Comments Add Comment

अरुण तेस्रोको कामले गति लिएकोमा भारत खुशी

ऊर्जामन्त्रीसँग भारतीय राजदूतको भेट

२३ फागुन, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिञ्चाइमन्त्री वर्षमान पुन र भारतीय राजदूत विनयमोहन क्वात्राबीच शुक्रबार भेटवार्ता भएको छ ।

ऊर्जामन्त्रालयमा भएको भेटमा राजदूत क्वात्राले भारतीय लगानीमा निर्माण हुन लागेको अरुण तेस्रो जलविद्यु्त आयोजना निर्माणको कामले गति लिएकामा खुसी व्यक्त गरे ।

अरुण तेस्रोको ३० प्रतिशत काम सम्पन्न भइसकेको चर्चा गर्दै उनले निर्धारित समयमै आयोजनाको काम सम्पन्न हुने विश्वास व्यक्त गरे । राजदूत क्वात्राले पहुँच मार्गको स्तरोन्नती, विस्फोटक पदार्थ आयात र सुरक्षामा ख्याल गरिदिन आग्रह गरे ।

यस्तै बुटवल–गोरखपुर प्रसारण लाइन निर्माणका लागि भएको सहकार्यको सहमतिले उक्त काम सफलतापूर्वक सम्पन्न हुने आशा जागेको राजदूत क्वात्राको भनाइ थियो । उक्त प्रसारण लाइन निर्माणका लागि नेपाल–भारत संयुक्त कम्पनी नै निर्माण भइसकेको छ ।

भेटमा मन्त्री पुनले नेपालले जलविद्युतको सीमापार व्यापारलाई उच्च प्राथमिकतामा राखेको चर्चा गर्दै त्यसको सहजीकरणका लागि भारतीय पक्षबाट गरिएका प्रतिवद्धताको प्रशंसा गरे ।

मन्त्री पुनले भारतीय लगानीमा निर्माण भइरहेका अरुण तेस्रो जलविद्युत आयोजना र बुटवल–गोरखपुर ४ सय केभी प्रसारण लाइन नेपालको प्राथमिकतामा रहेको उल्लेख गरे । भारतीय सरकारले पश्चिम राप्ती, बाणगंगा र खाँडो नदी नियन्त्रणमा सहयोग गरेकामा उनले धन्यवाद दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment