+
+
Shares

स्थानीय तहका कर्मचारीले मागे एक तह बढुवा

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०७६ फागुन २३ गते ८:३८
१४ बुँदे मागसहित सिंहदरबार आएका स्थानीय तहका कर्मचारी प्रतिनिधिहरु

२३ फागुन, काठमाडौं । स्थानीय निकायबाट सेवा प्रवेश गरी स्थानीय तहमा समायोजन कर्मचारीहरुले एक तह बढुवाको माग गरेका छन् । साथै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत हुनुपर्ने माग पनि उनीहरुले गरेका छन् ।

दुई नम्बर प्रदेशअन्तर्गत बारा र पर्सा जिल्लाका स्थानीय तहका कर्मचारीहरुको एक समूह आफ्ना माग सम्बोधनका लागि सम्बन्धित निकाय र नेताहरुलाई दबाब दिन काठमाडौं आएको छ ।

काठमाडौं आएका स्थानीय तह कर्मचारी संघ नेपाल, स्थानीय कर्मचारी मिलन केन्द्र, स्थानीय तह कर्मचारी युनियन नेपाल, नेपाल नगरपालिका एशोसिएसन र डिप्लोमा इन्जिनियरिङ एशोसिएसन नेपालका १४ जना अगुवाहरुले बिहीबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमलाई १४ बुँदे ज्ञापनपत्र बुझाएका छन् ।

कर्मचारी समायोजन गर्दा सरकारले संघमा रहेका कर्मचारीलाई योग्यता पुगेका कर्मचारीलाई एक तह बढुवा र योग्यता नपुगेका कर्मचारीलाई दुई ग्रेड वृद्धि गरेर स्थानीय तह र प्रदेशमा पठाएको थियो ।

त्यसरी संघबाट प्रदेश वा स्थानीय तहमा समायोजन भएर कर्मचारी आउँदा जुनियर कर्मचारी पनि माथिल्लो तहमा पुगेको भन्दै उनीहरुले आफूहरुलाई पनि सोही अनुसारको व्यवस्था लागू गरेर बढुवा वा ग्रेड वृद्धि गरिदिनुपर्ने माग गरेका छन् ।

उनीहरुले प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था समितिका सभापति शशी श्रेष्ठ र राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिका सभापति पर्शुराम मेघी गुरुङलाई पनि ज्ञापनपत्र बुझाएका छन् ।

भेटमा सबैले ‘हामी हेर्छौं’ भन्ने आश्वासन मात्रै दिएको स्थानीय तह कर्मचारी संघ नेपालका दुई नम्बर प्रदेश सचिव गंगाराम साहले बताए ।

उनीहरुले राजनीतिक दलका नेताहरुको समेत ध्यानाकर्षण गराएका छन् । समाजवादीको संसदीय दलको कार्यालय र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको कार्यालय बबरमहलमा पुगेर बढुवाको ब्यवस्थाका लागि पहल गरिदिन आग्रह गरे । जवाफमा राजपाका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले पार्टीका सचेतक, प्रमुख सचेतक मार्फत् संसदमा आवाज उठाउने प्रतिवद्धता व्यक्त गरेको कर्मचारीहरुले बताएका छन् ।

नेकपा र कांग्रेसका शीर्ष नेताहरुलाई पनि भेटेर ज्ञापन पत्र बुझाउने उनीहरुको तयारी छ ।

‘शुक्रबार संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयश त्रिपाठी, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा लगायतलाई भेट्ने तयारी छ’ स्थानीय तह कर्मचारी संघ नेपालका दुई नम्बर प्रदेश सचिव साहले भने ।

प्रदेश तहका कर्मचारी स्थानीय तहमा र स्थानीय तहका कर्मचारी प्रदेश तहमा सरुवा र बढुवाको पनि व्यवस्था हुनुपर्ने उनीहरुको १४ बुँदे ज्ञापनपत्रमा उल्लेख छ ।

संघीय निजामती विधेयकमा चासो

स्थानीय तहका कर्मचारीहरुको उक्त समूहले लामो समयदेखि प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा बिचाराधीन संघीय निजामती सेवा विधेयकमा पनि चासो राखेका छन ।

स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत हुनुपर्ने उनीहरुको माग छ । प्रस्तावित विधेयकमा स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत संघ मातहत हुने व्यवस्था छ । यसमा समितिमा ठोस सहमति भइसकेको छैन ।

समितिमा बिचाराधीन विधेयकमा अन्तरतह सरुवा हुन सक्ने प्रस्तावित व्यवस्था पनि छ । यसबारे पनि समिति निष्कर्षमा पुगिसकेको छैन ।

हेर्नुहोस् ज्ञापनपत्र

 

लेखक
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?