Comments Add Comment

हुलाकी राजमार्गमा नाला बनाउन स्थानीयको माग

२१ फागुन, वीरगञ्ज । बाराको कलैया उपमहानगरपालिका–९ रामपुरमा हुलाकी सडकको दायाँ–बायाँ नाला बनाउन आफूहरुले राखेको मागलाई आयोजना र निर्माण कम्पनीले बेवास्ता गरेको स्थानीयबासीले बताएका छन् । पटक–पटक आग्रह गर्दा पनि वीरगञ्ज–बरियारपुर खण्डमा पर्ने रामपुर क्षेत्रमा नाला निर्माण नभएको गुनासो स्थानीयको छ ।

सडक निर्माणको क्रममा गाउँको पानी बग्ने नाला पुरिएकाले वर्षामा गाउँ नै डुबानमा पर्ने गरेको छ । डुबानले कृषि बालीमा समेत क्षति पुर्याउँछ ।

कलैया उपमहानगरपालिका नगर कार्यपालिकाको बैठकले ०७६ फागुन १६ गते ९ रामपुरस्थित हुलाकी सडकको दायाँ–बायाँ नाला नभएर बस्तीमा डुबान हुने गरेको र सयौं बिघा जग्गामा लगाइएको बालीमा क्षति हुने भएकाले सडकको दुवै पेटीमा विशेष ग्राहयताका साथ नाला बनाउन अनुरोध समेत गरेको थियो ।

उपमहानगरपालिका कार्यालयका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र प्रसाद घिमिरेले निर्णय कार्यान्वयनका लागि सहयोग गर्न हुलाकी राजमार्ग डिभिजन कार्यालय र प्रशासन कार्यालयलाई जानकारी समेत गराएका छन् ।

यसअघि सडकको दायाँ–बायाँ नाला बनाई पानीको नियमित निकासको व्यवस्था मिलाउनुपर्ने माग राखेर एकवर्ष अघि वडा अध्यक्ष डा. अख्तर अन्सारीको नेतृत्वमा प्रदर्शन समेत भएको थियो ।

वडा अध्यक्ष अन्सारीले समस्याका बारेमा सरोकारवालाको ध्यानाकर्षण गराउँदा समेत सुनुवाइ नभइरहेको बताए ।

‘जनताको समस्या लिएर सबै निकायमा धाइसकेँ, एक वर्ष भयो समस्या समाधान भएको छैन,’ उनले भने, ‘अघिल्लो वर्षामा स्थानीयले पाएको सास्ती अब नपाउन् भन्ने प्रयास हो, तर काम नै अघि बढेको छैन ।’

हुलाकी राजमार्ग डिभिजन कार्यालय वीरगञ्जका प्रमुख दिपेन्द्र पाण्डेले भने हुलाकी सडक निर्माणको काम सकिएपछि नालाका लागि छुट्टै ठेक्का दिने तयारी भइरहेको जानकारी दिए । ‘रामपुर क्षेत्रमा मात्रै होइन, लक्ष्मणवा लगायत अन्य ठाउँमा पनि नालाको आवश्यकता देखिएको छ, स्थानीयको माग पनि छ,’ उनले भने, ‘हामीले ३५ किलोमिटरको दुई खण्डमा झण्डै ७ किलोमिटर थप नाला बनाउनुपर्ने देखिएकाले स्टिमेट गरेर विभागमा पठाइसकेका छौं ।’

विभागले सडकको काम सकिएपछि नाला निर्माणको प्रक्रिया अगाडि बढाउने आश्वासन दिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment