Comments Add Comment
विश्लेषण :

‘नेकपामा नैतिक चेतको अभाव देखियो’

‘ओली शारीरिक रुपले र प्रचण्ड मानसिक रुपले कमजोर हुनुभएको छ’

म लामो समय कम्युनिस्ट राजनीतिमा लागेको भए पनि अहिले सक्रिय राजनीतिबाट बाहिर छु । तर, मार्क्र्सवादी धारबाट लेख्ने र सुझाव दिने काम त अहिलेसम्म पनि गरिरहेको छु । यसमा कसैले राम्रो भन्लान्, कसैले नराम्रो भन्लान् । तर, मेरो विचार भनेको फ्रेस मान्छेलाई राजनीतिमा ठाउँ दिनुपर्छ भन्ने हो ।

राजनीतिमा हामीले बुझ्नैपर्ने कुरा के हो भने हामीभित्र एउटा भौतिक शरीर छ, अर्काे आध्यात्मिक चेत । त्यसैले भौतिक शरीर र आध्यात्मिकताको मेल हुनुपर्छ ।

आध्यात्मिकताको अर्थ जोगीजस्तो सधैंभरि जयराम, जयराम जयजयराम भनेर भजन गाउँदै हिँड्नुपर्छ भनेको होइन । धेरैको बुझाइ यही हुनेवाला छ । ती त सबै मान्छे भुलाउने खेलमात्र हुन् । तर, धर्म होइन कि हामीले दर्शनलाई आधार मान्ने गर्नुपर्छ । सोही अनुसारको चेत राजनीतिमा लगाउनुपर्ने हो । तर, हाम्रो राजनीतिमा आध्यात्मिक चेतको अभाव देखिन्छ ।

अहिलेको सरकारको सबैभन्दा समस्याको कुरा भनेको नै अरुको सुझाव नलिनु हो । म त केपी ओली जेलमा हुँदादेखि नै उनको उपचार गर्दै आएको मान्छे हुँ । भेट हुँदा जहिल्यै पनि ‘गुरुदेव’ भनेर सम्बोधन गर्ने गर्नुहुन्छ । तर, उहाँले प्रधानमन्त्री बनेपछिको यो समयसम्म एकपटक पनि कसरी अघि बढ्दा ठीक होला भनेर मसँग सुझाव लिनुभएको छैन ।

मसँग नै सुझाव लिनुपर्छ भनेको होइन । प्रधानमन्त्री बनेर कुर्सीमा बसिसकेपछि सबै कुराहरु आफैंलाई थाहा हुँदैन । सिस्टमका कारण धेरै काम आफूले सोचेजस्तो नभइरहेको हुन सक्छ । तर, त्यसका लागि बाहिर स्वतन्त्ररुपमा बसेका मानिसहरुले दिएको सुझाव पनि मान्ने स्वाभाव राख्नुपर्छ ।

तर, अहिलेका प्रधानमन्त्रीले भने अरुको सुझाव धेरै लिनुहुन्न कि जस्तो लाग्छ । उहाँहरुको आफ्नै एउटा समुदाय बन्यो । विश्वका मजदुरहरु एक हौं भनेको जस्तै एउटा समुदायको मात्रै कुरालाई विश्वास गर्दा पनि काम सोचेजस्तो हुन नसकेको हो कि भन्ने लाग्छ ।

राजनीतिमा नैतिक चेतको अभाव

अहिलेको राजनीतिमा नैतिक चेत र मानवीयता हराएको मैले अनुभव गरिरहेको छु । राजनीतिमा उमेर हदको कुरा पनि यसैको एक उपज हो । जसरी हिन्दू संस्कृतिमा हाम्रो उमेर अनुसारको आश्रम व्यवस्था छ । मेरो उमेर छँदासम्म र बल छँदासम्म काम गरेँ, अब तिमीहरु गर भनेर अरुलाई हस्तान्तरण गर्नुपर्ने हो ।

अझ अहिलेका प्रधानमन्त्री त जेलदेखि नै बिरामी हुनुहुन्छ । अहिले पनि त्यस्तै हुनुहुन्छ । त्यसैले उहाँले नैतिक चेतको आधारमा प्रधानमन्त्री पद छाडेर बस्नुभए पनि राम्रो हुने हो ।

म त भन्छु, यति समय भएपछि प्रधानमन्त्रीले स्वास्थ्यका कारण अब राजनीतिबाट विश्राम लिँदा पनि राम्रै हुन्छ । अहिले नेपाल कम्युनिस्ट पार्टीको नेतृत्व गरिरहेका अध्यक्ष मध्ये केपी ओली शारीरिक रुपले कमजोर हुनुहुन्छ । छोराको मृत्युपछि प्रचण्ड पनि मानसिकरुपले कमजोर हुनुहुन्छ । दुबै कुनै न कुनै अवस्थामा कमजोर भएको अवस्थामा यही भावनाले पनि पार्टीलाई असर गर्छ कि भन्ने मलाई लागेको छ । तर, अब तपाईंहरुले चलाउनुहोस् भनेर छाडिदिनुभए हुने हो ।

राजनीतिमा लोभ हुन्छ, जसले गुटको जन्म गराउँछ । ओलीले हस्तान्तरण गरेपछि पनि चलाउने प्रचण्डजीले हो । उहाँले पनि कसरी पार्टी चलाउनु होला ? त्यसमा पनि आशंका नै छ । यसमा हामीले सबै मिलेर सिंगो पार्टीका रुपमा अघि नबढेसम्म जो सरकारमा आए पनि सोचेजस्तो प्रगति हुन समस्या नै छ जस्तो लाग्छ ।

सरकारको दुईको कुरा गर्दा पार्टीमा यो माधव नेपाल पक्ष, यो झलनाथ पक्षजस्ता अमूक गुटहरुको नाम दिएर काममा उल्झन ल्याउने काम भयो । सरकारमा बस्ने र बाहिर बस्नेले समेत एक मेठ भएर सहमतिका आधारमा पर्याप्त सरसल्लाह गरेर काम गरेको पाइएन । यदि त्यसो गरेको भए मुलुकलाई धेरै फाइदा हुन्थ्यो, साथमा सरकारलाई पनि । तर, त्यो भएन ।

एकातिर गुटको राजनीति धेरै चल्यो । जसबाट जिम्मेवारी कम पाएपछि एकथरी हिजो काम गरेर बसेकाहरु पनि त्यसैका कारण लोसे हुने भए । नयाँ आएकाहरुलाई त अनुभव नै धेरै छैन । उनीहरुको अहिले कुरा भएन । तर, पुराना र अनुभवी साथीहरुलाई समभावले जिम्मेवारी दिएको खण्डमा कुनै समस्याहरु हुने थिएन ।

तर, यहाँ त एकले अर्कालाई सहयोग नै गरिरहेका छैनन् । जसको अर्थ, सरकारलाई अहिले पार्टीबाट समेत पर्याप्त सहयोग मिलिरहेको छैन । पहिलेदेखि नै केपी ओली एकातिर, माधव नेपाल अर्काेतिर जस्तो धारणाको विकास भयो । यो नै समस्याको कुरा हो ।

(अनलाइनखबरकर्मी सुदर्शन अर्यालसँगको कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment