Comments Add Comment
सरकारको गम्भीर लापरवाही :

‘न संक्रमण फैलिएको देशबाट आउन रोक्छ, न क्वारेन्टाइनमा राख्छ’

Photo Credit : विमानस्थलमा ज्वरो जाँच गर्दै

२३ फागुन, काठमाडौं । चीनको वुहानमा कोरोना भाइरसबाट मुक्त भएको भनेर अस्पतालले घर पठाएको पाँच दिनपछि एक व्यक्तिको मृत्यु भयो । २६ वर्षका ली लियाङलाई कोरोना भाइरसको संक्रमण भएपछि गुओबो अस्थायी अस्पतालमा उनको १३ दिन उपचार भएको थियो ।

लगातार दुई दिनसम्म जाँच गर्दा नेगेटिभ रिपोर्ट आएपछि तेस्रो दिन अर्थात् १२ फेब्रुअरीमा अस्पतालले उनलाई डिस्चार्ज दिएको थियो ।

त्यसपछि उनी १४ दिन क्वारेन्टाइनमा बसे । उनलाई अरूजस्तै कोरोनाबाट मुक्त भएकाहरूलाई राखिएको होटलमा राखियो । र, कोरोनामुक्त भनेर घर फर्काइयो ।

तर, घर पुगेको पाँचौं दिनमा उनको मृत्यु भयो ।

ग्वान्झाओ डेलीका अनुसार, वुहानमा अहिले कोरोनाबाट मुक्त भनेर घर पठाइएकाहरूमा फेरि संक्रमण देखिने थालेको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार, केही देशमा १४ दिन क्वारेण्टाइन पार गरेकाहरूमा पनि कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । त्यसैले उसले प्रष्ट भनेको छ, ‘कोरोना भाइरसको संक्रमणको लक्षण ज्वरो आउनु र रुघा लाग्नुमात्र होइन । सोही कारण संक्रमित क्षेत्रबाट आएका र लक्षण नदेखिएका नागरिकहरूलाई १४ दिन क्वारेण्टाइनमा राख्नुपर्छ ।’

तर, हाम्रो देशको अवस्था फरक छ ।

अध्यागमन विभागको तथ्यांकअनुसार, फेब्रुअरी १६ देखि मार्च १ सम्म चीनबाट ३४ सय २७ जना नेपाल आएका छन् । जापानबाट १६ सय ५३ जना नागरिक नेपाल आउँदा इटालीबाट ६८६ जना र इरानबाट १०३ जना हवाई मार्ग प्रयोग गरेर नेपाल भित्रिसकेका छन् ।

इटली त्यो देश हो, जहाँ चीनपछि सबैभन्दा धेरै मानिसको मृत्यु कोरोनाबाट भएको छ । शुक्रबार राति ९ बजेसम्मको तथ्यांकअनुसार, इटलीमा पनि ३ हजार ८५८ जना संक्रमित छन् भने १४८ जनाले ज्यान गुमाइसकेका छन् ।

त्यस्तै, इरानमा ४ हजार ७४७ जना संक्रमित छन् भने १२४ जनाको मृत्यु भइसकेको छ । जापानमा पनि ६ जनाको मृत्यु भइसकेको छ भने २४८ संक्रमित भेटिएका छन् । दक्षिण कोरियामा ६ हजार ५९३ जना संक्रमित छन् भने ४२ जनाको मृत्यु भएको छ ।

यो तथ्यांकले प्रष्ट हुन्छ, कोरोनाबाट चीनपछि सबैभन्दा प्रभावित देशहरू हुन्- इटली, इरान र दक्षिण कोरिया ।

तर तिनै देशबाट निर्वाध रूपमा मानिसहरू नेपाल आइरहेका छन् । उनीहरू जब नेपाल आइपुग्छन्, विमानस्थलमा ज्वरो नापिन्छ । र, ज्वरो देखिएन भन्दै जान दिइन्छ । क्वारेन्टाइनमा राख्ने कुरै छैन ।

जबकि, डब्ल्यूएचओको मापदण्डअनुसार, उनीहरूलाई १४ दिनसम्म क्वारेन्टाइनमा राख्नुपर्छ ।

क्वारेन्टाइनमा राख्नु त धेरै परको कुरा, नेपाल रहेको अवधिमा उनीहरूलाई कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको छ कि छैन र उनीहरू कहाँ-कहाँ गए भन्नेसमेत सरकारलाई पत्तो छैन ।

विश्व स्वासथ्य संगठनको रिपोर्ट र नेपाल सरकारको लापरबाही हेर्दा नेपालमा कोरोना संक्रमण फैलिनसक्ने डर बढेको जनस्वास्थ्य विज्ञहरू बताउँछन् । पूर्वतयारी गर्ने समय हुँदाहुँदै पनि सरकारले लापरबाही गरेको कारण महामारी फैलन सक्ने भन्दै एक जनस्वास्थ्य विज्ञले अनलाइनखबरसँग भने, ‘नेपालमा एउटा मात्र केस देखियो भने महामारीका रूपमा फैलिन सक्छ ।’

ज्वरो मात्र नापेर पठाउनु लापरबाही

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वभर फैलिइसक्दा पनि नेपालले अन्तर्राष्ट्रिय विमानस्थलमा थर्मल स्क्यानरको भरमा चेकजाँच गर्‍यो ।

कोरोनाले युरोप र मध्यपूर्वमा आतंक मच्चाएपछि केही दिनदेखि हरेक यात्रुको चेकजाँच गर्न थालिएको छ । स्वास्थ्य मन्त्रालयले हेल्थ डेस्कमा खटिएका स्वास्थ्यकर्मीहरूलाई ‘ज्वरो तथा रुघा देखिएकाहरूलाई अस्पताल पठाउनू’ भनेको छ ।

तर चिकित्सकहरू यसलाई गम्भीर लापरबाही मान्छन् । विमानस्थलको हेल्थ डेस्कमै खटिएका एक चिकित्सक भन्छन्, ‘पूर्वतयारी र मापदण्ड पूरा नगरिकन हचुवाका भरमा स्वास्थ्य जाँच गर्ने गरिएको छ । यही लापरबाहीका कारण देशमा जुनसुकै बेला कोरोना संक्रमण फैलन सक्छ ।’

उनका अनुसार, कोरोना संक्रमण फैलिएका देशहरूबाट आउनेहरूलाई रोक्नु वा १४ दिन क्वारेन्टाइनमा राख्नुको विकल्प छैन । चीनको वुहानबाट ४ फागुनमा नेपाल ल्याइएका १७५ जनालाई पनि ज्वरो वा अरू लक्षण नदेखिँदा नै क्वारेन्टाइनमा राखिएको थियो ।

तर अहिले त्यही चीन वा कोरोना संक्रमण गम्भीर रूपमा फैलिएका देशबाट आएकालाई भने ज्वरो छैन भनेर छाडिएको छ ।

एक चिकित्सक भन्छन्, ‘चीनबाट उद्धार गरेर ल्याएकाहरूलाई कोरोनाको कुनै लक्षण नदेखिए पनि क्वारेन्टाइनमा राख्नुको कारण १४ दिनमा कुनै पनि बेला संक्रमण देखिनसक्छ भनेर हो । अरू संक्रमित देशबाट आउनेलाई किन यसो नगरिएको हो ? बुझ्न सकिएन  ।’

जनस्वास्थ्य विज्ञहरू यसबारे सरकारलाई पटकपटक सुझाव दिएको, तर सुनुवाइ नभएको बताउँछन् । एक जनस्वास्थ्य विज्ञ भन्छन्, ‘हामीले संक्रमण फैलिएको देशबाट आउन नदिने वा आउन दिने हो भने क्वारेन्टाइनमा राख्नुको विकल्प छैन भनेर सरकारलाई सुझाव दिएका छौं तर, सुनुवाइ भएको छैन ।’

स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले भने कोरोनाको बढी प्रभाव परेका पाँच देशबाट आएका नेपालीलाई होम क्वारेन्टाइनमा बस्न भनिएको बताउँछन् । ‘वुहानबाट ल्याएकाहरूलाई जस्तै सबैलाई क्वारेन्टाइनमा राख्न सम्भव छैन,’ देवकोटाले अनलाइनखबरसँग भने, ‘त्यस्तो देशहरूबाट फर्किएका नेपालीहरूलाई होम क्वारेन्टाइनमा बस्नुस् । घरमा पनि छुट्टै बस्नुस् र केही भइहाल्यो भने चिकित्सकको सम्पर्कमा आउनुस् भनेका छौं ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment