Comments Add Comment

होलीमा घातक हुनसक्छ यस्ता रंगहरु

होली पर्वमा बच्चादेखि वृद्धहरुसम्म सबै जना एक-अर्कालाई रंग लगाउन मन पराउँछन् ।

विभिन्न प्रकारका रंगहरुमार्फत सबैमा एक-अर्काप्रति रहेका साना-ठुला गुनासाहरु टाढा हुन्छन् । हरेक ठाउँमा उल्ल्ाासको माहोल हुन्छ । तर यो रमाइलो क्षणमा हामी एउटा कुरालाई ध्यान दिन बिर्स्ान्छौं । त्यो हो होलीमा प्रयोग हुने रंग । रंग प्रयोग गर्दा हुने लापरवाहीका कारण हाम्रो छालामा विभिन्न किसिमको समस्याहरु उत्पन्न हुन्छ ।

वास्तवमा बजारमा विभिन्न प्रकारका रंगहरु उपलब्ध हुन्छन् । धेरै जसो रंग छालाका लागि हानिकारक हुन्छ । त्यस्तो अवस्थामा सावधानी अपनाउने मात्र नभएर त्यस्तो रंगहरुको छनोट गर्नु पर्छ जसले छालालाई हानि नपुर्‍याओस् ।

बजारमा उपलब्ध रंगका प्रकार

विशेष गरेर बजारमा तीन प्रकारका रंग उपलब्ध छन् । जसमा पेस्ट, पाउडर र गिला रंगहरु समावेश छन् । प्रायः यी रंगहरुमा केमिकल मिसाइएको हुन्छ । त्यस्तै बजारमा हर्बल रंग पनि सजिलै प्राप्त हुन्छ, जसले  छालालाई कुनै प्रकारको हानी पुर्‍याउँदैन । रंगहरुले छालामा कस्तो प्रकारले प्रभावित गर्छ भन्ने कुरा थाहा हुन आवश्यक छ । त्यस्तै तिनीहरुको प्रयोग गर्दा कस्तो फाइदा र नोक्सान हुन्छ भन्ने पनि थाहा पाउनु पर्छ । जुन यस प्रकार छ ।

पेस्ट

यस प्रकारको रंग ट्यूबको रुपमा बजारमा उपलब्ध छन् । जुन हेर्दा जेल जस्तो देखिन्छ । त्यस प्रकारको रंगलाई मानिसहरुले त्यति मन पराउँदैनन् । त्यसैले त्यो अन्य रंगहरुको तुलनामा त्यति प्रयोग हुँदैन र जहाँ पायो त्यहाँ पाइँदैन पनि । यस प्रकारको रंगमा केमिकलहरुको मात्रा धेरै हुने भएकाले यसको प्रयोगले छालालाई अति नै नोक्सान पुर्‍याउँछ । यसले छालालाई सुख्खा बनाउँछ भने कहिलेकाहिं यसले छाला पोलेको पनि महसुस हुन्छ । त्यसैले यस प्रकारको रंगहरुबाट टाढा रहनु नै फाइदाजनक हुन्छ  ।

पाउडर

होलीमा पाउडर अर्थात सुख्खा रंगको धुलो सबैभन्दा धेरै प्रयोग हुन्छ । यो केमिकल र हर्बल दुई प्रकारको हुन्छ । धेरैजसो मानिसहरुलाई हर्बल रंगहरुको बारेमा त्यति धेरै जानकारी नहुनाले केमिकल मिसिएको रंग किन्छन्, तर केमिकल मिसिएको रंग छालाका लागि अति नै नोक्सानदायक हुन्छ । यसमा कलरेन्ट नामक तत्व पाइन्छ, जुन छालाका लागि अति नै बिषाक्त हुन्छ । विशेष गरेर पानीसंग यसलाई मिसाएर प्रयोग गर्दा छालामा यसको असर दुई गुणा बढि हुन्छ ।

यसको प्रयोगले छाला पोल्ने मात्र नभएर छालामा रातो दागहरु पनि उत्पन्न हुन्छ । हरीयो रंगमा कपर सल्फेट मिलाइन्छ, जसले छालाको एलर्जी हुनुको साथै आँखामा पनि नराम्रो असर पुर्‍याउँछ । रातो ंरंगमा मर्करी हुन्छ, जसका कारण छालाको क्यान्सर हुन सक्छ । त्यस्तै नीलो रंगमा कोबाल्ट नाइट्रेट हुन्छ, जसले छालाको एलर्जी, क्यान्सर र दमको समस्या हुन सक्छ ।

चम्किलो पाउडर

चम्किलो पाउडर भएको रंगमा एस्बेस्टस नामक तत्व पाइन्छ । एस्बेस्टसले छालाको क्यान्सर हुन सक्छ । यो रंग बजारमा सजिलै प्राप्त हुन्छ र यो हेर्दा पनि धेरै आकर्षक देखिने भएकाले यसलाई मानिसहरुले धेरै किन्छन् ।

गाढा रंग

वास्तवमा यो बजारमा पाउडरको रुपमा नै उपलब्ध हुन्छ, तर यसको प्रयोग पानीसंग मिसाएर गरिन्छ । एकपटक छालामा लगाएपछि यसलाई सफा गर्न अति नै गाह्रो हुन्छ । छालालाई पूर्ण रुपमा सफा गर्न कम्तिमा पनि ४-५ दिनको समय लाग्छ । यसमा समावेश केमिकलहरुका कारण छाला पोल्ने, खुख्खापन, विमिरा, रातो दाग आदि जस्ता समस्याहरु उत्पन्न हुन्छन् । त्यसैले मानिसहरु यसको प्रयोग अति नै कम गर्छन् । गाढा रंगको प्रयोग बालबालिका र उच्छृंखल स्वभावका मानिसहरुले धेरै मन पराउँछन्,  किनभने उनीहरुले अरुलाई दिक्क बनाउने एउटा राम्रा मौका पाउँछन् ।

हर्बल रंग

यस प्रकारको रंग गीलो अथवा धुलोको रुपमा हुन्छन् । हर्बल रंग छालाका लागि अति नै सुरक्षित र फाइदाजनक हुन्छ । हर्बल रंगले छालामा कुनै प्रकारको नोक्सान नपुर्‍याउने भएकाले अन्य रंगहरुको तुलनामा महंगो हुन्छ । यी रंगहरुलाई घरमा पनि सजिलै बनाउन सक्नु नै यस रंगको विशेषता हो ।

घरमा कसरी हर्बल रंगहरु तयार गर्ने

पहेलो रंग

पिँधेको चामल अथवा गहुँको पिठोमा बेसार मिसाएर पहेलो रंग तयार गर्न सकिन्छ । यसबाहेक सयपत्री फुललाई पानीमा उमालेर पनि पहेलो रंग बनाउन सकिन्छ ।

रातो रंग

रातो रंगका लागि रातो गुलाब अथवा चुकन्दरलाई पानीमा उमालेर अथवा रातो चन्दनको पनि प्रयोग गर्न सकिन्छ ।

हरीयो रंग

हरीयो रंग बनाउनका लागि पालुङ्गो अथवा धनियाँको पातलाई पानीमा उमाल्ने अथव मिक्सरको सहयोगले यसको पेस्ट तयार गर्न सकिन्छ ।

गुलाबी रंग

गुलाबी रंगका लागि गुलाबी रंगको गुलावलाई पानीमा उमाल्नु पर्छ ।

यी कुराहरुलाई ध्यान दिनु पर्छ

-केवल हर्बल रंगहरुको मात्र प्रयोग गर्नु पर्छ ।

-गाढा रंगहरुको प्रयोग गर्नु हुदैन ।

-रंग लगाउनु अगाडि शरीरमा तोरीको तेल लगाउनु पर्छ ।

-रंग खेल्दा सम्पूर्ण शरीर ढाकिने किसिमको लुगा लगाउनु पर्छ । यसो गर्दा रंग शरीरमा लाग्न सक्दैन ।

-रंगलाई आंखामा पर्न दिनु हुदैन । यदि रंग आंखामा पस्यो भने अंाखालाई चिसो पानीले सफा गर्नु पर्छ । यदि धेरै समस्या भयो भने डाक्टरलाई देखाउनु पर्छ ।

-दिनभरी होली खेल्नु भन्दा केही समय होली खेलेर शरीरलाई राम्ररी सफा गर्नु पर्छ ।

-गाढा रंग निकाल्नका लागि दही र बेसनको पेस्टको प्रयोग गर्न सकिन्छ ।

-रंग निकाल्नका लागि छालालाई माड्नु हुँदैन । यदि सफा गरेर पनि रंग निस्केन भने त्यसलाई जबरजस्ती निकाल्ने कोशिश गर्नु हुँदैन ।

-नुहाइ सकेपछि छालामा नरिवलको तेल लगाउनु पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment