Comments Add Comment

प्रदेश २ को नामाकरण होलीपछि मात्रै

२० फागुन, जनकपुरधाम । प्रदेश २ को प्रदेशसभाको फागुन २२ गतेका लागि बोलाइएको बैठक एक हप्ता पछि सारिएको छ । अब फागुन ३० गते बैठक बस्ने प्रदेश सभा सचिवालयका सचिव रञ्जित यादवले बताए ।

२२ गते प्रदेश सभाको बैठक बसी २३ गते प्रदेशको नाम र स्थायी राजधानी तोक्ने सन्दर्भमा मतदान गर्ने तय भएको थियो ।

सभामुख सरोजकुमार यादवले मुख्यमन्त्री लालबाबु राउतको आग्रहमा बैठक सारिएको जानकारी दिए । ‘म्ख्यमन्त्रीज्यूले यो बीचमा आफ्नो केही व्यस्तता रहेकाले सार्न आग्रह गरेपछि बैठक सारिएको हो’ उनले भने ।

सभामुख यादवका अनुसार ३० गते बैठक बसेर मतदानको कार्यविधि बनाएर चैत १ गते मतदान हुनेछ ।

प्रदेशको स्थायी राजधानी जनकपुरलाई नै राख्ने विषयमा दलका नेताहरुबीच सहमति भइसकेको छ । यद्यपी नामाकरणमा सहमति हुन सकेको छैन ।

सत्तारुढ समाजवादी र राष्ट्रिय जनता पार्टी (राजपा) ले ‘मधेश’, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले ‘जानकी’, नेपाली कांग्रेसले ‘मिथिला–भोजपुरा’ र केहि सांसदले ‘मध्य मधेश’ नाम राख्नुपर्ने भन्दै प्रस्ताव दर्ता गराएका छन् ।

सभामुख यादवले मुख्यमन्त्रीको व्यस्तताका कारण बैठक सारिएको बताए पनि आगामी होली पर्वमा समेत आन्दोलन हुन सक्ने कुरालाई मध्यनजर गर्दै बैठक सारिएको छ ।

तराईमा होली पर्व फागुन २७ गते पर्छ ।

स्रोतका अनुसार प्रदेशको स्थायी राजधानी जनकपुरधाम बनाउने राजनीतिक सहमति भइसकेको आधारमा मतदानबाट तय नै भएपछि बीरगंजमा आन्दोलन हुन सक्ने भन्दै बैठक सारिएको हो ।

होली जस्तो सामाजिक सद्भावको पर्वमा आन्दोलन नहोस् भन्नका लागि नै बैठक सारिएको स्रोतले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment