+
+
Shares

अनुवाद कविता : भात दे दुष्ट !

रफीक आजाद (बङ्गलादेश) रफीक आजाद (बङ्गलादेश)
२०७६ फागुन २४ गते १२:००

धेरै भोको छु
पेटभित्र आगो लागेको छ
शरीरको सम्पूर्ण क्रियाभन्दा माथिको
अनुभूति भै’रहेछ
प्रत्येक क्षण सर्वस्वीकार भोक अनावृष्टिजस्तै

चैतमा उष्णता फैलिएको छ खेतमा
त्यसैगरी भोकको ज्वालाले जल्दै छ देह

दुई सन्ध्या, दुई मुठ्ठी भात पाए
अन्य माग छैन
मान्छेहरू त धेरै कुरा माग्दैछन्
गाडी, पैसा, महल
कसैलाई चाहिएको छ ऐश्वर्य
मेरो माग सानो छ
जल्दै छ पेट
मलाई भात चाहियो
चिसो वा तातो
मसिनो वा मोटो
रासनको रातो चामल त्यो पनि चल्छ
थालभरि चाहियो
दुई सन्ध्या, दुई मुठ्ठी मिल्यो भने
छोड्न सक्छु अरू सबै माग ।

अतिरिक्त लोभ छैन
वासना ? त्यो पनि छैन
चाहिन्नँ नाभी तलको साडी
साडीमा लपेटिएको पुतली
जसलाई चाहिएको छ
उसैलाई देऊ ।

याद राख–
मलाई आवश्यकता छैन त्यसको
यदि पूरा गर्न सकेनौ भने यो सानो माग
तिम्रो सम्पूर्ण राज्यमा
ल्याइदिन्छु उथलपुथल
भोकोले सोच्दैन–
हित–अहित
न्याय–अन्याय
अगाडि जे मिल्छ
निल्नेछु निर्विचार
केही पनि छोड्दिनँ शेष
यदि तिमी अगाडि भेटियौ भने
राक्षसी मेरो भोकका लागि
बन्नेछौ तिमी नै आहार

सर्वस्वीकार्य भएर उठे भने यदि सामान्य भोक
स्मरणरहोस्, परिणाम भयावह हुनेछ
दृश्यदेखि द्रष्टासम्म
अविराम खाएपछि
क्रमशः खानेछु
वृक्ष–वनस्पति, नदीनाला, गाउँ–सहर, गोरेटो–पथप्रदर्शक
नितम्बप्रधान नारी
खाद्यमन्त्रीको झुन्ड
मन्त्रीको गाडी

मेरो भोकको ज्वालाले केही बाँकी राख्ने छैन
भात दे दुष्ट ! नत्र खाइदिन्छु तेरो मानचित्र !

(यो कविता १९७४ मा बङ्गलादेशमा निम्तिएको भोकमरीलाई आधार बनाएर कवि रफिक आजादले लेखेका हुन् । बंगाली भाषामा लेखिएको यो कविता जनक कार्कीले हिन्दीबाट अनुवाद गरेका हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?