Comments Add Comment

एयरलाइन्सहरुले भने-यात्रु घटे, अब जहाज ग्राउन्डेड गर्छौं

२३ फागुन, काठमाडौं । वायुसेवा सञ्चालकहरुले कोरोना भाइरसका कारण अन्तर्राष्ट्रिय पर्यटक आगमन घटेका कारण आन्तरिक हवाई सेवा प्रभावित भएको बताएका छन् । छिमेकी मुलुक चीनबाट फैलिएको कोरोना भाइरसले नेपालका मूख्य पर्यटकीय स्रोत बजार सबैभन्दा बढी प्रभावित भएका छन् ।

त्यसमा पनि संक्रमणले विश्वव्यापी रुप लिएसँगै संसारभर पर्यटन सेवा नराम्रोसँग प्रभावित भएको छ । यसले आन्तरिक वायुसेवा कम्पनीको समेत व्यापार उल्लेख्य घटेको वायुसेवा सञ्चालकहरुको छाता संगठन वायुसेवा संचालक संघ नेपाल -आयोन)ले उल्लेख  गरेको छ ।

आयोनका अनुसार विदेशी पर्यटक नआउने अवस्थामा अहिले उपलब्ध जहाजलाई माग अनुसार यात्रु पुग्दैन । सोहीकारण अब अनुपात मिलाएर सबै कम्पनीका जहाज ग्राउन्डेड गरिनेछ ।

कर्मचारीलाई समेत बेतलवी बिदामा बस्न प्रोत्साहन गर्ने निर्णय वायुसेवा कम्पनीले गरेका छन् । साथै कर्मचारीले अहिले पाउँदै आएका सेवा-सुविधा समेत कटौती हुन सक्ने आयोनले उल्लेख गरेको छ ।

४ अर्ब क्षतिको अनुमान

नेपालको आन्तरिक उडानमा कोरोनाको प्रभावका कारण करीव ४ अर्ब रुपैयाँ बराबरको क्षतिको अनुमान वायुसेवा कम्पनीहरुले गरेका छन् । सन् २०२० को पहिलो दुई महिनामा आन्तरिक हवाई यात्रु ४० प्रतिशतले घटेको अनुमानका आधारमा यस्तो क्षतिको आंकलन गरिएको हो ।

नजिकिएको बसन्तु ऋतुको पर्यटक बुकिङ समेत धमाधम रद्द भइरहेको अवस्थामा आगामी दिनमा अझै नराम्रोसँग व्यवसाय प्रभावित हुने आंकलन कम्पनीहरुको रहेको छ । खासगरी नेपालको स्रोत बजार चीन, हङकङ, कोरिया, थाइल्याण्ड, भारत तथा मध्यपूर्वी मुलुकमा कोरोनाले प्रभाव देखाइसकेको छ ।

मुलुकभित्र पनि स्वदेशी र विदेशी पर्यटक आवतजावत गर्न सक्ने अवस्था नरहेका कारण आगामी ६ महिनासम्म पर्यटन पुरानै अवस्थामा नर्फन नसक्ने अनुमान वायुसेवा संचालकहरुले गरेका छन् ।

व्यवसायीका मागैमाग

हवाई व्यवसायीले सरकारसँग सहुलियत, बैंकमा तिर्नुपर्ने ब्याजमा पुर्नकर्जाको सुविधा दिएर भुक्तानीको व्यवस्था मिलाउन माग गरेका छन् ।

वायुसेवा प्रदायकले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट अमेरिकी डलर/नेपाली रुपैयामा लिएको ऋणको साँवालाई पुनर्तालिकीकरण र पुनसंरचनाको व्यवस्था गर्न समेत माग गरिएको छ ।

हवाई इन्धनमा सरकारले लगाएको मुल्य अभिवृद्धि कर हटाउन र हवाई इन्धनको मूल्य कम्तिमा ३० प्रतिशत घटाउन समेत व्यवसायीले माग गरेका छन् । विमानस्थलमा लाग्ने विभिन्न शुल्क सन् २०२० भर शतप्रतिशत छूट हुनुपर्ने माग समेत हवाई व्यवसायीको रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment