Comments Add Comment

देउवाको चार मिनेटको पत्रकार सम्मेलन ! एमसीसी हुबहु पारित हुने दाबी

२१ फागुन, कैलाली । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा बुधवार बिहानै पत्रकार, कार्यकर्ता तथा नेताहरूको घुइँचो थियो । देउवा निवास धनगढीमा प्रेस युनियन कैलालीले पत्रकार सम्मेलन आयोजना गरेको थियो ।

आठ बजे पत्रकार सम्मेलन भनिए पनि नेता कार्यकर्ताहरूले घेरिएका देउवा ८ः३० बजे मात्रै पत्रकार सम्मेलन कक्षमा प्रवेश गरे । पत्रकार सम्मेलन सुरु हुँदासम्म पनि प्रेस युनियनका सचिव सीताराम ओझा उपस्थित नभएपछि धनगढीका अर्का पत्रकार डिल्लीराज ओझा कार्यक्रम सञ्चालन गर्न अघि सरे ।

पूर्वप्रधानमन्त्री देउवा पत्रकार सम्मेलन सकेर काठमाडौं फर्किने योजनामा थिए । एक नेताले काठमाडौंबाट विमान उडिसकेको जानकारी गराएपछि देउवा हतारिए । त्यसपछि ओझालाई बीचमै रोकेर प्रेस युनियनका पूर्वजिल्ला अध्यक्ष टेकराज जोशीले समसामयीक विषयमा देउवालाई धारणा राख्न आग्रह गरे ।

पत्रकार सम्मेलनमा देउवाले कोरोना भाइरसको त्रास छाएको भन्दै सचेत रहन आग्रह गरे । ‘कोरोना भाइरस भन्ने खतरनाक रोग नेपालमा आएको छ । हात मिलाउन हुँदैन । नमस्ते गर्नुपर्छ,’ उनले भने, ‘हामी त जय नेपाल गर्छौं ।’

प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ हरेको भन्दै उनले स्वास्थ्य लाभको समेत कामना गरेका थिए ।

देउवाले नेपालमा भ्रष्टाचार बढेको बताए । ‘नेपालमा भ्रष्टाचार बढेको छ । डल्लो बजेटको नाममा अनियमितता भइरहेको छ,’ उनले भने, ‘उपभोक्ताको नाममा योजना बाँड्ने काम पनि भइरहेको छ ।  यो पनि रोकिन आवश्यक छ ।’

करिब डेढ मिनेट समसामयिक विषयमा धारणा राखिसकेपछि देउवाले भने, ‘मलाई धेरै समय छैन । माफ गर्नुहोला । केही कुरा छन् भने सोध्नुहोस् ।’

पश्चिम टुडेका सम्पादक दीर्घ उपाध्यायले देउवालाई चुनाव हारेका नेतालाई राष्ट्रिय सभामा ल्याइरहेको विषयमा कांग्रेसको धारणाबारे जिज्ञासा राखे । देउवाले यो विषय पार्टीले आफैं निर्णय गर्ने विषय हो भन्दै संक्षिप्त जवाफ दिए ।

जोशीले दुई तिहाइको सरकारले अपेक्षाअनुसार काम नगरेको र भ्रष्टाचार बढेको भनेर प्रश्न सोध्दै गर्दा देउवाले बीचमै रोकेर भने, ‘सबै ठाउँमा भ्रष्टाचार बढेको छ ।’

कांग्रेसका बिभिन्न विभागहरू गठनमा अर्काे पक्षको असन्तुष्टि रहेको विषयमा सोधिएको प्रश्नमा देउवाले सल्लाह गर्दा पनि नभएपछि आफूले विभाग गरेको बताए

ओझाले प्रतिपक्ष पनि कडा रूपमा अगाडि बढ्न सकेन नि भनेर प्रश्न गर्दा देउवाले भने, ‘बढेको बढ्यै छ ।’

सोमबार विश्व नेपाली साहित्य महोत्सवको समापन गर्दै देउवाले पश्चिम सेती सुदूरपश्चिम प्रदेशकै नागरिकको लगानीमा तयार गर्न सकिने बताएका थिए । सोमबार देउवाले दिएकै अभिव्यक्तिलाई उद्धृत गर्दै पत्रकार गोविन्द रोस्याराले गरेको प्रश्न पूरा नहुँदै देउवाले पश्चिम सेती बनाउनु पर्ने बताए । उनले पश्चिम सेती, पञ्चेश्वर र सुख्खा बन्दरगाहले सुदूरपश्चिम प्रदेशलाई समृद्धितर्फ लैजाने बताए ।

‘म प्रधानमन्त्री हुँदा यी विषयलाई निकै प्राथमिकका दिएको थिएँ,’ उनले भने, ‘गौरीफन्टा नाका पनि प्राथमिकतामा छ । ’

देउवाले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) हुबहु पारित हुनुपर्ने बताउँदै उनले भने, ‘यति ठूलो पैसा नेपालमा आएकै थिएन ।’

‘केही पक्ष यसको विरोधमा पनि छन् नि,’ पत्रकारले प्रश्न गरे  ।

‘त्यो गर्नै नहुने कुरा हो,’ देउवाले जवाफ दिए ।

कांग्रेसका बिभिन्न विभागहरू गठनमा अर्काे पक्षको असन्तुष्टि रहेको विषयमा सोधिएको प्रश्नमा देउवाले सल्लाह गर्दा पनि नभएपछि आफूले विभाग गरेको बताए ।

शेरबहादुर देउवाले नेपाली कांग्रेसको नेतृत्व सम्हालेको यही फागुन २३ गते ४ वर्ष पूरा हुँदैछ । २०७२ फागुन २०–२३ मा काठमाडौँमा सम्पन्न १३ औँ महाधिवेशनबाट चार वर्षका लागि देउवा सभापतिमा निर्वाचित भएका थिए । कार्यकालको समीक्षा गर्न पत्रकारले आग्रह गर्दा देउवाले आफूले इमानदार रूपले काम गरेको बताए ।  उनले भने, ‘तपाईंहरूलाई थाहा छ मेरो कार्यकालमा मैले इमानदारपूर्ण काम गरेको छु ।’

देउवाको नियमित कार्यकाल यही फागुन १९ बाट सकिएको छ, तर देउवाले विधानको सुविधा उपयोग गर्दै ०७७ फागुन ७–१० गतेका लागि महाधिवेशनको मिति तोकेका छन् ।

पत्रकारले सोधे, ‘महाधिवेशन समयमै हुन्छ त ?’

देउवाले भने, ‘नहुने कुरै छैन नि ।’

प्रदेश सरकारको विषयमा पनि संक्षिप्त टिप्पणी गर्दै उनले सुदूरपश्चिममा त केही काम नै नभएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment