Comments Add Comment

बैठक छाड्ने सांसदलाई दैनिक २ लाख बढी भत्ता !

२१ फागुन, काठमाडौं । कोरोना भाइरस र प्रधानमन्त्रीको आज हुन लागेको शल्यक्रियाबारे दैनिक पत्रिकाहरू केन्द्रित भएका छन् ।  यसबाहेक अनियमितता र बेथितिसँग सम्बन्धित सामग्रीलाई पनि पत्रपत्रिकाहरूले समेटेका छन् ।

‘प्रत्यारोपण आज’ शीर्षक दिएर कान्तिपुरले प्रधानमन्त्री केपी शर्मा ओलीको शल्यक्रियाबारे मुख्य समाचार बनाएको छ । समाचार अनुसार नयाँ मिर्गौला स्वीकार गर्न सहज बनाउन इम्युनो सप्रेसेन्ट औषधि चलाइएको छ । प्रधानमन्त्रीको मुटु, फोक्सोलगायतको परीक्षण गरिएकोमा स्थिति निकै राम्रो रहेको चिकित्सकहरूले जनाएका छन् ।

बैठक छाड्ने सांसद्का लागि दैनिक २ लाख बढी भत्ता खर्च हुने गरेको अर्को खबर पनि कान्तिपुरमा छ । सांसद्ले हाजिर गरेपछि दैनिक दुई हजार रुपैयाँ भत्ता पाउँछन् ।

समाचार अनुसार, सांसदहरू हाजिर गर्दै बाहिरिँदा गणपूरक संख्या नपुगेर प्रतिनिधिसभा बैठक सञ्चालनमै कठिनाइ भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले आवश्यक संख्यामा सांसद् नहुँदा पछिल्लो साता मात्रै चारवटा बैठक स्थगित गरेका छन् ।

कान्तिपुर लेख्छ– गत १३ गते एक सय ८१ जना सांसद्ले हाजिर गरेका छन् । तर त्यस दिन बैठकमा गणपूरक संख्या यकिन गर्न घण्टी बजाउँदा मात्र ५८ सांसद् उपस्थिति थिए । अर्थात् हाजिर गरेर एक सय २३ सांसदले बैठक छाडेका थिए । यस हिसाबमा त्यस दिन बैठकमा अनुपस्थित ती सांसदलाई दुई लाख ४६ हजार रुपैयाँ भत्ता दिनुपर्नेछ ।

अन्नपूर्णले कोरोनामाथि मुख्य समाचार बनाएको छ । कोरोनाको त्रास बढेपछि कार्यक्रमहरू बिथोलिनुका साथै औषधि सकिन थालेको अन्नपूर्ण समाचारको सार छ ।

नयाँ पत्रिकाले प्रधानमन्त्री केपी शर्मा ओली ढुक्क रहेको लेखेको छ । समाचार अनुसार यसअघि नेपाली अस्पतालमा दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेका सबै १० जनाको शल्यक्रिया सफल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment