Comments Add Comment

कोरोनाले नेपालको जीडीपीमा ०.१३ प्रतिशत क्षति पुग्ने प्रारम्भिक प्रक्षेपण

२३ फागुन, काठमाडौं । कोरोनाभाइरसले विश्वव्यापी अर्थतन्त्रमा करिव ३ सय ४७ अर्ब डलर बराबरको क्षति हुने आँकलन एसियाली विकास बैंक (एडीबी)ले गरेको छ ।

प्रारम्भिक आंकडा अनुसार नै विश्वमा कूल गार्हस्थ उत्पादनको १८ प्रतिशत क्षति विश्व अर्थतन्त्रले बेहोर्ने अनुमान छ । त्यसमधये नेपालको हकमा कूल गार्हस्थ उत्पादन (जीडीपी)को ०.१३ प्रतिशतसम्म आर्थिक क्षति हुने प्रक्षेपण एडीबीले गरेको छ ।

यद्यपी यो प्रारम्भिक अनुमान हो । कोरोनाको प्रभाव अझ विस्तार हुने क्रममा रहेका कारण विश्वभर नै यसले ठूलो आर्थिक क्षति निम्त्याउने अनुमान छ । कोरोनाको प्रभाव बढ्दै जाँदा जीडीपीमा १.११ प्रतिशतसम्मको क्षति नेपालमा हुने अनुमान छ । यसको मतलव ३२१.७ मिलियन डलरसम्मको नोक्सानी नेपाली अर्थतन्त्रमा हुनेछ ।

विश्व बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार नेपालमा होटेल र रेष्टुरेन्ट क्षेत्र नराम्रोसँग प्रभावित हुने भएको छ । यस क्षेत्रमा जिडीपीको ०.८ प्रतिशतसम्मको क्षति हुनेछ । यसबाहेक व्यापार र सेवा क्षेत्र समेत कोरोनाका कारण प्रभावित हुनेछ ।

कृषि, उद्योग र उत्पादन तथा यातायात क्षेत्रमा भने प्रभाव कम देखिने एसियाली विकास बैंकको भनाइ छ । पछिल्लो अध्ययन अनुसार नेपाली अर्थतन्त्रमा कोरोनाको प्रभाव ३६.७८ मिलियन अमेरिकी डलर बराबरको क्षति हुने आंकलन गरिएको छ ।

यो पनि पढ्नुहोस कोरोनाको बहुआयामिक असर : बिरामी पर्‍यो नेपाली अर्थतन्त्र पनि

१५ हजार रोजगारी प्रभावित 

नेपालमा कोरोनाका कारण करीव १५ हजार जनाको रोजगारी प्रभावित हुने आंकलन गरिएको छ । यसमध्ये धेरै रोजगारी होटेल र रेष्टुरेन्टमा गुम्ने देखिएको छ । यसबाहेक व्यापार व्यवसायमा बढी रोजगारी गुम्ने आंकलन गरिएको छ ।

कृषि र उत्पादन क्षेत्रले भने धेरै रोजगारी गुमाउनु पर्ने छैन । त्यसो त अधिकतम् प्रभाव पर्दा नेपालले २ लाख २३ हजारसम्म रोजगारी गुमाउन सक्ने चेतावनी एसियाली विकास बैंकले दिएको छ ।

कोरोना भाइरसले समग्रमा एसियाली भेगमा अर्थतन्त्र नराम्रोसँग प्रभावित हुने देखिएको छ । अतिप्रभावित मुलुकको तुलनामा नेपालमा आंकलन गरिएको क्षतिको अंक भने कम छ ।

एसियाली अर्थतन्त्र पनि जोखिममा

एडीबीले चीनबाट सुरु भएको कोभिड-१९को महामारीले एसियाका विकासशील अर्थतन्त्र भएका देशहरूमा उल्लेख्य असर पर्ने आँकलन गरेको छ ।

महामारीका कारण आन्तरिक मागमा कमी आउने, पर्यटन तथा व्यावसायिक यात्रा कम हुने, व्यापारिक तथा उत्पादनमूलक सम्बन्ध टुट्ने, ढुवानी प्रणाली अवरुद्ध हुने लगायतका असर देखिन सक्ने एडिबीको नयाँ विश्लेषणको निष्कर्ष छ ।

महामारीले आगामी दिनमा कस्तो रूप लेला र यो कुन दरमा फैलेला वा नियन्त्रण होला भन्ने कुरा अझै अनिश्चित रहेकाले आर्थिक क्षतिको स्पष्ट आकार भने अहिल्यै आँकलन गर्न नसकिने एडिबीको भनाइ छ ।

यद्यपि हालसम्म प्राप्त तथ्यहरूका आधारमा यस महामारीले विश्वभरिमा कुल ७७ अर्ब अमेरिकी डलरदेखि तीन खर्ब ४७ अर्ब डलरसम्मको क्षति हुने प्रारम्भिक निष्कर्ष छ । त्यसमध्ये चिनले नै ४४ अर्बदेखि दुई खर्ब ३७ अर्ब डलरसम्मको घाटा ब्यहोर्नेछ भने चिनबाहेकका एसियाली विकासशील देशहरूले १६ अर्बदेखि ४२ अर्बसम्मको घाटा सहनुपर्नेछ ।

एडिबीले सम्बन्धित सरकारहरूलाई महामारीबाट हुने आर्थिक तथा मानवीय क्षतिलाई कम गर्न स्पष्ट र निर्णायक कदम चाल्न आहृवान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment