Comments Add Comment

आफ्नै रेडियो र छापाखाना सञ्चालन गर्दै प्रदेश २ सरकार

२५ फागुन, जनकपुरधाम । प्रदेश २ सरकारले आफ्नै रेडियो सञ्चालन गर्ने भएको छ । प्रदेशका आठवटै जिल्लामा सुनिने गरी प्रादेशिक रेडियो सञ्चालन प्रक्रिया सुरु गरिएको हो ।

शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले रेडियो सञ्चालन गर्नका लागि स्वीकृति दिइसकेको प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले जानकारी दिए । ‘मन्त्रिपरिषदको बैठकले स्वीकृति दिएपछि बाँकी प्रक्रिया सुरु गर्न लागेका छौं,’ प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री यादवले भने, ‘यही आर्थिक वर्षभित्र रेडियो सञ्चालन हुनेगरी कामलाई अगाडि बढाएका छौं ।’

तत्काल १ हजार वाट क्षमताको रेडियो मधेस भवनभित्र स्थापना गरिनेछ । रेडियो एउटा नै भए पनि २ ठाउँमा रेडियोको टावर स्थापना गरी रेडियोसँग लिंक जोडिनेछ ।

प्रदेश सरकारले रेडियोको एक वटा टावर पूर्वको राजविराज र अर्काे टावर पश्चिमको वीरगञ्जमा बनाउने मन्त्री यादवले बताए । ‘रेडियोको लिंक टावरसँग जोडेर प्रदेशको सबैतिर प्रसारण गराउने हाम्रो सोच छ,’ उनले भने, ‘यस विषयमा प्राविधिकहरूसँग पनि छलफल भइरहेको छ ।’

प्रादेशिक छापाखाना पनि खोलिने

यसैबीच, प्रदेश २ सरकारले आफ्नै छापाखाना समेत सञ्चालनमा ल्याउने भएको छ । यसका निम्ति पनि शुक्रबारको मन्त्रिपरिषद् बैठकले स्वीकृति दिइसकेको छ । आन्तरिक मामिला तथा कानून मन्त्री यादवले छापाखाना मधेस भवनभित्रै स्थापना गरिने बताए ।

मन्त्री यादवका अनुसार, चालू आर्थिक वर्षभित्र छापाखानाको मेसिनसमेत ल्याइसकिनेछ । छापाखानामा प्रदेश सरकारले आफ्ना डकुमेन्टहरु छाप्नेछन् ।

सुरुमा डकुमेन्ट छाप्ने काम गरिए पनि निकट भविष्यमै प्रादेशक पत्रिका पनि प्रकाशन सुरु गर्ने लक्ष्य प्रदेश सरकारको छ । छापाखाना आइसकेपछि हामी यस विषयमा छलफल गर्छौं,’ मन्त्री यादवले भने, ‘हाम्रो उद्देश्य ब्रोडसिट पत्रिका प्रकाशन गर्नेसमेत हो ।’

रेडियो तथा छापाखाना सञ्चालन गर्न नीति तथा कार्यक्रममार्फत बजेट छुट्याइएको मन्त्री यादवले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment