाश मिश्रले साढे दुई मिनेटको अडियो सार्वजनिक गरेको भोलिपल्टै बास्कोटाले ‘आफ्नो बारेमा प्रश्न उठेकाले नैतिकताको आधारमा’ भन्दै राजीनामा दिए ।

नेकपा केन्द्रीय सदस्यसमेत रहेका उनले त्यही अडियोमार्फत आफ्नो चरित्र हत्या भएको भन्दै मिश्रविरुद्ध गत शुक्रबार जिल्ला अदालत काठमाडौंमा गाली बेइज्जती मुद्दा दायर गरेका हुन् ।

मिश्रले झूठा प्रमाण सिर्जना गरेर आफूसँग भएको भनिएको कथित अडियो टेप ७ फागुनमा विद्युतीय तथा सार्वजनिक सञ्चार माध्यममा प्रसारण गराएको, फरक परिस्थिति र विभिन्न सन्दर्भमा बोलेका कुरालाई आधुनिक प्रविधिको दुरुपयोग गरी बदनाम गराउने उद्देश्यले आफ्नो व्यक्तिगत चरित्र, आचरण, नैतिकता र ख्यातीलाई होच्याउने काम गरेको वारेसमार्फत अदालतमा दर्ता फिरादमा उल्लेख छ ।

अदालतले १७ चैतका लागि साधारण तारिख तोकिएको बास्कोटाका वारेस राजेन्द्र बोगटीले जानकारी दिए । अदालतले सुरुमा २१ दिने म्याद जारी गर्ने र सो म्याद बाहेक बढीमा १५ दिनभित्र प्रतिवादीले जवाफ पठाउनुपर्ने जानकारहरू बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment