Comments Add Comment

गम्भीर समीक्षा गर्ने क्यानको तयारी, नयाँ प्रशिक्षकको खोजी सुरु

२२ फागुन, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले एसीसी इस्टर्न रिजन टी–२० क्रिकेट प्रतियोगितामा नेपालको प्रदर्शनलाई ‘विपद’को संज्ञा दिएको छ । साथै नेपाली टोली स्वदेश फर्किएपछि गम्भीर समीक्षा गर्ने बताएको छ ।

च्याम्पियन बन्ने लक्ष्यका साथ थाइल्याण्ड पुगेको नेपालले सुरुमै मलेसिया र हङकङसँग हार व्यहोर्‍यो । तेस्रो खेलमा थाइल्याण्डलाई हराएको नेपालले अब अन्तिम खेलमा भोलि सिंगापुरसँग खेल्नेछ । तर लगातार दुई हारका कारण नेपाल प्रतियोगिताको शीर्ष दुईमा परेर एसिया कप छनोटमा पुग्न सकेन ।

क्यानका पदाधिकारीहरुले यो प्रतियोगितामा नेपालको प्रर्दशनलाई अनपेक्षित भनेका छन् । ‘नेपाली टोली स्वदेश फर्किएपछि हामी समीक्षा गर्छौ, खेलाडी, प्रशिक्षक र व्यवस्थापन तीनै पक्षलाई हेर्छौं’ क्यानका एक पदाधिकारीले अनलाइनखबरसँग भने ।

थाइल्याण्ड जानू अगाडि नेपालले आईसीसी क्रिकेट वर्ल्डकप लिग टूको तयारीका क्रममा मलेसियासँग पोखरामा तीन मैत्रिपूर्ण सिरिज खेलेको थियो । र, तीन वटै खेलमा सहज जित निकालेको थियो । त्रिकोणात्मक सिरिजमा अमेरिकालाई दुबै खेलमा हराएको नेपालले ओमानसँग भने दुबै खेलमा हार व्यहोरेको थियो ।

तर थाइल्याण्डमा त्यही मलेसियासँग पराजित भयो । हङकङले झन ठूलो अन्तरले हरायो ।

क्यानका एक पदाधिकारी भन्छन्, ‘पछिल्लो समय नेपालको प्रदर्शन राम्रो हुन सकिरहेको थिएन । तर यो पटक त डिजास्टर (विपद) नै आइलाग्यो जस्ता मानेका छौं ।’

अब हुने समीक्षामा खेलाडीहरुको प्रदर्शन, टिम लिडरसिप र अनुशासनको समीक्षा हुनेछ ।

साथै पछिल्लो समयमा प्रशिक्षकको भूमिका र त्यसले पारेको असरबारे पनि छलफल हुनेछ ।

पछिल्लो ७/८ महिना उमेश पटवाल मुख्य प्रशिक्षक दिए । तर उनको प्रशिक्षणमा नेपालले अपेक्षाकृत राम्रो प्रदर्शन गर्न सकेन । उनले गरेका धेरै प्रयोग असफल भए । र, लिग टू अन्तरगत नेपालमा भएको त्रिकोणात्मक सिरिजलगत्तै उनले पद छाडेका छन् । अन्तरिम प्रशिक्षकको जिम्मेवारी जगत टमाटालाई दिइएको छ । क्यानका एक पदाधिकारी भन्छन्, ‘प्रशिक्षकले राम्रो रणनीति बनाउन सकेनन्, तयारी भएन कि भनेर पनि छलफल गर्छौं ।’

यसका साथै व्यवस्थापनमा भएका कमी कमजोरीबारे पनि समीक्षा गर्ने क्यानको तयारी छ । तीनै पक्षको कमीकमजोरीको समिक्षा गरेर नेपाली टिमलाई नयाँ ढंगले अगाडि बढाउन चाहेको क्यानका एक पदाधिकारीले बताए ।

नयाँ प्रशिक्षकको खोजी

पटवालले राजीनामा दिएसँगै नेपाल क्रिकेट संघले नयाँ प्रशिक्षक ल्याउने बताएको थियो । यसका लागि सार्वजनिक सूचना निकाल्ने भनिए पनि नहुने भएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) र एसियन क्रिकेट काउन्सिल (एसीसी)को सहयोगमा क्रिकेट प्रशिक्षकको खोजी भइरहेको क्यानका एक पदाधिकारीले जानकारी दिए । ‘ओडीआई टिम हेरिसकेको प्रशिक्षक ल्याउने सोचेका छौं’ उनले भने, ‘यसका लागि कुराकानी भइरहेको छ । तर केही समय लाग्ला ।’

उनका अनुसार कतिपयले भारत वा पाकिस्तानबाट क्रिकेट प्रशिक्षक ल्याउन सुझाएका छन् । तर टेष्ट टिम हेरेका वा नाम चलेका प्रशिक्षक ल्याउँदा उनीहरुले मागेअनुसार सेवासुविधा दिन सकिन्छ कि सकिँदैन भन्ने प्रश्न रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment