Comments Add Comment

प्रधानमन्त्रीले उद्घाटन गरेको तरकारी बजार प्रयोगविहीन

कांग्रेसभित्रको किचलो बजारमा

२३ फागुन, विराटगनर । विराटनगर गुद्री बजारका व्यापारी जान नमानेपछि करोडौं खर्च गरेर निर्माण गरेको आधुनिक तकारी बजार प्रयोगविहीन भएको छ ।

एक वर्षअघि प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्दै प्रदेश सरकारलाई हस्तान्तरण गरेको आधुनिक फलफूल तथा तरकारी बजार प्रयोगविहीन बनेको हो ।

विराटनगरको भद्रगोल तरकारी बजारलाई व्यवस्थित गर्न १४ करोड रुपैयाँ लागतमा आधुनिक बजार निर्माण गरिएको थियो ।

विराटनगरसँग जोडिएको कटहरी गाउँपालिका– १ मा निर्माण गरिएको संरचनामा विराटनगरका व्यापारीले जान नमानेपछि बजार सञ्चालनमै आएको छैन ।

नयाँ संरचना निर्माण भएपछि विराटनगर महानगरपालिकाले विराटनगर– ९ मा रहेको गुद्री बजार खाली गराउन निर्देशन पनि दिएको छ । तर नयाँ संरचनामा जान अटेर गरेका व्यापारीहरुले भने आफ्नै लगानीमा विराटनगर बसपार्क पश्चिम बजार निर्माण गरिरहेका छन् ।

तीस वर्षयता बस्दै आएका व्यापारीले सरकारले बनाएको संरचनामा नजाने भन्दै व्यक्तिको जग्गा भाडामा लिएर आफै बजार बनाउन थालेका हुन् ।

केही व्यापारीले महंगोमा भाडा लगाउन जग्गा भाडामा लिएर बजारका लागि संरचना बनाउन थालेका हुन् । ‘गुद्री खाली गराएर कृषि बजारमा स्थानान्तरण गर्ने योजना थियो, तर ब्यापारी जान मानेनन्’ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारीले भने ।

गुद्रीबजार सार्ने विषयमा विराटनगरमा नेपाली कांग्रेसभित्र विवाद भएको थियो । नेपाली कांग्रेसबाट निर्वाचित विराटनगरका मेयर भीम पराजुली बजार नयाँ संरचनामा बजार सार्ने पक्षमा छन् । उनले बजार सार्न व्यापारीलाई निर्देशन पनि दिए ।

तर नेपाली कांग्रेसकै अन्य नेताहरुले बजार नसार्ने भन्दै व्यापारीलाई अस्थायी संरचना निर्माण गर्न लगाए । मेयर पराजुलीको योजनालाई असफल बनाउन कांग्रेसकै नेताले आफ्नो जग्गा व्यापारीलाई भाडामा दिएका छन् ।

गुद्रीबजारलाई स्थानान्तरण गर्ने गरी कटहरी गाउँपालिका १ मा ‘सुविधा सम्पन्न फलफूल तथा तरकारी बजार’मा जान आग्रह गर्दा व्यापारीहरुले अटेर गरी व्यक्तिको जग्गा भाडामा लिएर बजार बनाउन थालेको प्रमुख प्रशासकिय अधिकृत अधिकारी बताउँछन् ।

प्रदेश १ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयलाई बजार सञ्चालनको जिम्मा छ । मन्त्रालयले कटहरी फलफूल तथा तरकारी थोक बजार विकास समिति बनाएको छ ।

तर गुद्री बजारका स्टलहरु नआउँदा बजार सञ्चालन गर्न कठिनाई भएको मन्त्रालयका प्रवक्ता डा. राजेन्द्र उप्रेती बताउँछन् ।

उनका अनुसार गुद्रीका व्यापारीलाई ८० प्रतिशत छुटमा स्टल लिन सूचना निकालेको छ । तर दुईपटक सुचना आह्वान गर्दा पनि कसैले बुकिङ गरेनन् । अन्य २० प्रतिशत स्टल भने बाहिरका व्यापारीले बुक गरेका छन् ।

कटहरीको तरकारी बजार सञ्चालनका लागि महानगरपालिकाले आधिकारिक जानकारी गराएपछि अन्य व्यापारीलाई ल्याएर बजार सञ्चालन गर्ने योजना रहेको उप्रेतीले बताए ।

विराटनगरका व्यापारीले जान नमानेका कारण प्रदेश सरकारलाई स्टल बिक्री गर्न जवाफ पठाउने प्रमुख प्रशासकीय अधिकृत अधिकारीले जानकारी दिए ।

संघीय कृषि विकास मन्त्रालयको ब्यबसायिक कृषि तथा ब्यापार आयोजना (प्याक्ट) अन्तर्गत करिब १४ करोडको लागतमा कटहरी गाउँपालिका– १ जमटोकीमा अत्याधुनिक फलफुल तथा तरकारी बजार निर्माण भएको थियो ।

बजारको क्षेत्रफल १७ हजार ८ सय ८१ वर्गमिटर रहेको छ । होलसेल पसल राख्न १४ सय ८८ वर्गमिटरको भवन निर्माण भएको छ । ३ सय ५१ वर्गमिटरको खुद्रा बिक्री भवन निर्माण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment